कला र संस्कृतिले विश्वलाई जोड्न सक्छ
हामी शरणार्थीको व्यवस्थापनका विषयमा त काम गर्न सक्दैनौं त्यो नीतिगत कुरा भयो। हामीले सरकारलाई घचघच्याउने, यसो गरे बेस होला भनेर सुझाव दिनेमात्रै हो।
भुटानको सुरे गोङखोलामा जन्मिएका डिल्ली अधिकारी सात वर्षको उमेरमै परिवारसहित भुटानबाट लखेटिए। नेपाली भाषा, संस्कार, संस्कृति भनेपछि हुरुक्कै हुन्छन् उनी।
पुनर्वास प्रक्रियापछि उनी अमेरिकामा बस्छन्। उनलाई जहाँ पुगे पनि नेपाल जोडिरहन मन लाग्छ। त्यसैले विश्वभरका नेपाली कलाकारलाई समेट्दै नेपालको कला र संस्कृतिसँगै विश्वलाई जोड्ने परिकल्पना गरे, ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ कार्यक्रमबाट।
प्रतिस्पर्धाबाट विजयी बन्नेले एक करोड पुरस्कार पाउने घोषणा गरे। तिनै कार्यक्रमका परिकल्पनाकारसमेत रहेका इन्टरनेसनल वेलफेयर अफ स्पोर्टस् फाउन्डेसन अफ अमेरिका (इन्ट्रा फाउन्डेसन) का संस्थापक अध्यक्ष अधिकारीसँग अन्नपूर्णकर्मी रविन भट्टराईले गरेको कुराकानी :
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ के हुन् ?
नेपाली भाषा, संस्कृति र परम्परा बृहत् बनाउन विश्वले थाहा पाउनेगरी केही न केही गर्नैपर्छ भन्ने सोचले यी कार्यक्रमको परिकल्पना भएको हो। मेरो पहलमा इन्टरनेसनल वेलफेयर अफ स्पोर्टस् फाउन्डेसन अफ अमेरिका (इन्ट्रा फाउन्डेसन) स्थापना भएको छ। यसकै आयोजनामा नेपाली भाषा र संस्कृति जगेर्नाका लागि ‘रियालिटी सो’ लाई माध्यम बनाउने योजना बनाए। जुन सोको प्रभाव ‘विश्वभरका नेपालीमाझ सहजै पुग्छ’ भन्ने मेरो उद्देश्य पनि हो। सोहीअनुसार सफल ढंगले चलिरहेका छौं।
नेपाललाई विश्वमा जोड्न ‘रियालिटी सो’ कै छनोट किन गर्नुभयो ?
प्रारम्भमा अमेरिकामा बसोबास गर्ने नेपाली भाषी केन्द्रित गरेर ‘भ्वाइस अफ यूएसए’ र ‘मेरो डान्स अफ यूएसए’ गरें। ‘मेरो डान्सको सिजन–४’ पनि सकें। कला र संस्कृतिले सबैको मन छुन्छ। हामी त भाषा र संस्कार, संस्कृति मान्न पाउनुपर्छ भन्दा भुटानबाट लखेटिएका मान्छे। यो दर्दको मलम पनि त हो यस्ता कार्यक्रम। त्यसैले छानें।
मैले धेरै रियालिटी सो गर्दा अमेरिकाबाहेकका मुलुकमा बस्ने नेपालीले ‘हामीचाहिँ कार्यक्रममा कसरी सहभागी हुने ?’ भनेर प्रश्न गरिरहेका थिए। कार्यक्रमप्रति विश्वभरका नेपालीले चासो दिन थालेपछि ‘अब सबै नेपाली समेट्ने गरी कार्यक्रम बनाउनुपर्छ’ भन्ने सोचें। विश्वभरका नेपाली समेट्न कार्यक्रमको दायरा फराकिलो बनाउनुपर्ने भन्ने लागेर कार्यक्रमको जन्म भयो।
कार्यक्रमको आयोजना गरिरहँदा विश्वभरबाट कस्तो साथ र प्रतिक्रिया पाउनुभएको छ ?
विश्वभरका नेपालीलाई गीतसंगीतका माध्यमबाट जोड्ने र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्य नै हो मेरो। यो कार्यक्रमले विभिन्न देशमा छरिएर बसेका नेपालीलाई ‘एकअर्कासँग जोड्छ’ भन्ने विश्वास छ। इन्ट्रा फाउन्डेसनकै आयोजनामा सुरु कार्यक्रम अहिले अन्तिम चरणमा छ। जनवरीदेखि ‘फिल्ड अडिसन’ सुरु गरेका थियौं।
बेल्जियम, दुबई, सिलगुढी, थाइल्यान्ड, अस्ट्रेलियालगायत मुलुकमा ‘फिल्ड अडिसन’ सकेर नेपालको झापास्थित बिर्तामोड, बुटवल, नेपालगन्ज र काठमाडौंमा पनि ‘फिल्ड अडिसन’ गर्यौं। विश्वभरबाट १ सय २० जना छानिएका छन्। काठमाडौंमा राखेर प्रशिक्षण पनि दियौं। विश्वभर रहेका नेपालीले धेरै राम्रो साथ दिनुभएको छ। प्रतिक्रिया पनि राम्रो छ। यो नै हाम्रो हौसला हो।
कस्तो प्रस्तुति दिनुपर्छ सहभागीले ? अनि, विश्वभरबाट सहभागी छान्नुभयो, पुरस्कारको व्यवस्था पनि त होला नि ?
कार्यक्रममा सहभागी हुनेले ‘टिपिकल’ नेपाली गीत गाउनु पर्नेछ। यहाँ र्याप गाउन पाइँदैन। टिपिकल नेपाली गीत नै गाउनुपर्ने नियम बनाएका छौं। विजेतालाई एक करोड पुरस्कार दिने घोषणा गरेका छौं। सम्भवतः नेपालमा हालसम्मकै ठूलो पुरस्कार पनि हो यो।
कति रियालिटी सो त ‘पैसा कमाउनकै लागि सञ्चालन हुन्छन्’ भन्ने सुनिन्छ नि।
होला, अरूले गरे पनि होलान्। तर, दाबीका साथ भन्छु यो कार्यक्रम पैसा कमाउन होइन। फाउन्डेसन परोपकारी संस्था भएकाले कार्यक्रम गर्दा यदि पैसा उभ्रियो भने परोपकारी काममै खर्च गर्ने योजना छ। त्यो पनि नेपालमा नै। इन्ट्राले पहिल्यैदेखि पूर्वी नेपालको शरणार्थी शिविरमा रहेका बालबालिकालाई पढाउने काम गर्दै आएको छ भने वृद्धवृद्धालाई प्रतिमहिना पाँच हजारका दरले सहयोग गर्दै आएको छ। उद्देश्य भनेकै विश्वमा नेपालको कला संस्कृति जोड्ने हो।
यो कार्यक्रमको परिकल्पना गरेर सञ्चालन गरिरहँदा चुनौती कतिको आए ?
नेपाल विश्वमै फरक संस्कार, संस्कृति भएको मुलुक हो। प्रचार अभावमा विश्वभर पुग्न सकेको छैन। संस्कारमा हुर्किएका नेपाली विश्वभर छरिएर रहेका छन्। उनीहरूमा पनि कला छ। तर, उनीहरूको त्यो कलाको सम्मान कहिले पनि हुन सकेन। अहिले हाम्रो उद्देश्य र लक्ष्य भनेकै विश्वभर रहेका नेपालीका छोराछोरीको कलालाई उजागर गर्दै विश्वमा नेपाललाई जोड्न लागेका हौं। यो काम त्यति सजिलो होइन। तर, धेरैले साथ दिनुभएको छ।
त्यसैले इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा यी दुई प्रतियोगिता सञ्चालन गर्न सक्षम छौं। जसमा प्रतिस्पर्धा गर्न संसारका ५० भन्दा बढी देशबाट छानिएका नेपाली कलाकार काठमाडौं पनि आए। संसारमा छरिएका नेपालीलाई पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौंपुस्ता जोड्ने अवसर नेपालकै गर्वको विषय हुनुपर्छ।
चुनौती पनि त सामना गर्नुभयो होला नि ?
अब चुनौतीका कुरा, परिकल्पना गरेपछि असम्भव त हुँदैन। तर, अझै पनि नेपालमा खुट्टा तान्ने प्रवृत्ति रोकिएको छैन। केही गर्छु भन्नेले सहजै गर्न सक्दैनन्। हामीले पनि नेपालमा संस्था दर्ता नगरेको भए यो सम्भव दिएन। यहाँका कलाकार साथीहरूले पनि साथ दिनुभयो। अहिले त सहजै छ।
भनिन्छ, ‘सत्कर्म गर्नेले डराउनु हुँदैन।’ त्यसैले नराम्रो काम नगरेकाले जस्तै चुनौती आए पनि सामना गर्न तयार छु। टिम काम सफल बनाउन प्रयासरत नै छ। सबै विधान, नियम र कानुन पालना गरेर लागेकाले शिर उच्च राखेर काम गरिरहेका छौं।
फरक सन्दर्भ जोडौं। नेपालमा भुटानी शरणार्थी जीवन पनि बिताउनुभयो। भुटान छाड्दा कति वर्षको हुनुहुन्थ्यो ? जन्मभूमि छाड्दाको
दिन याद छ ?
त्यस्तै सात वर्षको थिएँ। त्यहाँ हुँदा भुटानी सरकारले दिएको पीडा त याद छैन। बाबाआमाले दिएको मायाले होला, देखिनँ। तर, जब त्यहाँबाट हामीलाई खेदाइयो अनि मात्रै देश छाड्दाको पीडा थाहा पाएँ। जब नेपालको शिविरमा आएँ त्यहाँबाट मेरो संघर्ष सुरु भयो। धेरै बिरामी भएँ त्यहाँ। कतिको त त्यहाँ एकजना मात्रै रहेर परिवार नै सकिएको पनि देखें। रूखको फेदमा बाँसले बारेको विद्यालयमा गएर पढ्नुपर्ने बाध्यता
थियो हाम्रो। भुटानमा शिक्षा राम्रो थियो। त्यहाँ पढेका दाइदिदीले शिविरमा पढाउनु भएको थियो। हतियार शिक्षामात्र थियो। त्यसैले ध्यान दिएर पढें।
पछि यूनएनएचसीआरले पनि शिक्षाको व्यवस्था गर्यो। अनि धेरैभन्दा धेरै त्यहाँका युवाले शिक्षा आर्जन गर्ने मौका पाए। त्यहाँ शिक्षा लिएकाहरूले देशका विभिन्न स्थानमा पुगेर निजी विद्यालयमा शिक्षा दिए। नेपालमा निजी विद्यालयको शिक्षाका लागि शरणार्थीहरूको भूमिका महत्त्वपू्र्ण छ।
आफ्नै उमेरका शिविर बाहिर नेपाली बालबालिका खुलस्त रूपमा खेलेको, डुलेको देख्दा कस्तो लाग्थ्यो त्यो शिविरको बारबाट चिहाउँदा ?
बाहिरका बालबालिकामा घुलमिल हुँदैनथियो। धेरैले माया गरेर सुपारी खान पनि दिनुहुन्थ्यो। अर्कै संसारमा बसेजस्तो महसुस हुन्थ्यो। कसैले त बाहिर निस्कँदा खेदाउनु पनि हुन्थ्यो। शिविरमा रहँदा अनेकौं प्रकारका जीवन जिउनु पर्यो। म त्यहीं शिविरमा हुर्किएँ र १७/१८ वर्षको उमेर त त्यहीं बिताएँ। नेपाली भाषाको लडाइँ गरेर जन्म भूमिबाट खेदाइँदा पनि यहाँ नेपालले सहानुभूति राम्रो देखाएन। अर्कै मुलुकको जस्तो भावना राखिन्थ्यो।
शिविरमा हुर्कंदै गर्दा भविष्यको चिन्ता पनि हुन्थ्यो होला, छटपटी कतिको हुन्थ्यो ?
हाम्रो मुख्य काम शिक्षा लिने थियो। जग्गा जमिन नहुँदा, घर नहुँदा हाम्रो सम्पत्ति नै शिक्षा ठानेर यसबाटै भविष्यमा केही गर्न सकिन्छ भन्ने सोचें। भविष्यको चिन्ता मजस्तै धेरै युवालाई थियो। त्यहीं राम्रो शिक्षा लिएकाहरू केही आम्दानी होला भनेर नेपालका विभिन्न स्थानमा पुगेर शिक्षक बनेर निजी विद्यालयमा पनि काम गरे। तर, म त्यसरी कहीँ गइनँ। पढेर केही गर्छु भन्ने मात्रै सोचाइ थियो त्यसैले अध्ययनलाई नै प्राथमिकता दिएँ।
अहिले सम्झन्छु– त्यो अवस्थामा मैले यस्तो अवस्थामा पुग्छु होला भनेर सोचेकै थिइनँ। हामी निश्चित घेरामा बस्नुपथ्र्यो। कुनै दातृ निकायले हाम्रो विकासका लागि सहयोग गर्छु भन्दा पाउँदैन थिए। त्यसैले हामी खुम्चिएर बस्नुको विकल्प थिएन। मैले एसएलसी त्यहीँबाट दिएँ। उच्च शिक्षा भारतका विभिन्न कलेजबाट लिएँ।
यसरी सामाजिक काम गरौं भन्ने भावना कहाँबाट पलायो ? उच्च शिक्षा लिँदालिँदै आउनुभयो पुनः शिविरमा ?
एमबीए गरेपछि पुनः शरणार्थी शिविरमा फर्किएँ। त्यसपछि तीन वर्ष त्यहीं शिविरमा निस्वार्थ सेवा गरें। त्यहाँ रहेका शरणार्थीहरूको हितमा के गर्न सकिन्छ भनेर सोचें।
यसबीचमा कुनै समय भुटान जाउँ जस्तो लागेन ?
आफू जन्मेको ठाउँमा कसलाई नजाऔं जस्तो लाग्छ र ? तर, हामीलाई आतंककारी जस्तो व्यवहार गरेको थियो। जान सक्ने अवस्था थिएन। त्यहाँको माटो हावापानी र गाउँघरको माया लागे पनि शासकको डरले नै फर्कन सकिने। किनकि त्यहाँ जानसाथ पक्राउ गरिहाल्थ्यो।
अहिले पुनः फर्कन पाइएला ? अवस्था परिवर्तन होला ?
त्यस्तो त लाग्दैन। किनकि यो समस्या समाधान गर्न नेपाल सरकारले चासो नै दिएन। राजनीतिक तरलताले हामीलाई पनि असर गर्यो। हाम्रो समस्या समाधान गर्नुपर्छ भने मुख्य बुँदा र मुद्दा नेपालको कहिले बनेन। नेपाली भाषीले दुःख पाए। त्यहाँको सरकारले खेदायो भनेर कुनै सरकारले चासो दिएनन्। हुन त आफ्नै देशका नागरिकले पाएको समस्यामा त सरकार गम्भीर बन्न सकेको छैन। यहाँ बेरोजगारीको पीडा छ।
नागरिक भोकभोकै मर्न बाध्य छन्। दैनिक सैंयौं युवा बेरोजगार बनेर धन कमाउने आशामा बिदेसिएका छन्। भ्रष्टाचार मौलाएको छ। केही गर्छु भन्नेलाई काम गर्न दिइएको छैन। अनि हाम्रो मुद्दामा नेपाल सरकार गम्भीर होला भन्ने त सोच्न पनि सकिँदैन। बरु हामीलाई र हाम्रा समस्यालाई मुद्दा बनाएर कताबाट के फाइदा लिन सकिन्छ भन्ने मात्रै सोचिँदो रहेछ। त्यसैले अब भुटान फर्कन पाइन्छ। हाम्रो माग र भावनाको सम्बोधन हुन्छ होला भन्ने त सोचेको पनि छैन। अब भुटानी शरणाथीका समस्या समाधान गर्न जे जति प्रयास भए यति नै होला। हामीले नै अब नेपालमा रहेकालाई केही सहयोग गरे पाउलान्, तर सरकारी तवरबाट त सम्भव छैन।
यसबाहेक भुटानी शरणार्थीको हकहितका लागि अमेरिकामा रहेर के काम गरिरहनुभएको छ ?
सामाजिक संस्थामार्फत नेपालमा नै रहेका भुटानीका लागि विभिन्न समयमा खाद्यान्नलगायत धेरै कुरामा सहयोग गरेको छु। कोरोनाकालमा त हामी अझै बढी सक्रिय भएर काम गरेका छौं। अर्को कुरा हामी अमेरिकामा रहे पनि यहाँ रहेकाहरूका विषयमा धेरै सोच्छौ। केही गरौं भन्छौं।
हामी शरणार्थीको व्यवस्थापनका विषयमा त काम गर्न सक्दैनौं त्यो नीतिगत कुरा भयो। हामीले सरकारलाई घचघच्याउने, यसो गरे बेस होला भनेर सुझाव दिनेमात्रै हो। आवश्यक परेको समयमा भुटानी शरणार्थीको समस्या साथ दिन जहिले पनि हाजिर छौं। तर, आफ्नो मातृभूमिमा आउँदा पनि विदेशी नागरिकजस्तो भएर आउनुपर्ने अवस्था अझै छ। यसको अन्त्य गर्न तथा सबै देशमा रहेका गैरआवासीय नेपालीहरूलाई समान मान्यता दिन यससम्बन्धी कानुनमा आवश्यक संशोधन गर्न हामीले सरकारलाई बारम्बार आग्रह गरेका पनि छौं। यो अवस्था नरहे धेरै सहज हुनेथियो।