समृद्ध नेपालको सपना !
मेरा परदेशी मित्रहरूले दिएका शुभकामनाहरूले मलाई चसचसी घोच्न थाल्छन् ! भतभती पोल्न थाल्छन् अनि पीडाको हलाहल साम्य पार्न म कल्पनाको गोसाइँकुण्डमा डुबुल्की मार्दै प्रार्थना गर्न चाहन्छु– ‘हे भोलेनाथ मुक्त गराइदेऊ मेरो मातृभूमिलाई सतीको श्रापबाट !’ कुनै मञ्जुश्रीको प्रतीक्षा छ मलाई जसले पुनः चोभारको डाँडो काटेर यो देशका विकृति–विसंगति बगाएर नवसिर्जना गर्नेछ। सायद, त्यसपछि आउला कि नयाँ वर्ष ?
हेर्दाहेर्दै तीन दशकभन्दा बढी समय बितिसकेछ ! चखेवाले चन्द्रमालाई हेरेजस्तै भित्तेपात्रो हेर्ने गर्छु। जब वर्षको अन्तिम महिना आउँछ अनि उत्साही हुन्छु, यसपालि त नयाँ वर्ष आउँछ कि ? तर अहँ ! त्यो कहिल्यै आएन। आउँछ त केवल एउटा अर्को नयाँ पात्रो र त्यसमा अंकित नयाँ तिथिमिति। यसबाहेक केही नयाँ आएन किनकि, यहाँ त आम जनताका आस्था र विश्वासमा डँढेलो लागेको लाग्यै छ, समृद्धिका सपनाहरू खरानी भइसकेका छन् ! र पनि सत्ता–स्वार्थको बाँसुरी बजाउँदै मुग्ध बनेका निरोहरू उस्तै छन् !
कुनै परिवर्तन छैन उनीहरूको मानसिकता र गतिविधिमा ! अनि कसरी आउँथ्यो र नयाँ वर्ष ? केही नयाँ छैन यहाँ बरु भएका पनि सबै पुरानो हुँदै गएका छन्। यहाँको राजनीतिक रंगमञ्चबाट आस्था र निष्ठाका पर्दाहरू च्यातिएर मिल्किइसकेका छन्। इमानदारी र कर्तव्यका मंगलाचरणहरू नामेट भइसकेका छन्। प्रत्येक प्रहर नयाँ–नौला सूत्राधारहरू नेपथ्यमा निहित स्वार्थका ताना बुन्दै, कथा रच्दै हाम्रा नायकहरूलाई यसरी नचाइरहेका छन्, मानौं ती मात्र कठपुतली हुन्। यही नाच हेर्दाहेर्दै पुरानिइरहेछन् हाम्रा हरेक वर्षहरू ! तर कुनै वर्ष नयाँ भएर आउँदैन हाम्रा लागि !
विदेशमा रमाइरहेका मित्र तथा आफन्तहरूले सन्देशमा ‘त्यहाँ सबै ठीकठाक छ नि ?’ भनेर प्रश्न गर्दा मन मुटु अमिलिएर आउँछ अनि अम्लपित्तजस्तै स्वरमा भनिदिन्छु ‘ठीकै छ’ तर यथार्थमा त मलाई भन्न मन लाग्छ— ‘यहाँ केही पनि ठीक छैन मित्र ! सबै लथालिंग र भताभुंग भइसकेको छ। धोद्रो लागेको बूढो रुखसरी बन्दै गरेको मेरो देशको भविष्यले मेरा हरेक रातका सपनाहरू आतंकित भएका छन्। देशको चिन्ता गर्नेहरू वर्षौंदेखि निष्फिक्री निदाइरहेछन् कुम्भकर्णसरी। तिमीले चिन्ता गरेर केही हुँदैन मित्र ! किनकि तिमी र तिमीजस्तै असंख्य खम्बाहरू त अब यो देशलाई काँध थाप्न नआउनेगरी विदेश पलायन भइसकेका छौ।’
मेरा परदेशी मित्रहरूले दिएका शुभकामनाहरूले मलाई चसचसी घोच्न थाल्छन् ! भतभती पोल्न थाल्छन् अनि पीडाको हलाहल साम्य पार्न म कल्पनाको गोसाइँकुण्डमा डुबुल्की मार्दै प्रार्थना गर्न चाहन्छु– ‘हे भोलेनाथ मुक्त गराइदेऊ मेरो मातृभूमिलाई सतीको श्रापबाट !’ कुनै मञ्जुश्रीको प्रतीक्षा छ मलाई जसले पुनः चोभारको डाँडो काटेर यो देशका विकृति–विसंगति बगाएर नवसिर्जना गर्नेछ। सायद, त्यसपछि आउला कि नयाँ वर्ष ?
पलभरका लागि आँखा चिम्म गर्छु। मेरा बन्द आँखाहरूमा सल्बलाउँछ समृद्ध नेपालको सपना ! सुन्दर, शान्त, विशाल नेपाल विकासको उडानमा अकाशिँदै गरेको सपना ! बहुमूल्य जडीबुटी गर्भमा लुकाएर अनुपम सौन्दर्यमा सदाबहार मुस्कुराइरहेछन् हिमाली चुचुराहरू। पहाडका पहरा फुटाउँदै निस्केका झरना र छाँगाहरूको मधुर संगीतमा रमाउँदै हरियाली वन दिनप्रतिदिन घना बनिरहेको छ। न डँढेलो न त चोरी फँडानी नै। आयात गरिनु पर्दैन यहाँ सलाईको काँटीदेखि दाँत कोट्याउने सिन्कासम्म ! भिराला ती पहाडी गरा–गरामा लटरम्म फलिरहेका छन् फलपूल तथा नगदेबालीहरू। सडक नपुगेको कहीँ छैन र पनि मासिएको छैन कत्ति पनि पर्यावरण। किसान आफ्नै सवारीसाधन चढेर खेतबारीमा पुग्छन् अनि मेसिनबाटै सम्पन्न गर्छन् खेतीका यावत् कामहरू। तराईका फाँटहरू मानौं अन्नपूर्णा हुन्। यिनलाई अन्नपूर्णाकै रूपमा राख्ने नीति लिएको छ सरकारले। त्यहाँ कुनै कंक्रिटका रूख रोप्ने अनुमति छैन किनकि, खाद्यान्नमा आत्मनिर्भर बनाइराख्नु छ भावी पुस्तालाई।
उठाइनसक्नु किताबको भारी बोकेर विद्यालय जाँदैनन् यहाँका बालबालिका। उनीहरू त शिशुकक्षादेखि नै व्यावहारिक शिक्षा लिन्छन्। कोही माटो र बिरुवाको सम्बन्ध खोज्दैछन्, कोही गाईगोठ र भेडीगोठको अवलोकन गर्छन्। बर्दियाका फाँटहरूमा सेताम्ये फुलेको कपासमा सुतीको सपना बुनिरहेका छन् हाम्रा किशोर हातहरू। उन्नत बीउबिजनबाट फस्टाएको अर्गानिक उत्पादन बजारसम्म पुर्याउन भ्याइनभ्याइ छ किसान दाइलाई। घरेलु उद्योगबाट नै स्थानीयका अधिकांश आवश्यकता पूरा भइरहेको छ।
सरकारको सकारात्मक सोच तथा उपयुक्त नीतिका कारण कुनै उद्यमी ऋणमा डुबेको छैन। पुस्तौनी ऋणबाट मुक्ति पाउनका लागि दूधेबालक आफन्तको जिम्मा लगाएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छैन कुनै आमालाई। आर्थिक समस्याले पिरोलिएर दलालको भर पर्दै अनिश्चित यात्रामा निस्कन कुनै यौवनाहरू विवश छैनन् यहाँ। नैतिकता, इमानदारी र न्याय हराएको छैन यहाँ ! त्यसैले त यहाँ कुनै महिला, किशोरी र बालिका यौनहिंसाको सिकार हुँदैनन्। निर्बाध खेल्न र हिँड्न पाउँछन् उनीहरू आफ्नो घरआँगनमा। भ्रष्टाचार भन्ने शब्द नै पाइदैन यहाँको शब्दकोशमा। समृद्धिका नाराहरू तुल र पोस्टरमा टाँगिदैनन् यहाँ। जिम्मेवार निकायमा बसेकाहरू कुरा गर्दैनन्, काम गरेर देखाउँछन् किनकि, यहाँ राजनीतिलाई सेवा मानिन्छ, व्यापार होइन।
आँखाभित्रको आफ्नो देशमा रमाइरहेको बेला अर्थविद्को भविष्यवाणी सुन्छु, ‘अब केही समयमा नै मुलुक चरम आर्थिक संकटमा पर्नेछ। बेलैमा सचेत नहुने हो भने श्रीलंकाको नियति....’ म झसंग हुन्छु। आँखा खुल्छ। मेरो सपना टुट्छ अनि वर्तमानको मेरो वास्तविक देशको अवस्थासँगै म बेसरी दुख्न थाल्छु। म मात्र होइन, आज हामी सारा नेपाली यसरी नै पलभरका लागि सपना र कल्पनामा नै रमाउँदै बाँकी जीवन सन्त्रासमा बाँचिरहेका छौं। उपयुक्त कृषि र औद्योगिक नीति लिन नसक्ने अनि परनिर्भरतामा समृद्धि खोज्ने नेतृत्वका कारण हामी लगभग माग्ने भइसकेका छौं।
भ्रष्टाचार र आर्थिक चलखेल अब संस्कृतिकै रूपमा मौलाइरहेछ। मुलुकको राजनीति र जनताको अभिमतलाई ‘खिरपाक ताउली’ बनाएर मोजमस्ती गर्ने प्रवृत्तिले खोक्र्याएको मुलुकमा जनता दिनदहाडै आत्मदाह गर्दैछन्– गर्न खोज्दैछन् ! कोही साहुको ऋणले उठीबास लागेर सडकको बास गरिरहेछन्। यी सबैबीच के नयाँ वर्ष नयाँ उमंग लिएर आउन सक्ला ? आखिर कहिले आउला नयाँ वर्ष ? जनशून्य हुँदै गरेका गाउँहरूमा पुनः बस्ती बसाउने नयाँ वर्ष कहिले आउला ? नेपालीको साझा सपना फुलाउने सुनौला बिहानीजस्तो नयाँ वर्ष ! खै कहिले आउला त्यो नयाँ वर्ष ?