हरूले देश, समाज र आफ्नो संस्कार र संस्कृतिका विषयहरू उठान गरेका छन्।
देशभन्दा पर रहेर पनि नेपाली–वाङ्मयलाई माया गर्ने स्रष्टाको जमात ठूलो छ, नेपाली साहित्यको वृत्तमा। कठोर परिश्रम गरेर स्वदेशमा रेमिट्यान्समात्र पठाउँदैनन्, साहित्य कर्ममा पनि तल्लीन रहन्छन्। समय उभारेर भए पनि साहित्य साधना गर्छन्। यसरी केही वसन्तदेखि दक्षिण कोरियाबाट केही सर्जकले ‘इत्तर आवाज’ नामक साहित्यिक आन्दोलन चलाइरहेका छन्। जसको प्रमुख शीर्षबिन्दुमा कवि पराजित पोमु छन्। जो राज्यसत्ताले दमनमा पारेका आवाजविहीनहरूको आवाज निरन्तर बोलिरहेछन्। किनारामा पारिएका भुइँमान्छेहरूका पीडा र व्यथाहरू ओकलिरहेका छन्। पृथक् सोच र विचारका साथकाव्यिक आन्दोलनमा जबर्जस्त सरिक भइरहेका छन्।
पोमुद्वारा लिखित कविता संग्रह ‘मद्वारा मेरो निर्माण’ भर्खरै फिनिक्स बुक्सले बजारमा ल्याएको छ। तीन अध्यायमध्ये पहिलोमा ‘अस्तित्वको तङ्सिङ’ छ। जसमा ‘मद्वारा मेरो निर्माण’, ‘चराहरू’, ‘उपस्थिति’, ‘साधारण मान्छे’, ‘असहमति’ ‘टापुको गीत’, ‘विज्ञापन’, ‘अध्याय’, ‘बिरामी बतास’, ‘अनुरोध’, ‘ॐ मणि पद्ये हुँ’, ‘एकदिन’, ‘प्रत्याशित’, ‘महसुस’, ‘फूल र सानी केटी’, ‘ट्रेन’, ‘बोध’, ‘समय–यात्रा’, ‘सहअस्तित्व’ ‘मृत्युको घोषणा’ ‘सालिक’ आदि शीर्षकका २१ कविता छन्। विभिन्न विषयवस्तु र सन्दर्भमा सिर्जित कवितामा मुन्धुमी मिथकहरूको आधिक्यता पाइन्छ।
‘तङ्सिङ’ लिम्बू जातिको सबैभन्दा ठूलो सांस्कृतिक अनुष्ठान हो। ग्रहदशा आदिबाट बच्न स्वस्तिशान्तिका लागि तीनराते तङ्सिङ गर्ने प्रचलन छ। तङ्सिङ अनुष्ठानहरू मुन्धुमका शास्त्रज्ञ फेदाङमा, साम्बा र येबा येमानीहरूले मुन्धुम फलाकेर सम्पन्न गर्छन्। यहाँनेर कविको विचारमा आफ्ना समुदायमा धेरै पाप, अपराध, व्यभिचार, विकृति र विसंगतिले घर गरेको छ। अब यसको अन्त्यको लागि तङ्सिङ गर्नुपर्ने विचार बिम्बात्मक रूपमा सम्प्रेषण गरेका छन्। विद्यमान मुलुकभित्रका विभिन्न रूढ संरचनाहरू शासक वर्गले जबर्जस्त निर्माण गरिदिएकाले यहाँका परिवेश सुहाउँदो भएन। यस भूमिका रैथानहरूको अनुकूलतामा हुन सकेन तसर्थ अब त्यसको विघटन गरी स्वयं आफूहरूले नै पुनर्निर्माण गर्नुपर्छ भन्छन्।
विशेष गरेर ‘मद्वारा मेरो निर्माण’ र ‘उपस्थिति’ शीर्षकको कवितामा अस्तित्ववादी विचारहरू सल्बलाएका छन्। पाश्चात्य दार्शनिक रेने डेस्कार्डसले भनेजस्तै ‘म सोच्छु, त्यसैले म छु’ भनेर व्यक्ति स्वतन्त्रताको आवाज मुखरित गरेका छन्। स्वायत्तताको दर्बिलो वकालत गरेका छन्। आफू हुनुको अस्तित्व बोध गराएका छन् ‘म’ भनेर आफू भएको उपस्थिति ‘जीवन’ र ‘मृत्यु’ अनुपस्थितिको दार्शनिक तर्क अघि सारेका छन्। कविताहरूमा आफ्नो स्वदेश, स्वभाषा र स्वसंस्कृतिको मुद्दाहरू गम्भीर ढंगले उठान गरेका छन्।
संसारको जुनसुकै ठाउँमा पुगे पनि मातृभूमि र स्वदेशलाई कहिल्यै पनि विस्मरण गर्नु हुन्न। आफ्नो देशलाई आपत्विपत परेको खण्डमा काँध थाप्न तयार हुनुपर्छ भन्ने राष्ट्रवादी विचारले लपक्क भिजेका छन् कविताहरू। विविधता भएको मुलुकभित्र एकता चाहिन्छ भनेर समानताका स्वरहरू बुलन्द गरेका छन्। कविताहरूमा सर्वसाधारण भुइँमान्छेका कथा, व्यथा र गुनासाहरू प्रस्तुत भएका छन्। मुलुकभित्र आन्तरिक सांस्कृतिक उपनिवेश भयो भनेर असहमति प्रकट गरेका छन्। मुलुक समृद्ध हुनु भनेको देशभित्रका सबै जाति, भाषा, लिंग र क्षेत्रका मानिस समृद्ध हुनु हो। यसरी देश समृद्ध हुन सम्पूर्ण समुदायहरू समृद्ध हुनुपर्छ भन्ने तर्क पेस गरेका छन्। सहअस्तित्वले मात्र देशमा सुख शान्ति हुन्छ भन्ने काव्यिक दृष्टिकोण अघि सारेका छन्।
दोस्रो अध्याय ‘अम्लारी मन’ मा ‘अम्लारी फूल’ मुन्धुमअनुसार प्रेमको प्रतीक फूल हो। प्रेम गर्ने प्रेमील जोडीहरूले ‘अम्लारी फूल’ दिएर प्रेम प्रस्ताव राख्यो भने त्यो प्र्रेम असफल हुँदैन भन्ने मुन्धुमी विश्वास छ। यस अध्यायमा ‘अम्लारी मन’, ‘मौन प्रेम’, ‘नायुमा’, ‘युप्पारुङ’, ‘मन’, ‘हेल्लुक्वा’, ‘सुधारगृहको आवाज’, ‘अभिभाज्य’, ‘पूर्णता’, ‘मध्यरातको जून र सागर’ आदि शीर्षकमा नौ कविता संग्रृहीत छन्। अघिल्लो अध्यायको जस्तै मुन्धुमी मिथकहरूको यथेष्ट प्रयोग पाइन्छ। ‘नायुमा’ शीर्षकको कवितामा त्तुत्तुतुम्याहाङ भन्ने मिथक प्रयोग गरिएको छ। मुन्धुमअनुसार त्तुत्तुतुम्याहाङ भनेका समाजका गन्यमान्य भद्र भलादमी हुन्।
मुन्धुममा त्तुत्तुतुम्याहाङहरूको उत्पत्ति सृष्टि सँगसँगै भएको र उनीहरू आदिकालमा लिलिपुटे थिए भनिन्छ। उनीहरू खुर्सानीको बोटमा झटारो हान्थे, बाख्राको बड्क्यौलामा भारी बिसाउँथे, गोब्रे च्याउमा ओत लाग्थे, जुम्राको मासु काट्थे, उन्युँको बोटलाई बन्चरोले ढाल्थे। उनीहरू नै खास आदिम भूमिपूत्र हुन् भनेर मुन्धुममा व्याख्या गर्ने गरिन्छ। सावायेत्हाङ अर्को महत्त्वपूर्ण मुन्धुमी मिथक हो। जसमा उहिले सुत्छुरु सुहाङफेबा र तेत्लालामा
लाहादङ्ना चेली माइतीबीच हाडनाता करणी भयो। त्तुत्तुतुम्याहाङहरूले अबदेखि कहिल्यै पनि चेली माइतीबीच हाडनाता करणी नगर्नू भनेर छुट्ट्याए। उनीहरूको सन्तान १७ जनालाई चाल्नीमा हालेर चाल्दा आठजना माथि रहे। माथि रहनेहरू बाबु सुहाङफेबाको भागमा परे तिनीहरूलाई नै पेगिफाङसाम भनिन्छ भने तल खसेका आठजना सावायेत्हाङ कहलिन्छन्। बीच चाल्ीनमा अड्किने चाहिँ येबाहरूको गुरु सिरे हुन्छ। यसरी मुनि खस्ने आठ भाइ मिक्नुसो लुम्बाहाङ, मुधिङ्गे साङ्लेकहाङ्, नियारा थोक्चङ्हाङ, लालासो पाङबोहाङ, फुरूपसो थेजङहाङ, सगिम्सो सङ्मिहाङ, खेत्चुयेत् उप्पानहाङ, सेत्छेरे सेनिहाङ आदि।
यी आठ राजाको बसोबास भएको ठाउँलाई नै मुन्धुममा सावायेत्हाङ गाउँ भनेर सम्बोधन गरिन्छ। यस गाउँबाट नै लिम्बू जातिको भाषा, साहित्य, संस्कृति र मुन्धुमहरू विकसित भएको पाइन्छ। कतिपय लिम्बू थरीहरूको मिङस्रा (पुर्खा) भनेर आठभाइलाई नै पुकार गर्ने गर्छन्। लिम्बू मुन्धुममा सावायेत्हाङहरूको सर्वोपरि महत्त्व छ। कविले ‘माङगेन्ना’ गरेर आफ्नो देशको शिर उठाउनी गर्नुपर्ने सांस्कृतिक बिम्बको प्रयोग गरेका छन्। ‘युप्पारुङ’जस्ता सांस्कृतिक बिम्बमार्फत नारी स्वतन्त्रताको मुद्दा उठाएका छन्। प्राय : जसो सबै कवितामा आफ्नै सांस्कृतिक, जातीय मिथकहरूको प्रयोगले कविता उजिल्याएका छन्।
तेस्रो अध्याय समयको चो : त्लुङ अध्यायमा ‘हिउँ परेको रात’, ‘बन्दरगाह’, ‘फिलिङ्गो फूल’, ‘माटोको गीत’, ‘पुतलीको दरबार’, ‘राग्ये गाउँ’, ‘मेसिनको संगीत’, ‘धुवाँको आकृति’ आदि शीर्षकका कविता छन्। लिम्बू भाषामाचो : त्लुङ भन्नाले शिर हो। नेपालीको चो : त्लुङ विभिन्न कारणले ढलेकाले उठाउनुपर्ने विचार कवितामा छ। अबन्याय, समानता र मानवअधिकारको पक्षमा उभिनुपर्ने दार्शनिक तर्क कविको छ। अधिक कविता वीर रसमा सिर्जिएका छन्। सिमान्तमा बाँचेका, हेपिएका पेलिएका, पिँधमा पारिएका निम्छरा समुदायहरू आन्दोलनमा उत्रिन लागेको संकेत छ।
कविताहरूले देश, समाज र आफ्नो संस्कार र संस्कृतिका विषयहरू उठान गरेका छन्। काव्यमा तत्सम् र तद्भव भाषाभन्दा आगन्तुक भाषाको आधिक्यता पाइन्छ। तथापि कविताहरूमा मिथकहरूको सही प्रयोग नहुनु, उपयुक्त बिम्बहरूको निर्माण नगरिनु कविको कमजोर पक्ष हुन्।