धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बलाउने कार्ग नगर्न आग्रह
वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पछिल्ला केही समय यता वीरगन्जमा सामाजिक सद्भाव धमिलो पार्ने षडयन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
धर्मका नाममा केही व्यक्तिले वर्षौँदेखि कायम रहेको धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव खल्बलिने गतिविधि गरेको भन्दै त्यसप्रति मेयर सिंहले चिन्ता व्यक्त गरेका हुन्।
मंगलबार वीरगन्जको आशा किरण केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले भने, ‘वीरगन्ज सबै जातजाति, भाषा, धर्मको साझा फूलबारी हो, यहाँ सदियौंदेखि धार्मिक र सामाजिक सद्भाव कायम छ।'
तर पछिल्लो केही दिनयता हिन्दूले मुस्लिमलाई, मुस्लिमले हिन्दूलाई गर्ने सम्मान र सद्भावमा केही उच्छृङ्खल व्यक्तिका कारण फाटो ल्याउने प्रयास गरिएकोले आफूलाई चिन्तित बनाएको उनले बताए।
वीरगन्जमा केही दिन यता मुस्लिम समुदायका केही व्यक्तिले पनि हिन्दु धर्मका बारेमा अनर्गल प्रचार गर्ने र सद्भाव खल्बल्याउने गरी वक्तव्य दिएको भेटिएकाले त्यस्ता कार्य तत्काल रोकेर वर्षौदेखि कायम धार्मिक सहिष्णुता र सामाजिक सद्भाव अझै मजबुत बनाउनेतर्फ ध्यान दिन उनले आग्रह गरे।
आफ्नो धर्म संस्कृतिको रक्षा आफैँले गर्नु पर्ने भन्दै उनले भने,‘ एउटा धर्म मान्नेले आफ्नो स्वार्थका लागि अर्को धर्म समुदायलाई हानी हुने काम कदापि गर्नु हुँदैन, र गरे त्यो मलाई सह्य पनि हुँदैन।
वर्षमा एक पटक झण्डा, तरबार बोकेर सडकमा निस्कदैमा धर्मको रक्षा हुन नसक्ने भन्दै उनले समाजमा रहेका कुरिति, गरिबी हटाउन सहयोगीभावमा समर्पण हुन वीरगन्जवासीलाई आग्रह पनि गरे।
‘हामीसँग भएका मन्दिरको संरक्षण छैन। भएका मन्दिरमा पुजारी छैन। पुजा गर्ने सामग्री छैन,’ उनले भने, ‘वर्षमा एक दिन झण्डा र तरबार बोकेर प्रदर्शन गर्दैमा धर्मको रक्षा हुन सक्दैन।’
भएका मन्दिरको संरक्षण गर्दै त्यहाँ पूजापाठ गर्ने व्यवस्था मिलाउने तर्फ ध्यान दिँदै सबैलाई जुटाउनेतर्फ काम भए मात्रै धर्म र धार्मिक सहिष्णुता कायम हुने उनले बताए।