मोरङमा ट्याक्टर दुर्घटना : वृद्धाको मृत्यु, १८ जना घाइते
विराटनगर : मोरङको रंगेली नगरपालिका-३ आमतोलामा शनिबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ। ट्याक्टरमा सवार १८ जना घाइते भएका छन्।
तेतरिया-आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १-०१-००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर बिहान १०:१० बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका- ५ की ६० वर्षीया वैशाखी चौधरीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका- ३ की २० वर्षीया जानकीकुमारी माझी, ग्रामथान-५ की ४० वर्षीया किचनीवती चौधरी, रंगेली -२ की सुनवर्ती चौधरी, २७ वर्षीया जितनी चौधरी, उनका छोरा ३ वर्षीय रायन चौधरी, ग्रामथान -५ की ४३ वर्षीया पूर्णसरी चौधरी, ५० वर्षीय टीकाराम माझी, विराटनगर महानगरपालिका -४ की ३५ वर्षीया सुशीला चौधरी, ५५ वर्षीय टेकनारायन माझी, ग्रामथान- ५ की २६ वर्षीया अनिता माझी, ६५ वर्षीया दुखिया चौधरी, मधुराम माझी, ५० वर्षीय गुलाबचन माझी, ३५ वर्षीया रीता चौधरी, २५ वर्षीया सुनीता भगत, रीताकुमारी माझी, उनका छोरा ५ वर्षीय रितेष माझी र ग्रामथान-६ का ४३ वर्षीय सत्तुलाल माझी घाइते भएका प्रहरीले जनाएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। घाइतेहरुको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनालगत्तै ट्याक्टर चालक ग्रामथान-५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार बनेका छन् । उनको खोजी तीव्र पारिएको डीएसपी दाहालले बताए । उनका अनुसार रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरु सवार ट्याक्टर दुर्घटनामा परेको हो।