बन्द बर्थिङ सेन्टर ४ वर्षपछि खुला
बझाङ : बझाङको बझाखप्तडछान्ना गाउँपालिका वडा नं. ६ बयानामा विवादका कारण चार वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ।
तत्कालीन पाटादेबल गाविसबाट २ लाख ३१ हजार र गाउँपालिकाको १० लाखको लागतमा निर्माण गरिएको उक्त बर्थिङ सेन्टर उद्घाटन नहुँदै विवादका कारण बन्द भएको थियो। गाउँमा छलफल नै नगरेर जानकारी बिना नियमविपरीत बर्थिङ सेन्टर सञ्चालन गरेको र जग्गादातालाई कार्यालय सहयोगी राख्नुपर्ने माग राख्दै २०७६ कात्तिक महिनामा बर्थिङ सेन्टरमा तालाबन्दी गरिएको थियो।
सञ्चालनको तयारीमा रहेको बर्थिङ सेन्टरमा तालाबन्दी गरेपछि लाखौं रकमका भौतिक तथा स्वास्थ्य सामग्रीहरू प्रयोगविहीन बन्नुका साथै बर्थिङ सेन्टरको झ्याल ढोकासमेत तोडफोड भएका थिए। बर्थिङ सेन्टर निर्माण भएपछि जम्मा दुई दिन मात्रै सञ्चालनमा आएको थियो। उद्घाटन र औषधि खरिद गरी सञ्चालनमा आएको सेन्टर तेस्रो दिनदेखि जग्गादाता झुरु थापाले ताला लगाएका थिए। निवर्तमान महिला सदस्य कृष्णादेवी थापाका अनुसार बर्थिङ सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिलाहरू मारमा परेका थिए। बर्थिङ सेन्टर बन्द भएयता गाउँका एक दर्जन बढी गर्भवतीले बीच बाटोमै बच्चा जन्माइसकेको थापाले बताइन्।
लामो समयदेखि गाउँमा बर्थिङ सेन्टर अलपत्र परेको र सुत्केरी महिलाको समस्या यथावत् रहेको गुनासो आएपछि गाउँपालिकाले सोमबार स्थानीयसँग समन्वय गरेर बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको हो। खप्तडछान्ना गाउँपालिका–६ का वडाध्यक्ष तेजबहादुर खड्काको अध्यक्षतामा बर्थिङ सेन्टर सञ्चालनको विषयमा छलफल गरिएको बताइएको छ।
बर्थिङ सेन्टर निर्माण गर्नुअघि जग्गादाताको घरबाट एक जनालाई कर्मचारी बनाउने सहमति भएकाले उक्त सहमतिअनुसार नै जग्गादाता झुरु थापाको घरबाट एक जनालाई कर्मचारी बनाउने निर्णय गरिएपछि ताला खोलिएको गाउँपालिका उपाध्यक्ष विष्णु थापाले बताए।
गाउँपालिका उपाध्यक्ष थापाले भने, ‘जग्गादाता र स्थानीयले पहिले नै जग्गादान गरेबापत जग्गादाताको घरबाट एक जनालाई कर्मचारी बनाउने सहमति भएको रहेछ तर बर्थिङ सेन्टर निर्माणपछि अर्कै कर्मचारी बनाउन खोज्दा विवाद भएपछि जग्गादाता झुरु थापाको परिवारले तालाबन्दी गरेको रहेछ। प्रदेश सरकारले फेरि त्यही वर्थिङ सेन्टरकै छेउमा आवास गृह निर्माण गरेछ त्यहाँ पनि तालाबन्दी भएको रहेछ। पुरानै सम्झौताअनुसार जग्गादाताको घरका सदस्यलाई कर्मचारी बनाउने निर्णय गरेर ताला खोलेका छौं।’