कालिकोट विमानस्थलमा बैशाख पहिलो साता परीक्षण उडान

कालिकोट विमानस्थलमा बैशाख पहिलो साता परीक्षण उडान

बीरेन्द्रनगर : निर्माण सुरु भएको ३७ वर्षपछि सम्पन्न भएको कालिकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान हुने भएको छ। चैत २३ गते अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित भएपछि कालिकोट विमानस्थल निर्माण आयोजनाको सहजीकरणमा नागरिक उड्यान प्राधिकरणले बैशाख पहिलो साता परीक्षण उडान गर्न तयारी थालेको हो। 

२०४२ सालबाट निर्माण सुरु भएको उक्त विमानस्थल २०७९ पुसमा सम्पन्न भए पनि हालसम्म जहाज नआउँदा खाली रहेको उक्त विमानस्थलमा गाँउपालिकाको गाँउसभादेखि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारणसम्मका विभिन्न सार्वजानिक कार्यक्रम आयोजना गरिएका थिए। ती कार्यक्रम विमानस्थलको धावनमार्गमै गरिएकोमा स्थानीयबाट आलोचनासमेत भयो। 

आयोजकले ३७ वर्षपछि बनेको विमानस्थलमा नियमित उडान गर्नका लागि दबाब दिन विमानस्थलमै कार्यक्रमको आयोजना गरिएको बताएका थिए। तर स्थानीय नागरिकहरू विमानस्थललाई रंगमञ्चजस्तै बनाएको, नियमित उडानका लागि सम्बन्धित निकाय उदासीन भएको, यहाँका जनप्रतिनिधिहरू समेत बेखबर भएको भन्ने आरोप थियो। 

नेपाल पत्रकार महासंघ प्रदेशले चैत २१ र २२ गते उक्त सुनथराली विमानस्थलमा साधारणसभा आयोजना गरेपछि २३ गते अन्नपूर्ण पोष्ट दैनिकमा रंगमञ्चद बन्यो कालिकोट विमानस्थल शीर्षकमा समाचार छापियो। त्यसको तीन दिनपछि चैत २६ गते नागरिक उड्यान प्राधिकरणअन्तर्गत कालिकोट विमानस्थल निर्माण आयोजनाले विमानस्थलको काम सतप्रतिशत सम्पन्न भएको र वैशाख पहिलो सातासभत्र परीक्षण उडानसमेत हुने भएकाले विमानस्थलको चार किल्लाभित्र पशु चौपाया छाडारूपमा नछोड्नका लागि सूचना निकालेको छ। आयोजनाका सुपरभाइजर गणेश बिष्टले सूचना जारी गर्दै अवज्ञा नगर्न आग्रह गरेका छन्। 

वर्षौंदेखि नागरिकको जहाज चढ्ने सपना अधुरै रहेको उक्त सुनथराली बिमानस्थलमा निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ साल माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीबनबहादुर शाहीको पालामा परीक्षण उडान सफल भएको थियो। त्यसपछि फेरि त्यो विमानस्थलमा जहाज फर्किएन। विमानस्थल निर्माण आयोजनाले कालोपत्रेसमेत गरी रंगरोगन गरेर चिटिक्क बनाएको थियो। विमानस्थल निर्माण सम्पन्न हुन ३७ वर्ष लाग्यो। निर्माण सम्पन्न भएको तीन महिनासम्म पनि जहाज आएको थिएन। 

स्थानीय संकरप्रसाद उपाध्यायले भने, '३७ वर्षपछि बनेको विमानस्थलमा जहाज नआएर कार्यक्रमहरू हुन थाले। विमानस्थल हो कि खुलामञ्च भन्ने प्रश्न हामी सबैमा उठेको थियो। तर बैशाख पहिलो सातामा नै पुनः परीक्षण उडान हुने खबरले खुसी लागेको छ। अब परीक्षण उडानमात्र होइन। यहाँबाट नागरिकले सधैं हवाई सेवा पाउनुपर्छ।'

विमानस्थल निर्माण आयोजना प्रमूख रत्नबहादुर श्रेष्ठले कालिकोट बिमानस्थलमा नियमित उडानका लागि तयारी भइरहेको जानकारी दिए। उनले भने, 'यो विमानस्थल निर्माण कार्य पूरा भएर परीक्षण उडानका लागि उपयुक्त छ भनेर हामीले नागरिक उड्यान प्राधिकरणलाई लेखेर पठाइसकेका छौं। कालिकोटका सांसदज्यूहरुले पनि चासो राख्दै आउनुभएको छ। हामी बैशाखको पहिलो साताभित्रै विमानस्थलमा परीक्षण उडान गर्छौं। त्यसपछि नियमित उडानका लागि प्रक्रिया अगाडि बढ्ला। अब कोटबाडाबाट जहाँज चढ्नका लागि कालिकोटबासीले धेरै समय कुर्न पर्दैन।'  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.