कोसी अस्पतालमा बारम्बार राजनीतिक हस्तक्षेप, मेसु परिवर्तन गर्न फेरि चलखेल
विराटनगर : विराटनगरको कोसी अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले शनिबार एउटा फेसबुक स्टाटस पोस्ट गरे। स्टाटस अहिले निक्कै चर्चामा छ।
भर्खरै नियुक्त भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)लाई हटाउन फेरि चलखेल भइरहेको विषयलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका हुन्। मेसु परिवर्तन गर्न लागिएको भनेर बुढाथोकीले सार्वजनिक गरेपछि अस्पतालमा तरंग पैदा भएको छ। त्यसले कोसी प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था कोसी अस्पतालमा राजनीतिक र व्यक्तिगत स्वार्थ हाबी गराउने प्रवृत्ति मौलाइरहेको विषयलाई पनि उजागर गरेको छ।
स्टाटसबाट गत फागुन २ गते निमित्त मेसुको जिम्मेवारी पाएका वरिष्ठ कन्सलटेन्ट सर्जन डा. रविनराज सिंहलाई हटाएर अस्पतालमा नयाँ मेसु नियुक्तिको चलखेल सुरु भएको प्रष्ट भएको छ। सिंहको कार्यकाल सुरु भएको २ महिना मात्रै पूरा हुँदैछ।
छोटो अवधिमै मेसु परिवर्तन गर्न अनधिकृत हिसाबबाट प्रधानमन्त्री कार्यालयसम्मले दबाब दिइरहेको स्रोतले बतायो। ‘मेसु परिवर्तनमा व्यक्तिगत हिसाबले सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सक्रिय छन्। विशेष गरेर अहिले कार्यरत मेसुलाई हटाएर आँफू निकटकालाई नियुक्त गर्न मोदीको जोडबल छ,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘त्योबाहेक मेसु हटाउने फायल पठाउन प्रधानमन्त्री कार्यालयबाट पनि स्वास्थ्य मन्त्रालयलाई बारम्बार दबाब आइरहेको छ। प्रधानमन्त्री कार्यालयका केही कर्मचारी कम्मर कसेर लागेका छन्।’
पछिल्लो समय सरकारी स्वास्थ्य संस्था राजनीतिक र व्यक्तिगत स्वार्थको कोपभाजनमा पर्दै गएको अस्पतालका एक कर्मचारी बताउँछन्। बुढाथोकीले संघीय सरकार मातहतको अस्पताललाई सिध्याउन केही आकाशे मन्त्री सक्रिय रहेको भनेर स्टाटसमा लेखेका छन्। उनको स्टाटस मन्त्री मोदीप्रति लक्षित रहेको बताइन्छ। ‘विराटनगरलाई सफा अनि राम्रो अस्पताल चाहिएको छ,’ स्टाटसमा लेखिएको छ, ‘सुधार र विकासको यात्रामा अगाडि बढेको अस्पताललाई सिध्याउन केही आकाशे मन्त्री लागि परेको कुरा सुनिँदै छ, खबरदार !’
स्वास्थ्य मन्त्रालय अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले राखेका छन्। त्यही मौकामा मेसु हटाउन प्रधानमन्त्री कार्यालयका केही कर्मचारी सक्रिय भएर लागेको स्रोतले बतायो। मन्त्री मोदीका स्वकीय सचिव ताजिम अन्सारीले मेसु परिवर्तन सामान्य प्रशासन मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने बताए। ‘अहिले मन्त्रीज्यू अमेरिकामा हुनुहुन्छ। त्यही पनि मेसु परिवर्तनमा हाम्रो मन्त्रालयले केही गर्न पाउँदैन,’ उनले भने, ‘परिवर्तन गर्ने हुँदा प्रधानमन्त्री कार्यालयबाटै काम हुँदै होला। हामीलाई यो विषय थाहा भएन।’
हुन त राजनीतिक स्वार्थसँग जोडेर बारम्बार गरिने हस्तक्षेपले सरकारी अस्पताल थिलथिलो भइरहेको छ। सत्तामा पुगेकाले सुधारमा ध्यान नदिने तर, स्वार्थप्रेरित हिसाबबाट कोसी अस्पताललाई तहसनहस बनाउने काम गरिरहेको एक चिकित्सक बताउँछन्। ‘हिजोका दिनमा विवादित बनेको अस्पताललाई सबै हिसाबबाट सुधार गरेर अहिले प्रशंसायोग्य बनाइएको छ। सुधारोन्मुख अवस्थाको अस्पतालमा बिरामीले सहज उपचार पाउने अवस्था बनेको छ,’ ती चिकित्सक भन्छन्, ‘तर, राम्रो काम गरेर अस्पताललाई सुधारको बाटोतर्फ डोहोर्याउने प्रयास भइरहेका बेला फेरि मेसु परिवर्तनको हल्ला आउनु दुःखद् हो। यस्तो कुराले सरकारी अस्पताललाई झन् धराशायी बनाउँछ।’
ती चिकित्सकका अनुसार विशिष्टकृत स्वास्थ्य सेवा, बिरामीको सहज उपचार, वार्ड तथा विभागको उचित व्यवस्थापन, इलेक्ट्रिक सवारीसाधनका लागि चार्जिङ स्टेशन निर्माण, सरसरफाई, पार्किङ व्यवस्थापन, एनआईसीयू र आईसीयू सञ्चालन, विकास समितिसँग आवश्यक समन्वय, जथाभावी नियुक्त गरिएका अनधिकृत कर्मचारी निष्कासन, स्वच्छ खानेपानीको व्यवस्था, भौतिक संरचना निर्माण, ज्येष्ठ नागरिकको उपचारमा सहजीकरण, दक्ष जनशक्तिको व्यवस्थापनलगायत अहिले अस्पताल प्रशासन र विकास समितिको प्राथमिकतामा छ।
अनधिकृत रूपमा नियुक्त गरिएका ५७ जना कर्मचारी आफू निमित्त मेसु भएपछि सिंहले अस्पताल विकास समितिसँग समन्वय गरेर निकालेका थिए।
अस्पताललाई थप व्यवस्थित बनाउन उनले स्थानीय तहका प्रमुख र उपप्रमुखसँग समन्वयको प्रयास गरिरहेका छन्। अस्पतालभित्रका वार्ड र विभिन्न विभागलाई व्यवस्थित बनाउँदैछन्। हुन त यसअघिका मेसुहरूले पनि अस्पताल सुधारको प्रयत्न नगरेका हैनन्। तर, कार्यभार सम्हालेर त्यहाँको अवस्था बुझ्न नपाउँदै छोटो अवधिमै जिम्मेवारीमुक्त गर्ने क्रम जारी रहयो।
पछिल्लो १ वर्षभित्र मात्रै अस्पतालमा ३ जना मेसु फेरिएका छन्। २०७८ फागुन ५ मा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइयो। उनलाई हटाएर भदौ १६ गते वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवलाई स्वास्थ्य मन्त्रालयले निमित्तको जिम्मेवारी दियो। यादवका ठाउँमा गत फागुन २ गते डा. सिंहलाई उक्त जिम्मेवारी दिइएको हो।
खरेल, यादव र सिंह १० औँ तहका चिकित्सक हुन्। अस्पतालमा ११ औँ तहका २ जना चिकित्सक कार्यरत छन्। तर, उनीहरूले मेसु बन्न रुचि नदेखाएपछि १० औँ तहका चिकित्सकलाई निमित्तको जिम्मेवारी दिइँदै आएको अस्पताल स्रोतले बतायो। २०६१ सालयता अस्पतालमा १७ जना मेसु परिवर्तन भइसकेका छन्।
अस्पतालमा ३ सय ५० बेड सञ्चालनमा छ। दैनिक उपचार र स्वास्थ्य परीक्षणका लागि १ हजार ५ सय जनाभन्दा बढी आउने गरेका छन्। लगभग २ सय जना आकस्मिक विभागमा भर्ना हुन्छन्। विभिन्न वार्डमा भर्ना हुनेको संख्या दैनिक ३ सय हाराहारी रहेको अस्पतालले जनाएको छ।
१ सय ३२ वर्ष पुरानो अस्पतालले कोसीसहित मधेस प्रदेश र भारतका बिरामीलाई सेवा दिइरहेको छ। ‘चाप अत्यधिक हुँदा १ जना चिकित्सकले ७० जनाभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था छ। फेरिरहने मेडिकल सुपरिटेन्डेन्ट र विकास समितिबीच समन्वय नहुँदा समस्या छ,’ एक चिकित्सक भन्छन्, ‘यसलाई तोडेर अस्पताल सुधारतर्फ सबै केन्द्रित हुनुपर्ने देखिन्छ। तर, व्यक्तिगत र राजनीतिक स्वार्थ हाबी गराएर सरकारी अस्पताललाई सक्ने खेल मात्रै हुन्छ।’ उनका अनुसार पहुँचका भरमा छोटो समयमै मेसु फेरिँदा अस्पताल थप लथालिंग हुँदैछ।
अस्पतालका नायव सुब्बा नवराज लुइँटेलले १ हजार १ सय २५ जनाको दरबन्दी स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको बताए। स्वीकृत भएर आएर पदपूर्ति भएमा जनशक्ति अभावको समस्या समाधान हुने उनको भनाइ छ। कोसी अस्पतालको सेवा प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको लुइँटेल बताउँछन्।
अस्पतालमा सरकारी दरबन्दीका ८० र विकास समितिका २५ चिकित्सक तथा सरकारी दरबन्दीका ७६ र समितिका ६५ स्टाफ नर्स कार्यरत छन्। तर, स्वास्थ्यकर्मी र कर्मचारी अपुग रहेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बेलाबेला मेसु परिवर्तन भइरहँदा सरकारी अस्पतालमा काम गर्न समस्या हुने गरेको बताए। ‘छोटो समयमै मेसु परिवर्तन हुँदा अस्पतालको विकास र सेवा प्रवाहमा वाधा पुगिरहेको छ,’ उनले भने, ‘इच्छाशक्ति लिएर आएका मेसुलाई हटाउनेभन्दा पनि काम गर्न दिनुपर्छ।’
भट्टराईले सरकारी अस्पताललाई नमूना बनाउनेतर्फ सबै केन्द्रित हुनुपर्ने बताए। अस्पतालमा ७ अर्बको लगानीमा भौतिक संरचना निर्माणको काम पनि भइरहेको उनको भनाइ छ।
भट्टराईले मेसु परिवर्तनका नाममा सरकारी अस्पतालको सेवा छिटोछरितो, शुलभ र गुणस्तरीय हुनबाट रोक्ने काम गर्न नहुने बताए। भने, ‘मेसु नियुक्त गरेपछि पूरा कार्यकाल काम गर्न दिनुपर्छ। कुनै गल्ती वा कमजोरी गरेमा हटाउन सकिन्छ। तर, यहाँ त जसरी पनि आफूनजिक रहेकालाई जिम्मेवारी दिने गरिएको छ। यसले अस्पताललाई ठूलो असर परिरहेको छ।’
उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेल क्षमता र योग्यताभन्दा पनि राजनीतिक तथा व्यक्तिगत रूपमा आफूनिकटका व्यक्तिलाई अस्पताल प्रमुखको जिम्मेवारी दिँदा सेवा प्रवाह एवं अस्पतालको विकासमा अवरोध पुगिरहेको बताउँछन्। ‘छोटो समयमै मेसु परिवर्तनको चलखेलले स्वास्थ्य सेवा प्रभावकारी भएको छैन। पहुँचवालाले सरकारी अस्पताललाई कमाउने थलो बनाए,’ उनले भने, ‘यस्ता बेथितिको अन्त्य गर्नुपर्छ। हैन भने सरकारी स्वास्थ्य संस्थाको अस्तित्व रहँदैन।’ समयअगावै अस्पताल प्रमुखको बर्हिगमनले सेवा सुविधामा असर गरिरहेको ढुंगेल बताउँछन्।
अस्पताललाई राजनीतिक भागवण्डा र नियुक्तिको थलो बनाइनु दुःखद् भएको उनको भनाइ छ। नियुक्त गरिएकालाई कम्तिमा पूर्ण कार्यकाल काम गर्ने मौका दिइनुपर्ने उनको सुझाव छ। ‘अस्पताललाई हस्तक्षेप गरेर सक्ने प्रयास भइरहेको छ। यसविरुद्ध सबैले आवाज उठाउनुको विकल्प छैन,’ उनले भने, ‘राजनीतिक नियुक्ति दिएकाले अस्पताल सुधारमा चासो राख्दैनन्। अस्पतालले पनि सुखद् नतिजा दिन सक्दैन।’
सरकार र मन्त्री परिवर्तन भएसँगै छोटो समयमै मेसु परिवर्तन हुने परिपाटी अन्त्य गर्नुपर्नेमा ढुंगेलको जोड छ।