भ्रष्टाचार अर्थात् क्रोनिक रोग

भ्रष्टाचार अर्थात् क्रोनिक रोग
सांकेतिक तस्बिर।
सुन्नुहोस्

भ्रष्टाचार नियन्त्रणका लागि मुलुकलाई अभियानको एउटा ठूलो आँधीबेहरीकै आवश्यक छ।

मुलुकको सबैभन्दा ठूलो चुनौती अरू केही होइन, भ्रष्टाचार हो। भ्रष्टाचारले देशको सिंहदरबारदेखि गाउँगाउँका सिंहदरबारसम्मलाई गाँजेको छ। समाजका सबैजसो तह र तप्का अनि निकाय तथा संस्थालाई भ्रष्टाचारले शिथिल पारेको छ। भ्रष्टाचारले ठूलो साम्राज्य नै खडा गरेको छ। यो सानोतिनो चोट र पहलबाट टुट्नेफुट्ने वा तोडिने कुनै छेकछन्द छैन।

भ्रष्टाचारको प्रमुख कारण देशमा व्याप्त कुशासन नै हो। कुशासनको जड अस्थिर राजनीति, इमान, निष्ठा र सिद्धान्तहीन राजनीतिकर्मी तथा शासक हुन्। त्यसैले त नेपाल भ्रष्टाचारको सूचीमा ११७ औं स्थानमा छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्यांकले त्यसै भन्छ। उक्त संस्थाले नेपालमा भ्रष्टाचार नियन्त्रणको कसरतै नभएको पनि बताएको छ। यसबाट प्रस्ट हुन्छ कि नेपालको राजनीतिक नेतृत्वको मुखमा भ्रष्टाचार नियन्त्रण भए पनि व्यवहारमा पटक्कै इच्छाशक्ति छैन।

जगजाहेर छ सरकारी कार्यालयमा घुस नदिई सेवाग्राहीको काम हुँदैन। विकास निर्माणका काममा चुहावट हुन्छ वा सीधै भ्रष्टाचार हुन्छ। कमिसन र घुसखोरी ‘संस्कृति’ यसरी मौलाएको छ कि को अछूतो छ भन्ने कठिन छ। भ्रष्टाचार नियन्त्रणका निकाय र अधिकारीहरू नै पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेका तथ्य प्रमाणहरू सार्वजनिक छन्। यति हुँदाहुँदै राजनीतिक नेतृत्वलाई कहिल्यै पोलेको देखिन्न। बरु भ्रष्टाचारीहरू तिनैबाट संरक्षित छन्। राजनीतिक नेतृत्व आफैं पनि स्वार्थ बाझिने जिम्मेवारी लिएर नीतिगत वा नैतिक भ्रष्टाचारमै लिप्त भएका छन्। कति त सीधासीधा आफैं संलग्न छन्।

देशमा भ्रष्टाचार निवारणसम्बन्धी ऐन छ। तर, दण्डहीनता छ। कानुन नै कहाँ छ र भन्नेजस्तो अवस्था छ। नियन्त्रणका संवैधानिक निकाय छन्। तर, यो रोग क्रोनिक बनेर बसेको छ।  भ्रष्टाचार नभएका निकाय खोज्न घामबाट तिर्खा मेट्ने कोसिस गरेजस्तो हुन्छ भन्ने अवस्था छ। सुरक्षा, रक्षा र न्याय क्षेत्रलाई समेत भ्रष्टाचारले गाँजेको छ। निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्नुपर्ने समुदायसमेत कुनै न कुनै स्वार्थको जञ्जालले जेलिएर परोक्ष वा प्रत्यक्ष रूपमा भ्रष्टीकरण हुँदै गएका छन्। समग्रमा नेपाली समाज नै भ्रष्टाचारले थिलोथिलो छ। यति साह्रो बेथितिको जड फेरि पनि धुमिल राजनीति हो। समाजमा नैतिकता ह्रास हुनुको उपज पनि हो।

भ्रष्टाचार नियन्त्रणका लागि मुलुकलाई अभियानको एउटा ठूलो आँधीबेहरीकै आवश्यक छ। भ्रष्टाचार नियन्त्रण अझै पनि प्राथमिकतामा परेन भने दण्डहीनता र अराजकताले नेपाललाई ‘असफल मुलुक’मा परिणत गर्न बेर हुँदैन। त्यसैले बेलैमा सोचौं, भ्रष्टाचारका दुला टालौं। यसलाई रोकौं। समृद्ध र सुशासित देश बनाऔं।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.