लोप हुँदै विश्वकै सानो नौमुठे गाई

पछिल्लो समय नौमुठे गाईलाई उन्नत बनाउने भन्दै ‘क्रस’ गराउन थालिएको छ। अन्य उन्नत जातका जर्सी साँढेसँग क्रस गराएर बाच्छाबाच्छी उत्पादन गराउन थालिएको छ।
अछाम : लोकसेवामा सोधिने प्रश्न हो– नौमुठे गाई कहाँ पाइन्छ ? उत्तर हो, अछाम। तर, यो गाई आजभोलि अछाममा पनि भेट्टाउन गाह्रो छ। विश्वकै होचो कदको यो गाई लोपोन्मुख हुँदै गएको छ। यसको संरक्षण नहुने हो भने लोकसेवाको प्रश्नमा मात्रै यो गाई भेटिने सम्भावना देखा पर्दैछ।
नौमुठे गाई नेपालमा पाइने गाईका जातहरूमध्ये सबैभन्दा सानो र होचो कदको हो। यो गाई अछाममा उत्पत्ति भएको विश्वास गरिन्छ। अछाम जिल्लामा धेरै पाल्ने गरिन्छ। त्यसैकारण यसलाई (अछामी) गाई पनि भनिन्छ। अर्थात्, यो गाई जिल्लाको पहिचानसँग पनि जोडिएको छ।
फाट्टफुट्ट रूपमा बझाङ, बाजुरा र डोटीमा पनि यो गाईपालन गरिन्छ। यो गाई खुट्टादेखि जुरोसम्म मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी अग्लो हुन्छ। त्यसैकारण यो गाईलाई नौमुठे नामकरण गरिएको स्थानीय वुद्धिजीवीहरू बताउँछन्।
विश्वकै सानो गाई
यो गाई विश्वकै सबैभन्दा सानो जातमा गणना गरिएको छ। यसको आकार र तौल अरू गाईभन्दा निकै कम हुन्छ। यसको कसिएको पातलो र तिखो नभएको सिंग हुन्छ। साढेको जुरो हुन्छ भने गाईको जुरो हुँदैन। यो गाई चलाख र जुझारु स्वभावको हुन्छ। यसको रंग प्रायः कालो हुन्छ। छाला नरम हुन्छ। गाईको अधिकतम तौल १ सय ५० केजीसम्म हुन्छ। प्रतिदिन दुईदेखि अढाई मानासम्म दूध दिने गर्दछ। अर्थात् १.५ देखि २ केजीसम्म दूध दिन्छ। चार वर्षमा यो गाई वयस्क हुन्छ। यो गाईको टाउको गोलो अन्डा आकारको हुन्छ। पाँच वर्षको उमेरमा पहिलो पटक बच्चा जन्माउँछ। बेतान्तर १२ देखि २४ महिनाको हुन्छ। औसत दूध दिने अवधि २ सय २५ दिनको हुने गरेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख झनकदत्त ढुंगानाले जानकारी दिए।
अछामको साँफेबगरका ८ वटा वडालाई यो गाईपालनका लागि पकेट क्षेत्रको रूपमा विकास गरिएको ढुंगानाले बताए। उनले भने, ‘नौमुठे गाईको संख्या घट्ने क्रममा छ। संरक्षणका दृष्टिले खतरामा छ। हाल यो गाई लोप हुन नदिन संरक्षणका केही कार्यक्रमहरू सञ्चालन गरिएका छन्।’ साँफेबगर नगरपालिकामा गाई संरक्षणसम्बन्धी जागरण कार्यक्रम, हिउँदे र बर्खेघास वितरणका कार्यक्रम सञ्चालन गरिएका छन्। यो गाईको दूध अन्य गाईको भन्दा निकै पोसिलो हुने पशुस्वास्थ्यकर्मी बताउँछन्। यो गाईलाई धार्मिक र पर्यटकीय महत्त्वको हिसाबले हेर्न थालिएको ढुंगानाले बताए।
गाई संरक्षणका लागि सबै किसानलाई तालिम, अनुदानका कार्यक्रम, आहारा, औषधि उपचार र गोठ सुधारका कार्यक्रम ल्याउन जरुरी रहेको पशु सेवा कार्यालयका प्रमुख ढुंगानाले बताए। ‘पशुपालनका लागि ७० देखि ७५ प्रतिशतसम्म सरसफाइमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘नौमुठे गाई थोरै दूध दिने भएकाले व्यवसाय गर्ने कृषकहरूले पाल्न रुचाउँदैनन्। यसको महत्त्व अझै हामीले बुझाउन सकेका छैनौं। प्रचारप्रसारको कमी देखिन्छ।’
जिल्ला पशुुसेवा कार्यालयको २०७७/०७८ को तथ्यांकअनुसार साँफेबगर नगरपलिकामा मात्र नौमुठ्ठे गाईको संख्या ८ सय ६३ छ। यो तथ्यांकमा बाच्छा, बाच्छी र साँढेको पनि संख्या समावेश गरिएको छ। तथ्यांकअनुसार साँफे– १ बैद्यनाथमा १ सय ३७, साँफे– २ जाल्पादेवीमा २ सय ४३, साँफे–४ मष्टामाण्डौमा ७६, साफे– १० घुघुरकोटमा १ सय १९, साँफे ११ बाब्लामा ५३ र साँफे– १२ खप्तडमा ९८ वटा गाई रहेको जिल्ला पशु सेवा कार्यालयका भेटेरेनरी अधिकृत वाल्मीकि जोशीले जानकारी दिए। अन्य पालिकामा रहेका नौमुठे गाईको तथ्यांक पशु सेवा कार्यालयसँग नरहेको जोशीले बताए। साँफेबगर पकेट क्षेत्र भएकाले त्यहाँको मात्र तथ्यांक राखिएको जोशीले बताए।
गाईपालक स्थानीय कालुसिं कुँवरले यो गाईको दूध निकै पोसिलो हुने गरेको बताए। ‘यो गाईलाई दिइने घाँसपातको तुलनामा यसले दिने दूध धेरै हुन्छ,’ कुँवरले भने, ‘यो गाईलाई राम्रोसँग स्याहारसुसार गर्न सकेमा उत्पादकत्व अझ बढ्न सक्छ। गाईको दूध निकै पोसिलो हुन्छ। १ सय ५० किलो तौल भएको यो गाईले दुईदेखि तीन मानासम्म दूध दिनु भनेको हजार किलो तौल हुने उन्नत जातको गाईले दिने दूधभन्दा तुलनात्मक रूपले निकै बढी हो।’ यो गाई भीरपाखामा बाख्रा जसरी सहजै चर्न सक्ने र थोरै लागतमा पाल्न सकिने उनले बताए।
नौमुठे गाईबाट जन्मेका बाच्छाहरू बलिया र फुर्तिला हुन्छन्। यसबाट जन्मिने बहर र गोरुले पहाडका साना खेत, गह्रा, कान्ला बारी सजिलैसँग जोत्न सक्छन्। यो गाईमा रोगसँग लड्न सक्ने क्षमता बढी हुन्छ। आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृितक महत्त्वले परिपूर्ण भएको मानिन्छ।
यो गाईलाई थोरै आहारामा पनि पाल्न सकिने साँफेबगर नगरपालिका पशु शाखाका प्रमुख पदमबहादुर थापाले बताए। ‘यो गाईको संख्या ज्यादै न्यून भएको र कृषकले पाल्न पनि छाडिसकेकाले करिबकरिब लोप भइसक्यो भन्दा नि हुन्छ,’ थापाले भने, ‘जिल्लामा थोरै संख्यामा यो जातका गाई छन्। संरक्षण गरिएन भने नौमुठे गाई अछाममा पाइन्थे भन्ने कुरा एकादेश कथाजस्तै हुनेछ।’
उन्नत जातसँग क्रस गराउने चलन
पछिल्लो समय नौमुठे गाईलाई उन्नत बनाउने भन्दै ‘क्रस’ गराउन थालिएको छ। अन्य उन्नत जातका जर्सी साँढेसँग क्रस गराएर बाच्छाबाच्छी उत्पादन गराउन थालिएको छ। यसैकारण यसको जातीय शुद्धतामा पनि ह्रास हुँदै गएको छ। ‘अहिले क्रस गराउने क्रम बढेको छ,’ उनले भने, ‘त्यसैकारण पनि नौमुठे गाईको प्रजाति लोप हुँदैछ।’ जिल्लाकै पहिचानसँग जोडिएको गाईको संरक्षण गर्न स्थानीय सरकारले कुनै पनि योजना नल्याएको थापाले बताए।
विगतमा विभिन्न एनजीओ/आईएनजीओले नौमुठेको संरक्षण र प्रचारप्रसारको लागि विभिन्न कार्यक्रम गर्थे। तर स्थानीय तह गठनपछि कार्यक्रम त परै जाओस्, विभिन्न ठाउँमा राखिएका जनचेतनामूलक होर्डिङ बोर्ड पनि हराएका छन्।
यो गाई लोपोन्मुख हुनुमा भौगोलिक विकटता, कृषकहरूमा जनचेतनाको कमी, न्यून उत्पादन क्षमतालगायतका कारण हुन्। यस गाईबाट आर्थिक रूपले कम फाइदा हुने हुनाले पनि किसानहरूले व्यावसायिक रूपमा यो गाईपालन गर्न रुचाउँदैनन्। यो प्रजातिको गाईको प्रजनन कुनै किसिमको रणनीति रहेको छैन। त्यसैले अन्य नश्लसँग क्रस प्रजननको सम्भावना अत्याधिक रहन्छ। यस नश्लको उत्पादकत्व कम हुने भएकाले बाहुल्य रहेको क्षेत्र अछाममा पनि यो उपेक्षित हुँदै आएको छ। विगतमा छोरीको विवाहमा दाइजोस्वरूप यो गाई दिने चलनले अन्य जिल्लामा पनि यो गाई पाउन थालिएको हो।
चीनतर्फ निर्यात बढ्यो
पछिल्लो समय लोपोन्मुख नौमुठे गाई चीनतर्फ तस्करी हुने गरेको पाइएको छ। अछामबाट बाजुरा हुँदै हुम्लाको नाका भएर चीनतर्फ मासुका लागि तस्करी हुन थालेको छ। जाडो छल्नका लागि आउने हुम्ला र मुगुका व्यापारीले अछामबाट सस्तोमा खरिद गरी नौमुठे गाई चीनमा बिक्रीका लागि लैजाने गरेका छन्।
एउटा गाई चार हजारदेखि पाँच हजारमा खरिद गरेर चीनमा १५ हजारदेखि २० हजारमा बिक्री वितरण हुने गरेको साँफेबगरकी मीना विकले बताइन्। उनले भनिन्, ‘धेरैजस्तो दूध दिन छोडेका नौमुठे गाईहरूलाई सस्तो मूल्यमा बिक्री गर्छन्। यहाँका स्थानीयभन्दा पनि बाहिरबाट आएका गाई, गोरु खरिद बिक्री गर्नेहरूले किन्छन्। मासुको लागि बाहिर देशतिर लैजान्छन् भन्ने सुनेका छौं। हिउँद याममा बाजुरा, मुगुलगायतका ठाउँबाट जाडो छल्न आउनेहरूले व्यापारिक प्रयोजनका लागि गाई लगेर तिब्बततिर बेच्ने गर्नाले पनि गाईको संख्या घट्दै गएको उनले बताइन्। यसको रोकथाम तथा संरक्षणतर्फ कसैको पनि ध्यान नगएको उनले बताइन्।
साँफेबगर नगरपालिका— ११ बाब्लामा केही संख्यामा मात्र गाई रहेको वडाध्यक्ष रूपबहादुर कुँवरले बताए। उनले भने, अब केही थोरै संख्यामा मात्र रहेको गाई संरक्षण नभएमा अबको केही वर्षमा सकिनेछन्। अहिले ४/५ वटा गाई यस वडामा छन् होला। सबभन्दा त गाई पाल्ने स्थानीयहरूले समेत यसको महत्त्व बुझ्न सकेका छैनन्। यसको महत्त्व बुझाउन जरुरी छ। स्थानीय सरकारले यसको संरक्षणका लागि कार्यक्रम ल्याउनु पर्छ।
अब पहल गर्न आवश्यक देखियो।’ स्थानीय सरकार आइसकेपछि त्यतातिर कसैको पनि ध्यान जान नसकेको साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले बताए। अछामको पहिचानसँग जोडिएको नौमुठे गाईको संरक्षणका लागि कार्यक्रम बनाएर अगाडि बढ्ने बताए। उनले भने, ‘यो निकै महत्त्वपूर्ण विषय हो, हाम्रो पहिचानसँग जोडिएको विषयलाई संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो त्यसैले यो दायित्व पूरा गर्नेतर्फ योजनाबद्ध तरिकाले लाग्न आवश्यक छ।’
नौमुठे गाई पाल्ने कृषकलाई प्रोत्साहन गर्न सके मात्रै पनि संरक्षण गर्न सकिने साँनपा—१० घुघुरकोटका वडाध्यक्ष ललित बोगटीले बताए। उनले भने, ‘मेरो वडामा पनि नौमुठे गाई छन्। तर यति संख्यामा छन् भन्न सकिने अवस्था छैन मेरो वडामा गौशाला पनि छ, यस्तो गौशालालाई अनुदान दिएर नौमुठे गाई संरक्षणतर्फ लाग्नुपर्छ जस्तो लाग्छ। नौमुठे गाई पाल्नेलाई प्रोत्साहन गर्नुपर्यो। वडासँग त त्यति धेरै बजेट नै हुँदैन। तथ्यांक संकलन गरेर प्रोत्साहनका कार्यक्रमहरू गर्नुपर्छ। प्रचारप्रसार यसको महत्त्वको विषयमा पनि बुझाउनु पर्यो।’
चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले पालिकामा कति सख्यामा गाई छन् भन्ने यकिन जानकारी नभएको बताए। उनले भने, ‘गाउँपालिकाबाट तथ्यांक संकलन गरेका छैनौं। जिल्ला पशु सेवा कार्यालयसँग पनि छैन। अब पालिकाले तथ्यांक संकलन गर्ने र संरक्षणको कार्यक्रम अगाडि बढाउने छौं।’ रैथाने बाली संरक्षण गरे जस्तै यदि पालिकामा नौमुठे गाई रहेको पाइएमा संरक्षण र प्रचारप्रसारको कार्यक्रमहरू बनाएर लाग्ने उनले बताए। नौमुठे गाई अछामका जाल्पादेवी, बैजनाथ, घुघुरकोट, खप्तड, बुढाकोट, बाब्ला, मष्टामाण्डौ र देवीस्थानमा पाइन्छ। यस प्रजातिको गाईको दूध तथा गहुँतलाई औषधिजन्य रूपमा पनि लिइन्छ।
प्रतिक्रिया दिनुहोस !
