प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी
वीरगन्ज : बाराको महागढीमाई नगरपालिकामा विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको कामकाज प्रभावित भएको छ।
दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालय खुले पनि कामकाज गर्न नसक्दा सेवाग्राहीले दुर्व्यवहार गरेको भन्दै जनप्रतिनिधि र कर्मचारीहरूले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
महागढीमाई नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सेवा प्रवाहमा समस्या भएकोले उनीहरूले आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।
मेयर उपेन्द्र प्रसाद यादवले भने, ‘नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको दुई महिना हुनलाग्यो, सेवाग्राही आउँछन् तर काम हुन सक्दैन अनि कर्मचारी र हामीलाई गाली दिन्छन्, हप्कीदप्की दिएर जान्छन्, त्यसकारण कार्यालयनै बन्द गरेर हामी आन्दोलनमा उत्रिने तयारीमा छौं।'
नगरपालिका कार्यालयका कर्मचारीहरूले सोमबारदेखि पेन डाउन गरेर सांकेतिक आन्दोलनको सुरुवात गरिसकेको पनि मेयर यादवले बताए।
महागढीमाई नगरपालिकामा यसअघि कार्यरत प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाको गत फागुन ८ गते मन्त्रालयले पर्साको बहुदरमाई नगरपालिकामा सरुवा गरेको थियो। त्यसयता अहिले महागढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको मेयर यादवले बताए।
मेयर यादवका अनुसार यसअघिका प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको सरुवा भएपछि मन्त्रालयले चाँडै अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिने आश्वासन मात्रै दिँदै आएको छ।
मेयर यादवले भने, ‘मन्त्रालयले आश्वासन दिएको एक हप्ता बितेपछि मन्त्रालयमै पुगेर मैले मन्त्री अमनलाल मोदीज्यू र सचिव कृष्णहरी पुष्कर ज्युसँग पटक पटक भेटेर आग्रह गरे, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।'
यहि चैत १५ गते मन्त्रालयले महागढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीलाई खटाएको पत्र पठाएको थियो। तर मधेसमा नजाने भन्दै ज्ञवाली मन्त्रालयमा गएर हाजीर भएको मेयर यादवले बताए।
उनले भने,‘ कार्यालयमा दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक, प्रशासनिक कामदेखि विकास निर्माणका काम समेत ठप्प छन्, नगरपालिकाका कर्मचारीहरूले माघ यताको तलब खान पाएका छैनन्।
कार्यालयमा विभिन्न सेवाका लागि आउने सेवाग्राहीको काम हुन नसक्दा कर्मचारी र जनप्रतिनिधिहरूले गालीगलौज र दुर्व्यवहार सहनु परिरहेको दुखेसो पनि उनले सुनाए।
अबपनि मन्त्रालयले अधिकृत पठाउन ढिला गरेमा मन्त्रालयकै विरुद्ध जनप्रतिनिधि र कर्मचारीहरू आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए।