एमाले उपाध्यक्ष विष्णुले पौडेलले ग्रहण गरे सिस्नु
धनगढी : पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सुदूरपश्चिममा मात्र मनाइने विशु पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाइनु पर्ने बताएका छन्।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको विशु पर्व तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई धनगढीमा सम्बोधन गर्दै शुक्रबार नेता पौडेलले यस्तो बताएका हुन।
‘मलाई विशु पर्वका बारेमा थाहा थिएन, इञ्चार्ज कमरेड (लेखराज भट्ट) ले यसका बारेमा भन्नुभयो। अनि यसको महत्व हेर्दा यो सुदूरपश्चिमको मात्र होइन, यो राष्ट्रिय पर्व हुनुपर्छ’ उपाध्यक्ष पौडेलले भने। ‘सिस्नु लगाउनु थेरापी हो। सिस्नुको पोलाईले हानी गर्दैन। यसले शरीरमा नयाँ उर्जाको सञ्चार गर्छ।’
सुदूरपश्चिममा नयाँ वर्षको दिन विशुपर्व मनाइने गरिन्छ। विशुपर्वमा एकअर्कामा सिस्नु छ्याप्ने र वर्षभरी भएको मनमुटाव, नराम्रो कुरा त्यागेर नयाँ उमंगका साथ नयाँ वर्ष मनाउनुपर्छ भन्ने चलन रहेको छ। देशभरी नयाँ वर्ष मनाउने फरक फरक तरिका भएपनि सुदूरपश्चिममा भने सिस्नु छ्याप्दै नयाँ वर्ष मनाइन्छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा देवर–भाउजु, साथी साथीले एक अर्कालाई सिस्नु छ्याप्दै विसु पर्व मनाई रहेका बेला, तराईमा पनि यो पर्व सिस्नु छ्याप्दै धुमधामका साथ मनाइएको छ।
नेकपा एमालेको प्रदेश कमिटीले पनि धनगढीमा सिस्नु छ्याप्दै विसु पर्व मनाएको हो। पार्टीको ‘मिशन ग्रासरुट पनि चलिरहेको छ। कार्यकर्ताबीच एकअर्का प्रतिको मनमुटाव पनि हराओस्, सबैले सबैलाई शुभकामना पनि दिउन भनेर कार्यक्रमको आयोजना गरिएको नेकपा एमालेका प्रदेश ईञ्चार्ज लेखराज भट्टले बताए।
‘वितेको वर्षभरी भएका तिता कुराहरू बिर्सने गरी विशु मनाइने गरिन्छ। सिस्नु छ्याप्नु आफैमा थेरापी पनि हो। विशुको दिन सिस्नु छ्यापेको व्यक्तिबीच वर्षभरी मनमुटाव हुनुहुँदैन भन्ने मान्ता छ’ नेता भट्टले भने। ‘नेता कार्यकर्ताबीच पनि मनमुटाव हुनुहुँदैन।’
प्रदेश कमिटीले आयोजना गरेको विसु पर्व तथा नया वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले नेता कार्यकर्तालाई सिस्नु छ्यापेर रमाइलो गरेका थिए भने उनले पनि नेता कार्यकर्ताले लगाएको सिस्नु ग्रहण गरेका थिए।
नेकपा एमालेका सुदूरपश्चिम सहईञ्चार्ज कर्ण बहादुर थापाले परम्परादेखि चलि आएको संस्कृति जगेर्ना गर्ने दायित्व पार्टीको पनि भएकाले धनगढीमा प्रदेश स्तरको विशु पर्व मनाएको बताए।
नयाँ वर्षको दिन सिस्नु नलाए विष हुने, वितेका वर्षका जस्ता दुखकष्ट नयाँ वर्षमा आई रहने मान्यता छ। सिस्नुको पोलाईले शरीरमा नयाँ उर्जा दिने भएकाले पनि पुराना दुःख कष्ट मनमुटाव बिर्सेर नयाँ उमंगका साथ विसु पर्व मनाउने परम्परा रहेको नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए।
छ।
समाजमा झैझगडा भएर बोचचाल बन्द भएकाहरू, मनमुटाव भएकाहरू पनि विसु पर्वका दिन सिस्नु छ्यापेर बोलचाल सुरु गर्ने र मनमुटाव हटाउने प्रचलन छ। रमाइलोका लागि बढी जसो देवर भाउजु र साथी–साथीले एक अर्कालाई सिस्नु छ्याप्दै रमाइलो पनि गर्ने गर्छन्।
विसु पर्वका दिन एकै ठाउँमा भेला भएर सिस्नु छ्याप्ने, नाचगान गर्ने, मिठा मिडा परिकार खाने गरी रमाइलो गरिन्छ।