नगरपालिकाको कामकाज तत्काल सुरु गर्न माग
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाको नियमित कामकाजप्रति सत्तारूढ दलले नै विरोध जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर कामकाज प्रभावित भएको भन्दै सत्तारूढ ६ दलले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेर अर्को पठाए पनि नगरले हाजिर नगराएका कारण नगरवासीको सेवा प्रवाहमा गम्भीर प्रभाव परेको भन्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी पार्टी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी (लोसपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नगर कमिटीहरूले तत्काल कामकाज सुरु गर्न माग गरेका हुन्।
गएको माघ २७ गते मन्त्रालयले त्रियुगाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरी स्वीकृत दरबन्दी अनुसार उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएकोमा नगरप्रमुखले हाजिर नगराएका कारण नगरपालिकाको सेवा प्रवाहमा अवरोध आएको विज्ञप्तिमा ठहर गरिएको छ।
नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएका कारण विगत २ महिनादेखि नगरवासीले पाउनु पर्ने सेवा प्रवाह हुन नसकेको तथा अन्य थुप्रै कामकाज प्रभावित हुन पुग्दा जनताले सास्ती भोग्नु परेको विज्ञप्तिमा उल्लेख छ।
स्थानीय सरकारबाट प्रवाह गर्नुपर्ने सेवा छिटोछरितो, चुस्तदुरुस्त र प्रभावकारी बनाउँदै सुशासनको अनुभूति गराउनु पर्नेमा जोड दिइएको छ।
हाजिर नगराएका कारण २ महिनादेखि जनताले पाउने नियमित सेवा अवरुद्ध हुनुका साथै बैंक खातासमेत रोक्का हुँदा नगरको आर्थिक पाटोसमेत ठप्प भएर विकास निर्माणका योजनामा गम्भीर प्रभाव परेको विज्ञप्तिमा जनाइएको छ।
त्रियुगाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनलाई मन्त्रालयले गत माघ २७ गते सरुवा गरी उपसचिव सञ्जय राजलबटलाई पठाएको थियो। त्रियुगाका मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा एमालेबाट निर्वाचित भएका हुन्।