अन्नपूर्णमा सिजनको पहिलो आरोहण
बेनी : म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालमा चालू वसन्त यामको पहिलो हिमाल आरोहण भएको छ। सेभेट समिट ट्रेकका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार दिउँसो ११:३५ मा अन्नपूर्णको सफल आरोहण गरेको हो।
ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईंले तीन नेपाली, एक पाकिस्तानी र एक अस्ट्रेलियनको टोलीले अन्नपूर्णको चुचुरोमा पुगेको जानकारी दिए। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं.४ नारच्याङको भूगोलमा पर्छ।
नुर्वुको टोलीले बनाएको बाटो प्रयोग गरेर अन्य आरोहीको टोली पनि अन्नपूर्णको चुचुरोमा पुग्ने क्रममा छन्। यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच समूहका ४५ जनाले अनुमति लिएका छन्।
अन्नपूर्ण हिमाल संसारको दशौं अग्लो हिमाल हो। अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकको आधार शिविरमा चहलपहल बढेको छ।
इलाइट ट्रेकिङ कम्पनीमार्फत कतारकी राजकुमारी आस्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि गत फागुन २३ गते म्याग्दीमा आएकी थिइन्। आल्थानीको आरोहण टोलीको नेतृत्व कीर्तिमानी आरोही निर्मल पुर्जाले गरेका छन्। १९५० सालमा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ सालमा सर एडमन्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।