म्याग्दीको लुलाङ सडक सञ्जालसँग जोडियो
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका-२ को लुलाङ बस्ती सडक सञ्जालमा जोडिएको छ।
वडा कार्यालय रहेको लमसुङ हुँदै लुलाङ जोड्ने सडक निर्माण भएको हो। गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले लमसुङ–लुलाङ–गुर्जा सडक आयोजना अन्तरगत लमसुङदेखि लुलाङ जोड्ने सडकको मार्ग खुलेको जानकारी दिए।
‘गत पुष महिनामा गाउँपालिकाको केन्द्र मुनादेखि वडा नम्बर २ को खोरिया हुँदै लमसुङसम्म सडक जोडिएको थियो,’ उनले भने ‘लुलाङदेखि गुर्जातर्फ सडक निर्माण जारी छ।’
२ सयभन्दा बढी घरधुरीको बसोवास रहेको लुलाङ म्याग्दीको सबैभन्दा ठूलो दलित बस्ती हो। छिमेकी वडा नम्बर १ गुर्जाका बासिन्दालाई पनि यो सडकले सुविधा पुगेको वडा अध्यक्ष अकप्रसाद बिकले बताए।
लमसुङ–लुलाङ–गुर्जा सडक निर्माणमा यस वर्ष गण्डकी प्रदेश सरकारले ८० लाख रुपैयाँ र धवलागिरी गाउँपालिकाले ४५ लाख रुपैयाँ बिनियोजन गरेका छन्।
गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलले डोजर परिचालन गरेर दुई हजार १०० मिटर र मजदुर परिचालन गरेर १११ मिटर सडक निर्माण भएको जानकारी दिए।
३७१ घनमिटर ग्याविन पर्खाल निर्माण भएको छ। सोलिङ र मेसिनरी पर्खाल निर्माण जारी छ। लमसुङ बस्तीमाथिको भिरालो पाखोमा मजदुर परिचालन गरेर सडक खनिएको हो।
१११ दूरीमा डोजरको विकल्पमा सडक निर्माणमा बाउसो, कोदालो, गैची, बेल्चा, गल, घन जस्ता घरेलु औजार प्रयोग गरिएको थियो। अन्य ठाउँमा भने डोजर प्रयोग गरिएको हो।
‘पाखोमा डोजर चलाउँदा स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालय भवन सहितको लमसुङ बस्तीमा पहिरो खस्ने देखिएकाले मानिसले नै बाटो खनिएको हो, ’उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले भने ‘बस्तीलाई जोगाउन डिलतर्फ ग्याविन पर्खाल बनाएर माटोले पुर्ने र बढी भएको माटो ट्याक्टरमा हालेर जुगेपानीको खोल्सामा लगेर फालेका छौं।’
तीन वर्षको प्रयासपछि महतलाको भिरमा १०० मिटर मार्ग खोल्ने र स्तरोन्नति गरेपछि गत पुषमा खोरिया र लमसुङ सडक यातायातको सञ्जालमा जोडिएका थिए।