पर्सामा श्रोत नखुलेको २० लाख नगद र २ क्वीन्टल काजुसहित पक्राउ
श्रोत नखुलेको रकम र राजश्व छलेर भित्र्याइएको काजुसहित ट्याक्टरका चालक पर्साकै धोबिनी गाँउपालिका वडा नम्बर ५ घर भएका अलिम मियाँ अन्सारीलाई पनि नियन्त्रणमा लिइएको थपलियाले बताए । बरामद काजुको बजार मुल्य करिब २ लाख रुपैयाँ रहेको उनले बताए ।
वीरगन्ज : पर्सामा सशस्त्र प्रहरीले श्रोत नखुलेको २० लाख रुपैयाँ र दुई क्वीन्टल काजुसहित एक जनालाई पक्राउ गरेको छ ।
पर्साको पोखरीया नगरपालिका वडा नम्बर ३ बसन्तपुरमा बुधबार दिउँसो सशस्त्र प्रहरीले सीमावर्ती भिस्वाबाट वीरगन्ज आउँदै गरेको नम्बर प्लेट नभएको ट्याक्टर रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा ट्याक्टरको टेलरमा लुकाएर राखिएको २० लाख रुपैयाँ नगद र राजश्व छलेर भित्र्याइएको २ क्वीन्टल काजु बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जानकारी दिए ।
श्रोत नखुलेको रकम र राजश्व छलेर भित्र्याइएको काजुसहित ट्याक्टरका चालक पर्साकै धोबिनी गाँउपालिका वडा नम्बर ५ घर भएका अलिम मियाँ अन्सारीलाई पनि नियन्त्रणमा लिइएको थपलियाले बताए । बरामद काजुको बजार मुल्य करिब २ लाख रुपैयाँ रहेको उनले बताए ।
नगद रकम, काजु र ट्याक्टरसहित नियन्त्रणमा लिइएका चालक अन्सारीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुधबार नै साँझ बुझाइएको जानकारी थपलियाले दिए ।