उदयपुरको ताप्लिमा आगलागीबाट दुई घर जले
उदयपुर : उदयपुरको ताप्लि गाउँपालिका- ५ रुपाटारस्थित शाहीडाँडामा बुधबार राति आगलागी हुँदा २८ लाखको क्षति भएको छ । राति अचानक आगो सल्किदा स्थानीय शुभशेर राई र कमलशेर राईको दुईवटा घर जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार आगालागीबाट शुभशेरको घर,गाईगोठमा रहेका दुईवटा गोरु, तीनवटा गाई, नौंवटा बाख्रापाठा,अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी १५ लाखको क्षति भएको छ ।
त्यसैगरी आगलागीबाट कमलसेरको घर,दुईवटा गोरु,दुईवटा गाई,छवटा बाख्रापाठा,सुँगुर ५ वटा र अन्नपात,लत्ताकपडा,भाडावर्तन गरी १३ लाखको क्षति पुगेको उनले बताए । झण्डै दुई घण्टापछि स्थानीय र प्रहरीको प्रयासबाट आगो नियन्त्रणमा आएको थियो। आगलागीबारे एकीन भएको छैन।