विदेशी मुद्रा सञ्चितिमा सुधार
बजारमा उपभोग्य वस्तुको महँगी बढ्दो छ।
काठमाडौं : दबाबमा रहेको विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै छ। सञ्चितिमा ठूलो योगदान पुर्याउने विप्रेषण वृद्धि हुँदा र आयात नियन्त्रित हुँदा सञ्चितिमा सुधार देखिएको हो।
मुलुकभित्र घुम्न आउने पर्यटकबाट हुने आम्दानीभन्दा विदेश जाने नेपालीले उपचार, भ्रमण र पढ्न जाँदा लैजाने विदेशी मुद्रा अधिक खर्च हुँदा पनि सञ्चितिमा दबाब कायमै देखिन्छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को फागुनसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भएको छ।
गत असारको तुलनामा ८ महिनासम्ममा सो दरले वृद्धि हुँदा कुल सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम छ। गत असार मसान्तमा ९ अर्ब ५४ करोड थियो। कुल सञ्चितिमध्ये राष्ट्र बैंकसँग १२ खर्ब ४४ अर्ब ९४ करोड छ। बैंक तथा वित्तीय संस्थासँग मात्रै १ खर्ब ५६ अर्ब २७ करोड छ। बैंकहरूको भने गत असारभन्दा २ प्रतिशतले कमी आएको तथ्यांकमा उल्लेख छ।
कुल सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत छ। चालू आवको आठ महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले औंल्याएको छ।
सञ्चितिमा महŒवपूर्ण भूमिका खेल्दै आएको विप्रेषण २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड पुगेको छ। जबकि गत वर्ष १.३ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ।
विदेशी मुदा खर्च हुने मुख्य क्षेत्र आयात पनि गत वर्षभन्दा नियन्त्रित छ। फागुनसम्ममा कुल वस्तु आयात १९.१ प्रतिशतले कमी आई १० खर्ब ५८ अर्ब ३९ करोड पुगेको छ। जबकि गत वर्ष ३८.६ प्रतिशतले बढेको थियो। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पोन्ज आइरन, सुन, अन्य स्टेसनरी सामानलगायतका वस्तुको आयात बढेको छ। त्यस्तै सवारीसाधन तथा स्पेयर पार्टस्, औषधि, एमएस विलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्ट्सलगायतका वस्तुको आयात घटेको छ। तर केही हदसम्म विदेशी मुद्रा भित्र्याउन मद्दत गर्ने निर्यातमा पनि अझै अपेक्षाअनुसार सुधार हुन सकेको छैन।
यस अवधिसम्म कुल वस्तु निर्यात २९.१ प्रतिशतले कमी आई १ खर्ब ४ अर्ब ८० करोडमा सीमित छ। बरु ८२.९ प्रतिशतले वृद्धि भएको थियो। वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलंैचा, चियालगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ।
निर्यातको तुलनामा आयात १० गुणा बढी हुने गर्दा सधैं व्यापार घाटा चुलिने गरेको छ। तर आयातमा कडाइ गर्दा केही नियन्त्रित भएकाले कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले कमी आई ९ खर्ब ५३ अर्ब ५९ करोड पुगेको छ।
विदेशी मुद्रा बाहिरिँदै
भ्रमण, उपचार र शिक्षा प्रयोजनमा विदेशी मुद्रा बाहिरिने क्रम बढ्दै गएको छ। नेपालमा घुम्न आउने पर्यटनबाट हुने आम्दानीभन्दा नेपालबाट घुम्न, पढ्न र उपचार गर्न जानेले गर्ने खर्च बढी हुँदा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न जाने देखिएको छ।
चालू आवको ८ महिनामा खुद सेवा आय ४९ अर्ब ८ करोडले घाटामा छ। जबकि गत वर्ष ६६ अर्ब २५ करोडले घाटामा थियो। यद्यपि सेवा खाताअन्तर्गत पर्यटनलगायतबाट भ्रमण आय ९८.६ प्रतिशतले वृद्धि भई ३७ अर्ब १२ करोड पुगेको छ। सोही अवधिमा यस्तो आय १८ अर्ब ७० करोड रहेको थियो। तर नेपालबाट विदेशमा भ्रमण (पढ्न, घुम्न तथा उपचार) खर्च भने ५०.७ प्रतिशतले वृद्धि भई ७६ अर्ब १२ करोड पुगेको छ। यसमध्ये शिक्षातर्पmको व्यय ५४ अर्ब ७० करोड रुपैयाँ छ। जबकि गत वर्ष भ्रमण व्यय ५० अर्ब ५० करोड रहेकोमा शिक्षातर्फको व्यय ३० अर्ब ३८ करोड रुपैयाँ थियो।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले समग्रमा नेपालको अर्थतन्त्रका परिसूचकहरू सकारात्मक रहेकोे बताए। अहिले आन्तरिक अर्थतन्त्र सहज अवस्थामै रहेको उनको भनाइ छ। तर बाह्य क्षेत्र सुधार्न पनि १४ महिना लागेको बताउँदै डा. श्रेष्ठले भने, ‘अर्थतन्त्र सुधार भइहाल्नुपर्छ भन्ने कुरा होइन। हामीले क्रमशः गरेको व्यवस्थाले १४ महिनापछि बाह्य क्षेत्र सुधार भयो। जादुको छडी झै छिटो सुधार हुँदैन। समय लाग्छ। विस्तारै सुधार हुन्छ।’ कर्जा प्रवाह उच्च दरले बढ्ने र फेरि आयात बढ्ने हो भने फेरि उही समस्याको चक्र दोहोरिने भएकाले यसमा सहज हुनुपर्ने उनको तर्क थियो।
शोधनान्तर स्थिति १ खर्ब ४८ अर्बले बचतमा
पछिल्लो समय बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिनेमा सुधार हुँदा शोधनान्तर बचतमा छ। यस अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ। गत वर्ष २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो। यस्तै, चालू खाता भने ४४ अर्ब ३१ करोडले घाटामा छ। गत वर्ष ४ खर्ब ६० अर्ब ७२ करोडले घाटामा थियो।
उपभोक्ता मुद्रास्फीति २०७९ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १४.३५ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ।
महँगी अचाक्ली
बजारमा उपभोग्य वस्तुको महँगी बढ्दो छ। राष्ट्र बैंकको तथ्यांकले पनि केही हदसम्म बढेकै उल्लेख गरेको छ। फागुनसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत छ। गत वर्ष यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत हुँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायातको मूल्य सूचकांक १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.७९ प्रतिशतले बढेको छ। यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १४.३५ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ।