शाहीखोलाका आठ सय घरधुरीलाई खानेपानी
उदयपुर : कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले देश आर्थिक संकटबाट गुज्रिरहेकाले यस्तो बेला स्थानीय सरकार र प्रदेश सरकारबीच एक आपसमा सहकार्य आवश्यक रहेको बताएकी छिन्।
त्रियुगा नगरपालिकाको ८ र १६ नम्बर वडामा पर्ने शाहिखोला सामुदायिक खानेपानी तथा सरसफाई योजनाको उद्घाटन गर्दै उपसभामुख दनुवारले विकास निर्माणमा स्थानीयको समस्या समाधान गर्न सरकारबीच सहकार्य हुनु पर्ने बताइन्।
प्रदेश सरकारले उदयपुरमा निर्माण सुरु गरेको ५४ वटा योजना अहिले आर्थिक संकटको कारण बजेट अभावमा अधुरै रहेकाले आगामी आर्थिक वर्षभित्र सबै योजना सम्पन्न गर्ने गरी पहल गर्ने उनले बताइन्।
उपसभामुख दनुवारले निर्माण गरिएका खानेपानीका पूर्वाधारहरूको संरक्षण गर्न सरकारको भन्दा पनि स्थानीय आफै जागरुक हुनुपर्ने बताइन्। उनले भनिन्, ‘पानी मान्छेको जीवनसँग जोडिएकाले निर्माण गरिएका पानी ट्यांकी र धाराहरूको संरक्षण गर्दै सरसफाइमा ध्यान दिनु पर्दछ।'
त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले त्रियुगा नगरपालिकामा सञ्चालित २४ वटा खानेपानी योजना यसै वर्षभित्र सम्पन्न गरेर खानेपानीको समस्या अन्त्य गर्ने बताए। उनले खानेपानीलाई राजनीतिसँग नजोडी काम गर्न सुझाव दिए।
खानेपानी उद्घाटन भएसँगै त्रियुगा नगरपालिकाको शाहीखोला गाउँका स्थानीयले खोलाको धमिलो खानेपानी पिउनु नपर्ने भएको छ।
प्रदेश सरकारको सहयोगमा खानेपानी योजना निर्माण भएपछि त्रियुगा नगरपालिका ८ र १६ नम्बर वडाका स्थानीयको खानेपानीको समस्या हल भएको हो।
प्रदेश सरकारको ८० लाख लागतमा निर्माण सम्पन्न खानेपानीबाट उक्त वडाका आठ सय घर धुरीलाई खानेपानी सुविधा पुग्ने शाहिखोला सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मदनराज कटुवालले बताए।
स्थानीय आपसोता खोलामा भूमिगत पानी विद्युतको माध्यमबाट १७ सय मिटर टाढा रहेको रिजर्व ट्यांकीबाट खानेपानीको वितरण सुरु गरिएको उनले बताए।