बैंकिङ कसुरमा वडाध्यक्ष पटेल पक्राउ
वीरगन्ज : पर्साको बहुदरमाई नगरपालिका-२ का वडाध्यक्ष जितेन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ।
चेक बाउन्स गराएको कसुरमा वडाध्यक्ष पटेललाई प्रहरीले आइतबार साँझ उनको आफ्नै गाउँबाट पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहनविक्रम केसीको नेतृत्वमा खटिएको टोलीले पटेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरिले जानकारी दिए।
बैंकिङ कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएकाले पटेललाई नियन्त्रणमा लिइएको उनले बताए। उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको गिरिले जानकारी दिए।
वडाध्यक्ष पटेलले काटेको १२ लाख रुपैयाँको चेक बैंकबाट बाउन्स भएको र त्यही कसुरमा उनलाई अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ।
पटेल, २०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट बहुदरमाई नगरपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि २०७४ को निर्वाचनमा भने उनी वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए।