पर्यटकीय गाउँ सिउरुङमा महोत्सव आयोजना

पर्यटकीय गाउँ सिउरुङमा महोत्सव आयोजना
सुन्नुहोस्

बेंसीसहर : लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ मा पर्ने होमस्टे गाउँ सिउरुङमा बैशाखको दोस्रो साता १२ औँ सिउरुङ महोत्सव हुने भएको छ।

सिउरुङमा प्रत्येक वर्ष महोत्सव हुँदै आएकोमा कोरोना संक्रमण जोखिमपछि महोत्सव हुन सकेको थिएन। यही बैशाख ७ गतेदेखि ९ गतेसम्म विविध कार्यक्रम गरी महोत्सव आयोजना गरिने मूल आयोजक समितिका संयोजक नन्दबहादुर घलेले जानकारी दिए। 

उनका अनुसार ग्रामीण होमस्टे प्रवर्द्धन, स्थानीय कला संस्कृतिको संरक्षण र सम्बर्द्धन साथै स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबर्द्धन लागि महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा स्थानीय खाना महोत्सव, संस्कृति प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। 

प्राकृतिक दृश्यावलोकन, गुम्वा, तमू संग्रहालय, क्व्होइँबो, शिलादेवी मन्दिर, जलदेवी मन्दिर, कन्यादेवी मन्दिरलगायतको दर्शन गर्न सकिने महोत्सव आयोजक समितिले जनाएको छ। 

महोत्सवमा कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखु, चर्खा, झोला, पछ्यौरालगायत ऊन र धागोबाट निर्मित हस्तकला सामग्रीको प्रदर्शन समेत गरिने महोत्सव मूल आयोजक समितिका सचिव पूर्णसिंह गुरुङले बताए। 

उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त कलाकारहरू राजु गुरुङ, लक्ष्मी खड्का, जादुगर शेरबहादुर गुरुङ, कलाकार केशबहादुर गुरुङ, प्रिया गुरुङलगायतको प्रस्तुति रहने छ। 

महोत्सवमार्फत समुद्री सतहदेखि ३ हजार मिटर उचाइमा रहेको खेलापु डाँडालाई भ्यु प्वाइन्टका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। 

२०६२ सालदेखि ग्रामीण पर्यटन प्रबर्द्धनको थालनी भएको सिउरुङमा प्रत्येक वर्ष स्थानीय पर्वका रूपमा महोत्सव आयोजना गरिँदै आएको थियो। कोरोनाका कारण नियमित हुन नसकेको महोत्सवले अव निरन्तरता पाउने संयोजक घलेले बताए। 

समुद्री सतहदेखि करिब १ हजार ८ सय ५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङमा गुरुङ जातिको बस्ती छ। विभिन्न हिमशृंखलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मियता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता रहेको छ। 

कूल १ सय २० घर रहेको सिउरुङको १७ घरमा होमस्टे सञ्चालन गरिएको छ। लमजुङ सदरमुकाम बेंसीसहरदेखि २४ किलोमिटर उत्तरपश्चिममा पर्ने सिउरुङ बेंसीसहरदेखि खुदी, ढगैं हुँदै करिव २ घण्टामा मोटर चढेर पुग्न सकिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.