उत्पादन बढाउन प्लाष्टिक टनेल वितरण
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषि उत्पादन बढाउन कृषकहरूलाई प्लाष्टिक टनेल वितरण गरेको छ।
कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ कृषकहरूको मागका आधारमा ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण सुरु गरिएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए।
कृषि समूह, कृषि सहकारी, कृषि फर्महरू सञ्चालन गरेका कृषकको मागका आधारमा ५ सय २९ वटा प्लाष्टिक टनेल वितरण सन्धिखर्क नगरपालिकाको कृषि शाखाले सुरु गरेको हो।
टनेल वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले व्यावसायिक कृषि पेसामा लाग्न कृषकहरूलाई आग्रह गरिन्।
उनले उत्पादनमुखी कृषि पेसामा लागेका कृषकहरूलाई नगरपालिकाले सहयोग गर्ने बताउँदै कृषि पेसाबाट स्वरोजगार बन्न आग्रह गरिन्।
प्रतिपिस टनेलको मूल्य ३३ सय ८५ रुपैयाँ परेकोमा ५० प्रतिशत अनुदानमा कृषकहरूले प्रतिपिस टनेल १६ सय ९२ रुपैया ५० पैसामा प्राप्त गरेका छन्।