जब माझी दाइले डुंगा पाए...
उदयपुर : आम्दानीको मुख्यस्रोत ‘डुंगा’ चलाउने पेसा संकटमा परेपछि उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङ्गका चतुरमान माझी र सोमबहादुर माझी विगत तीन वर्षदेखि वैकल्पिक पेसाका लागि भौतारी रहेका थिए। पेसा संकट मात्र होइन माझी समुदायको लोप हुँदै गएको पुख्र्यौली डुंगा चलाउने परम्परा, संस्कृति र संस्कार कसरी संरक्षण गर्ने भन्ने उनीहरूमा चिन्ता थियो। त्यसकै लागि उनीहरूले माझी समुदाय उत्थान समिति गठन गरे। र, विभिन्न निकाय तथा राजनीतिक दलका कार्यालय र घर धाएँ।
अन्ततः सबै ठाउँबाट सहयोगको आश्वसन पाए तर, व्यवहारमा कार्यान्वयन भएन। अरू त के निर्वाचनको बेला नेताले गाउँघरमा आएर बोलेको र गरेको प्रतिबद्धतासमेत कार्यान्वन नभएपछि उनीहरू कुनै नेताको घर, कार्यालय र कार्यक्रम स्थलमा धाउन छाडेका थिए।
नेताको गुलिया भाषण र आश्वसनबाट दिक्क बनेका चतुरमान र सोमबहादुर शुक्रबार नयाँ वर्षको दिन भने निकै उत्साहित र खुसी देखिए। उनीहरूको अनुहारमा निकै चमक थियो। उनी मात्र होइन त्यस क्षेत्रका माझी समुदाय नै निकै खुसि थिए। कारण थियो लोप हुँदै गएको पुरानै पेसामा फर्कने माध्यम ‘डुंगा’ पाएकोमा।
एक कार्यक्रममार्फत भव्य नाँचगान र सांगीतिक माहोल नै तयार गरी उनीहरूले खुसियाली साटे। त्यति मात्र हैन् कुखुराको भाले काटेर पूजाआरधना गरी डुंगा चलाए। बोलेको कुरा पुगेपछि कार्यक्रममा बेलामौकामा नेताहरूको भाषण उनीहरूलाई प्रिय नै थियो त्यसमा अझ लोकस्टार गायक विनोद दनुवारको छमछमी नाच्ने सांगीतिक माहोलले झनै ऊर्जा दियो र जानीनजानी नाचे।
उनीहरूको त्यो खुसियालीमा समाजसेवी भागवत राउतले साथ दिएका हुन्। जताततै पुलपुलेसा र सडक विस्तारको विकासले फड्को मारेसँगै उनीहरूको पुख्र्यौली पेसा संकट पर्दै गएको देखेपछि राउतले गएको बर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा डुंगा उपलब्ध गराई दिने प्रतिबद्धता जनाएका थिए।
चुनावमा प्रतिबद्धता जनाए पनि विगतमा नेताले दिएका आश्वसन व्यवहारमा परिणत नभएपछि अन्ततः राउतलाई पनि स्थानीयले विश्वास गरेनन्। र त्यस वडाबाट दोस्रो मत दिएर पठाए। नेकपा एमालेबाट त्रियुगा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका राउत समग्रमा पनि दोस्रो नै भए।
जनप्रतिनिधि भएर जनताको सेवा गर्ने अवसर नपाएपछि राउतलाई निर्वाचनमा जनतासामु गरेका प्रतिवद्धताले पोल्यो। र उनी जनप्रतिनिधि नभए पनि विभिन्न निकायसँगको समन्वयमा नगरका सबै ठाउँमा सामाजिक अभियानमा जोडिए।
कहिले हिड्न नसक्नेहरूका लागि ह्वीलचियर, कहिले दृष्टिविहीनहरूका लागि लौरो, आँखा रोगीहरूका लागि निःशुल्क शल्यक्रिया, चस्मा वितरण, सुस्तमनस्थिति भई वर्षौंदेखि साङ्लोमा बाँधिएर जीवन बिताइरहेकाहरूलाई उद्धार गरी सुधारगृह पठाउने जस्ता सेवा प्रदान गर्दै आएका राउतले वैशाख एक गते माझी समुदायको उत्थानका लागि डुंगा सहयोगमा समन्वयकारी भूमिका निर्वाह गरे।
उनको त्यो सहयोगले माझी समुदायको नेताहरू प्रतिको हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन्। खुसी साट्दै गरेको माझी समुदाय उत्थान समितिका अध्यक्ष चतुरमान माझीले भने, ‘वास्तवमा हामी गलत रहेछौ, सबै नेतालाई एउटै डालामा राखेर हेर्न नहुने रहेछ।’
स्थानीय सोमबहादुर माझीले विकास र आर्थिक समृद्धिले पछि पारिएको माझी समुदायको उत्थानका लागि राज्यले भुमिका निर्वाह गर्नुको साटो सधैं उपेक्षा गरेको गुनासो पोखे। सहयोगी मनलाई धन्यवाद दिँदै माझीले भने, ‘डुंगाले परिवारको सामान्य गर्जो टार्न सहयोग पुग्छ, यसलाई व्यवसायिक बनाउन थप सहयोगको अपेक्षा गरेका छौं।’
कोसी प्रदेश सरकारको उपस्थिति नै नरहेको धाप्लाङमा राउतले पहिलोपटक डुंगा सहयोग गराएर सरकारको उपस्थिति जनाएका थिए। राउतको अनुरोधमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले डुंगा उपलब्ध गराएको प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बताइन्।
त्यसैगरी खोटाङ जिल्लाका संबिधानसभा सदस्य तथा एमाले स्थायी कमिटी सदस्य विशाल भट्टराईले कोसीमा डुंगा खियाउने र माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदायको उत्थानका लागि सरकारले विशेष प्याकेज बनाउनुपर्ने बताए। प्रदेश सांसद गीतादेवी रेग्मीले प्रदेश सरकारले उपलब्ध गराएको डुंगाले माझी समुदायको उत्थानमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।