अर्थतन्त्रमा परेको दबाबलाई गम्भीरताका साथ लिएका छौं : अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा दबाब परेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले सरकार र अर्थमन्त्रालय यसलाई गम्भीरताका साथ लिएको बताए। उनले एकदमै निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पारे।
अर्थमन्त्री महतले भने,' अर्थतन्त्रमा केही दबाब परेको छ। केही अप्ठ्याराहरू सृजना भएका छन्। सरकार र अर्थमन्त्रालय र म स्वयम अर्थमन्त्री यसलाई गम्भीरताका साथ लिएका छौं। तर निराश हुनुपर्ने कारण छैन।'
उनले सरकारको पूँजीगत खर्च प्रभावकारी बनाउने अल्पकालीन र दिर्घकालीन उपायहरू अपनाउनुपर्ने बताए। अन्तर्राष्ट्रिय परिस्थित सामान्य भयो भने नेपालमा आर्थिक वातावरण सृजना गरेर अर्थतन्त्रमा देखिएका समस्या हल गर्न सक्ने विश्वास व्यक्त गरे।
उनले भने,'अन्तराष्ट्रिय परिस्थित सामान्य भयो भने नेपालमा हल गरेर सकारात्मक आर्थिक वातावरण सृजना गरी हल गर्न सक्छौं भन्ने विश्वास छ। हामीले पनि अल्कालीन र दिर्घकालीन सोचिहरेका छौं।'
उनले लगानीको वातावरण सहज बनाउन सरकार कटिवद्ध रहेको बताए। अर्थमन्त्री महतले बाह्य संचिति राम्रो रहेको बताए। उनले भने,'बाह्य संचिती राम्रो छ। हाम्र युवाहरू विदेश गएका छन्। बाहिर गएका युवाहरूले रेमिटेन्स बढाएका छन्।'