करेन्ट लागेर चरा मर्ने दर बढ्यो : चरा मैत्री विद्युत प्रशारणको माग
पोखरा : तनहुँको व्यास नगरपालिका १० सिसुवा भतेरीमा २०७५ सालदेखि छाडा चौपायाको व्यवस्थापन गर्ने गरी गौसंरक्षण केन्द्र सञ्चालनमा छ। गौसंरक्षण केन्द्र नजिकै ३३ केभी प्रसारण लाइन छ।
संरक्षण केन्द्रमा रहेका गाई गोरुको प्राकृतिक मृत्युपश्चात गिद्धलाई खुवाइन्छ। यसरी गिद्धलाई शुद्ध आहारा उपलब्ध गराएर संरक्षणमा पनि योगदान दिने उद्देश्यका साथ सञ्चालनमा रहेको गौसंरक्षण केन्द्र नजिकैको ३३ केभी प्रसारण लाइनको पोलमा गिद्ध बस्दा र उडान भर्दा करेन्ट लागेर ठूलो संख्यामा गिद्ध मर्ने गरेका छन्।
सिसुवा भतेरीमा रहेको छाडा चौपाया व्यवस्थापन केन्द्रसंगै रहेको ३३ केभी प्रसारण लाइनमा करेन्ट लागेर अंग्रेजी महिनाको सेप्टेम्बरदेखि अप्रिलको पहिलो हप्तासम्म १० भन्दा बढी गिद्ध मरेका नेपाल पंछी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत अंकित विलास जोशीले बताए। मिदिम हाइड्रोपावरको भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइनको पोल र तारमा ठोकिएर र करेन्ट लागेर विगत तीन वर्षमा एक सयको हाराहारीमा गिद्ध मरेको बताइएको छ।
यति ठूलो संख्यामा करेन्ट लागेर गिद्ध मरेपछि संरक्षण कर्मीले चरा मैत्री विद्युत प्रशारण लाइनका लागि स्थानीय जनप्रतिनिधि, नेपाल विद्युत प्राधिकरण, स्थानीय प्रशासन लगायत सरोकारवाला निकाय संग हारगुहार गरेपनि सुनुवाई नहुँदा लोपउन्मुख प्रजातिका गिद्ध मर्ने दर बढीरहेको पोखरा पंछी समाजका सचिव हेमन्त ढकालले बताए।
सिनो खाएर वातावरण सफा राख्ने गिद्ध ३३ केभी प्रसरण लाइनको पोलमा बस्दा करेन्ट लागेर मर्ने गरेको व्यवास नगरपालिकाकी उपमेयर इन्दिरा दरैले बताइन्। व्यास नगरपालिकाले छाडा चौपाया व्यवस्थापन र गिद्ध संरक्षणका लागि संचालन गरेको गौसंरक्षण केन्द्र नजिकैको रहेको ३३ केभी प्रसारण लाइनमा परेर गिद्ध मर्ने गरेको पनि उनले सुनाइन्। उपमेयर दरैले चरा संरक्षणकालागि चरा मैत्री विद्युत प्रशारण लाइन हुनु पर्नेमा उनले जोड दिइन्। यसकालागि तीन तहकै सरकारले पहल गर्नु पर्छ उनले भनिन्।
प्रशारण लाइनको पोलमा बस्दा, ठोक्किएर गिद्ध मात्र होइन अन्य प्रजातिका चरा पनि मर्ने गरेको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश पोखराका इन्जिनियर शिव नारायण गोशलीले बताए। विकास संगै विनास पनि हुने भए पनि कम भन्दा कम क्षति हुने तर्फ प्राधिकरण सचेत रहेको र यसकालागि प्राधिकरणलाई चरा विज्ञहरुले चराको कुन ठाउँमा कस्ता चराको बासस्थान र गतिविधि बढि छन भन्ने जानरी पाउन सके त्यसै अनुसार संरक्षणको योजना बनाउन सहयोग हुने उनले बताए।
गण्डकी र लुम्बिनी धेरै विद्युत उत्पादन हुने प्रदेशमा पर्ने भएकोले पनि यस्ता घटना बढी हुने गरेको पनि उनले सुनाए।
नेपाल पंन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत अंकित विलास जोशीले सन् २०१० को फ्रेब्रुवरी देखि २०२३ को मार्च महिना सम्मको अवधिमा करेन्ट लागेर १२२ वटा गिद्ध मरेको बताए। यो तथ्याङ्क १७ जिल्लाको हो। यसमा समाजिक सञ्चालमा पोष्टगरिएका, यस्ता घट्ना हुँदा फोटो सहित पाएको सूचना र फिल्डमै गएर तयार पारिएको तथ्याङ्कलाई आधार मानेर लिइएको उनले सुनाए। थाहा नभएका यस्ता घट्ना अझै धेरै हुनसक्ने पनि उनले बताए।
करेन्ट लागेर गिद्ध मात्र होइन विश्वमै संकाटापन्न अवस्थाको गोमायु महाचिल लगायतका बिभिन्न प्रजातिका चरा मर्ने क्रम बढीरहेको पनि उनले सुनाए। गिद्ध, चिल मात्र होइन पानी चराहरु पनि करेन्ट लागेर र विद्युत लाइनमा ठोक्किएर मर्ने गरेको नेपाल पन्छी संरक्षण संघको तथ्याङ्क छ।
नेपालमा हाडफोर, हिमाली, सेतो, डंगर, सानो खैरो, खैरो, राज गिद्ध, सुन र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइन्छ। ती मध्ये डंगर, सानो खैरो, सुन र लामो ठुँगे गिद्ध अति संकटापन्न प्रजातिका हुन्। सेतो गिद्ध संकटापन्न अवस्थामा छन्। हिमाली र हाडफोर गिद्ध संकटको नजिक र खैरो गिद्ध सामान्य अजस्थामा रहेको चरा विज्ञले बताएका छन्।
यसरी बनाउन सकिन्छ चरा मैत्रि विद्युत प्रशारण लाइन
यस्ता घटना न्यूनीकरण गर्न दक्ष विषयगत विज्ञबाट वातावरणीय प्रभाव मूल्याङ्क गरिनु पर्ने र त्यसै अनुसार संरक्षणका काम पनि संगसंगै हुने पर्ने चरा विज्ञले बताएका छन्।
चराको बढी आवातजावन हुने र बासस्थान क्षेत्रका विद्युतीय पोल र प्रसारण लाइनमा चराको मुभमेन्ट रोक्न पर्च डिटरेन्ट र डिफेलेक्टर राखेर पनि यस्ता घट्ना न्यूनिकरण गर्न सकिने आईयुसियनका गिद्ध विशेषज्ञ समूहका सदस्य कृष्णप्रसाद भुसालले बताए। आवश्क्कता र सक्ने अवस्था सम्म प्रसारण लाइन भूमिगत र इन्सुलेसन गर्न पनि सकिने उनले सुझाए। भूमिगत प्रसारण लाइन महंगो हुने भएकोले कम खर्चमै गर्न सकिने उपायलाई अपनाएर बढी जोखिम क्षेत्रमा चरा मैत्री विद्युत प्रसारण लाइनकालागि विद्युत प्राधिकरणले तत्काल काम गर्नु पर्नेमा उनले जोड दिए।
यस्तो प्रविधिको प्रयोगले चरा मात्र जोगिँने नभएर चरा ठोकिँदा वा करेन्ट लाग्दा विद्युतीय प्रवाहमा हुने समस्या र क्षतिबाट पनि जोगाउँन सहयोग पुग्ने उनले बताए। एच टी लाइनमा चराहरु बसेर लाइन सर्ट गराउँदा फिटर ट्रिप वा तार चुडिने लगायतका समस्या हुने प्राधिकरणका इन्जिनियरले बताएका छन्। चरा मैत्री प्रसारण लाइन बनाउँदा यस्ता समस्या पनि समाधान हुने भुसाल बताउँछन्।