छुवाछुतको घटनाले निरन्तरता पाएपछि दलितहरू विद्रोहको तयारीमा
वीरगन्ज : पछिल्ला केही दिनयता पर्सा र बारामा भइरहेका महायज्ञमा दलितलाई छुवाछुतको विभेद गरि प्रवेश गर्न बञ्चित गर्न थालिएपछि उनीहरू संगठित हुँदै विद्रोहमा उत्रिने तयारी गरेका छन्।
नेपालको संविधानमै जातीय विभेद तथा छुवाछुतलाई दण्डनीय अपराधका रूपमा उल्लेख छ। जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ ले सार्वजनिक वा निजी स्थलमा जातीय भेदभाव वा छुवाछूतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था पनि गरेको छ।
ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ। भेदभाव गरेमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ।
तर यो कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पर्सा र बारामा दलितमाथि छुवाछुतको दुर्व्यवहार र विभेद गर्ने घटना बारम्बार दोहोरिइरहेको छ।जसका कारण यहाँका दलित अगुवाहरूले विद्रोहमा उत्रिने तयारी गरेका हुन्।
पर्साको वीरगन्ज महानगरपालिका-१८ वडा सुखचैनामा यही वैशाख १२ देखि विष्णु महायज्ञ आयोजना हुँदैछ। उक्त महायज्ञमा दलितलाई सरिक हुन रोक लगाइएपछि स्थानीय दलित र उनीहरूका अगुवाहरूले आपत्ति जनाएका छन्। आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर उनीहरूले महायज्ञमा आफूहरू जसरी पनि सहभागी हुने चेतावनी दिएका छन्।
पत्रकार सम्मेलनमा दलित संघर्ष समिति सुखचैनाका संयोजक खिरोधन राम चमारले भने, ‘महायज्ञको चौका (वेदी)मा दलितहरू जसरी पनि सहभागी हुन्छौं, यदि जबरजस्ती गरेर हामीलाई रोकियो भने त्यसको परिणाम भयावह हुन्छ।'
सुखचैनामा आयोजना हुन लागेको १० दिने विष्णु महायज्ञमा महायज्ञको व्यवस्थापन समिति र गैरदलितहरूले गाउँकै दलितहरूलाई महायज्ञको वेदी (पूजास्थल) मा बस्न नदिने अडान लिँदै आएका छन्। दलित संघर्ष समिति सुखचैनाका अध्यक्ष खिरोधनका अनुसार पूजामा बस्न दलितहरूले जबरजस्ति गरेमा दलितहरूमाथि कुटपिट गर्नुका साथै ज्यानसमेत मार्ने धम्की गैरदलितहरूले दिएका छन्।
सुखचैना गाउँमा चमार(दलित) जातिको करिब ४५ घरधुरी छ। महायज्ञमा दलितहरूबाट चन्दा उठाइएको, महायज्ञको तयारीमा दलितहरूलाइ सहभागी गराइएको तर महायज्ञको वेदीमा भने दलितलाई बस्न नदिने महायज्ञ व्यवस्थापन समिति र गैरदलितहरूको अडान रहेको सुखचैनाका दलित प्रहलाद राम चमारले बताए।
उनले भने, ‘महायज्ञको आयोजक समिति गठन गर्दाकै बेलादेखि गाउँका दलितहरूसँग छुवाछुतको विभेद गरियो, ६१ जनाको समितिमा हामी दलितबाट एकजनालाइ पनि राखिएन, समिति गठन गरेकै दिन वेदीमा दलितहरू बस्न पाउदैनौ भनेर उर्दी जारी पनि गरियो।'
वडाअध्यक्ष उमाशंकर तिवारीले सुरुमा सकरात्मक आश्वासन दिए पनि पछि गएर गैरदलितहरूकै पक्षमा लागेर गाउँका दलितहरूलाई निराश पारेको प्रहलादले गुनासो गरे।
त्यसपछि चैत २६ मा महायज्ञमा दलितलाई बञ्चित नगराउन माग गर्दै स्थानीय दलित दलित अगुवाहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई निवेदन दिएका थिए। उक्त निवेदनमा महायज्ञ आयोजक समितिले महायज्ञमा दलितलाइ सहभागी गराउन अस्वीकार गर्नुका साथै प्रशासन वा अन्य कुनै निकायमा उजुरी दिएमा कुटपिट गर्ने र ज्यानै मार्ने समेत धम्की दिएको उल्लेख थियो।
तर यस विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल नगर्ने बरु प्रहरीकोमा जान प्रमुख जिल्ला अधिकारीले जवाफ दिएपछि चैत २६ मै उनीहरूले महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभाडी महतो, सचिव गोपाल प्रसाद यादव र मन्द्रिका महतोको नामै किटानी गरी जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए।
तर प्रहरीले पनि यस विषयलाई खासै गम्भिरताका साथ नलिएका कारण आफूहरूले आइतबार पत्रकार सम्मेलन गर्नु परेको दलित संघर्ष समिति सुखचैनाका संयोजक खिरोधनले बताए। उनले भने, ‘किटानी जाहेरी दिएपछि एसपी साबले महायज्ञ शुरु भएपछि वेदीमा गएर तपाईंहरू बस्नु होला, यदि बस्न दिएनन् भने प्रहरी पठाएर कानुनी कारबाहीको प्रकृया थाल्छौ भनेर आश्वासन दिनुभएको छ।'
यता महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभाडी धानुक महतो भने यस बारे प्रतिक्रिया दिन मानेनन्। टेलिफोन सम्पर्कमा आएका अध्यक्ष महतोले भने, ‘बाहिरको हल्लाको पछाडि लागेर हुँदैन, वास्तविकता जान्नुछ भने यज्ञ सुरु भएपछि गाउँमै आएर हेर्नुहोला , अहिले म अर्कै काममा व्यस्त छु, अरू केही बोल्दिनँ।' समितिका सचिव गोपाल प्रसाद यादवले भने दलितहरू आफै महायज्ञमा सहभागी हुन नचाहेको प्रतिक्रिया दिए।
यसअघि पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौमा गत चैत ८ देखि १६ गते सम्म आयोजना गरिएको शतचण्डी महायज्ञमा पनि दलितलाई पूजापाठ गर्न बञ्चित गराइयो। त्यसवरुद्ध अलौका दलितहरूले सडकमै विरोध प्रदर्शन गरि जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका थिए। तर जिल्ला प्रशासन कार्यायले पहलकदमी नलिदा र गाउँका गैर दलितहरूको धम्कीपूर्ण अडानका कारण दलितहरू पछाडि हट्न बाध्य भएका थिए।
महायज्ञको वेदी (पूजास्थल) मा बस्न नपाएरै महायज्ञ सम्पन्न भएपछि जति कराएपनि केही हुँदैन भन्ने सोच गैर दलितहरूमा हाबी हुदै गएको अलौंको सर्वदलिय दलित अधिकार संघर्ष समिति पर्साका अध्यक्ष बुनेल रामले बताए।
बाराको महायज्ञमा पनि दलितलाई प्रवेश गर्न प्रतिबन्ध
उता पर्साकै छिमेकी जिल्ला बाराको सुवर्ण गाउँपालिकामा गत चैत २६ बाट सुरु भएको विष्णु महायज्ञमा पनि दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाइएको छ।
सुवर्ण गाउँपालिका-१ घुसुकपुरमा आयोजित महायज्ञमा स्थानीय दलितलाई छुवाछुत गरी प्रवेश गर्न रोक लगाइएको हो। महायज्ञ प्रवेशमा दलितलाई रोक लगाउने तयारी भएपछि त्यसविरुद्ध गत चैत १९ गते नेपाल दलित मुक्ति संगठनले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्ता गराएको छ।
घुसुकपुरमा चैत २६ देखि सुरु भई बैशाख ५ सम्म चल्ने धार्मिक महायज्ञमा गाउँका करिब ९० घरपरिवारका दलितलाई सहभागी हुनबाट गैरदलितहरूले वञ्चित गराएको आरोप उजुरीपत्रमा उल्लेख छ।
जातीय छुवाछुतको विभेद गर्ने यज्ञ आयोजक मध्येका रामदेवप्रसाद यादव, इनरदेव यादव, पप्पु यादव, रामअश्रय यादव, दिनेश उपाध्याय, चन्द्रिका उपाध्यायलगायत एक दर्जनविरुद्ध जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको हो।
यज्ञ आयोजना गगैरदलितहरूले दलितका बालबालिकालाई पनि यज्ञमा बस्न नपाउने उर्दी नै जारी गर्दै यदि यज्ञमा पठाएको खण्डमा कुटपिट गर्ने धम्की समेत दिएको पीडित दलितहरूको गुनासो छ।
यसअघि यज्ञको तयारीका क्रममा यज्ञस्थलको मण्डप, पण्डाल, ध्वजापूजा, सरसफफाइ र चन्दा संकलनजस्ता कार्यमा दलित समुदायका मानिसहरूलाई प्रयोग गरिएको तर यज्ञ सुरु भएपछि भने पूजापाठ, हवनलगायत धार्मिक कार्यबाट बञ्चित गराइएको दलितहरूको गुनासो छ।
जातीय विभेद विरुद्ध देशभरका दलितहरू अन्दोलनमा उत्रिन्छौं : दलित अगुवाहरू
जातीय विभेद र छुवाछुत विरुद्धको कानुन बनेको एक दशक बितिसक्दा पनि दलितलाई जातकै आधारमा विभेद र दुर्व्यवहार गर्ने प्रवृति अझै पनि कायमै रहनु दुर्भाग्यपूर्ण भएको पर्साका दलित अगुवा एंव पुर्व सांसद रामाश्रय रामले आइतबारको पत्रकार सम्मेलनमा बताए।
कानुन नै नमान्नेहरूलाई कानुनबमोजिम कारबाही हुनुपर्ने उनले बताए। समानता र समावेशिताका मुद्दा बारम्बार उठीरहेको अवस्थामा पनि जातकै आधारमा विभेद हुनु अत्यन्तै दुःखद विषय भएको उनकोभ नाइ छ।
अर्का दलित अगुवा बुनेल रामले जातीय र छुवाछुतको विभेद विरुद्ध अब आफूहरू विद्रोहमा उत्रने तयारी गरिरहेको बताए। उनले भने, ‘हामीले जे गरेपनि यिनीहरूले केही गर्न सक्दैनन् भन्ने सोच गैरदलितमा हाबी हुदै गएको छ। यसका विरुद्ध हामी दलित अगुवाहरू चुप लागेर बस्दैनौं।'