हेटौंडा सिमेन्टको उत्पादन बन्द
हेटौंडा : हेटौंडास्थित सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। उद्योगका प्रवक्ता नवीनकुमार कर्णका अनुसार उपकरण बिग्रिएर क्लिंकर उत्पादन नहुँदा विगत ती सातादेखि उत्पादन बन्द भएको हो।
‘आगो बाल्ने भट्टीको उपकरण बिसग्रँदा क्लिंकर उत्पादन भएको छैन। सिमेन्ट उत्पादन पनि बन्द भएको छैन,’ प्रवक्ता कर्णले भने, ‘उद्योगका उपकरण दुई, तीन महिनामा बिग्रिरहन्छ। दीर्घकालीन समाधान नहुँदा समस्या आइरहन्छ।’
उत्पादन भइसकेको सिमेन्टलाई प्याकिङ गर्ने काम भइरहेको भए पनि नयाँ उत्पादनका लागि अझै केही दिन लाग्ने उद्योग व्यवस्थापनले जनाएको छ। उद्योगको प्लान्ट निकै जीर्ण अवस्थामा छ। बेलाबेलामा उपकरण बिग्रिएर समस्या आउन थालेपछि पुराना मेसिनरी सामान लिलाम प्रक्रियाबाट बिक्री गर्ने, मन्त्रालयबाट अनुदान लिने र थप ऋण सहायता लिई उत्पादन क्षमता बढाउने उद्योगको योजना छ।
निरन्तर सञ्चालन हुन नसक्दा उद्योगले विगत केही वर्षदेखि घाटा व्यहोर्दै आएको छ। आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म ६५ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको प्रवक्ता कर्णले बताए। उद्योगले आव २०७५/७६ मा १ करोड ५ लाख ४१, आव २०७६/७७ मा २३ करोड ८२ लाख २४, आव २०७७/७८ मा १७ करोड ४ लाख र आव २०७८/७९ मा २३ करोड ५५ लाख रुपैयाँ घाटा व्यहोरेको छ।
उद्योग २०२१ असोज १२ गते स्थापना भएको हो। यसको दैनिक ७ सय ५० टन सिमेन्ट उत्पादन क्षमता भए पनि जीर्ण उपकरण र कमजोर व्यवस्थापनका कारण ६ सय ५० टनमात्रै उत्पादन हुने गरेको छ।