मन्त्री छान्न कोइराला-थापा समूह छलफलमा
काठमाडौं : नेपाली कांग्रेसका डा. शेखर कोइराला-गगन थापा समूह छलफलमा जुटेका छन्। आफ्नो समूहले कम्तिमा ३ मन्त्री पाउनुपर्ने अडान बमोजिम उनीहरु आज छलफलमा जुटेका हुन् ।
एक पदाधिकारीका अनुसार धनराज गुरूङ र डिगमान लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्येबाट मन्त्री चुनिने सम्भावना छ।
कांग्रेसले ८ मन्त्रालय पाएकोमा यसअघि ४ मन्त्री मात्रै सरकारमा पठाएको छ। कोइराला-थापा पक्षले मन्त्री छानेर सभापति शेरबहादुर देउवालाई दिएपछि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नामावली दिने तयारीमा छन् । सभापति देउवा पक्षले भने एनपी साउद र मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
सभापति देउवा पक्षले ३ मन्त्रीको नाम पठाउन भनेपछि कोइराला र थापा पक्ष छलफलमा जुटेका हुन्। गठबन्धनभित्र कांग्रेसलाई ८ मन्त्रालय मात्र दिने भनिए पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग ९ मन्त्रालय माग गरिरहेका छन्। मन्त्रिमण्डलले पूर्णता नपाउँदा प्रधानमन्त्री प्रचण्डको आलोचना हुँदै आएको छ।