गोरखाका ३३ वडामा छैनन् सचिव
पञ्जीकरणको कामसमेत गर्नुपर्ने हुँदा स्थायी कर्मचारीलाई मात्र वडा सचिवको कार्यभार जिम्मा दिनुपर्ने सरकारी प्रावधान छ।
गोरखा : तीन महिनाअघि धार्चे गाउँपालिका ६ को वडा सचिवमा तुल सलामी नियुक्ति लिएर आए। दुई महिना नबित्दै उनले अधिकृतमा नाम निकाले। त्यसपछि गाउँपालिकाले काशीगाउँ स्वास्थ्य चौकीमा कार्यरत अहेब सुजिता यादवलाई वडा सचिवको जिम्मेवारी सुम्पियो। बिगत एक महिनादेखि उनी यहाँकी वडा सचिव र अहेबको कार्यभार सम्हाल्दै आएकी छिन्।
वडा नं. ६ मा मात्र होइन, धार्चेका सबै वडामा प्राविधिक कर्मचारीले वडा सचिवको काम गर्दै आएका छन्। ‘हाम्रो पालिकाको कुनै पनि वडामा अहिले वडा सचिव छैनन्’, प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनार भन्छन्, ‘कुनै वडामा अहेब, कुनै वडामा सब ओभरसियर, कुनैमा कृषि शाखा र कुनैमा पशुसेवा शाखाका कर्मचारीले सचिवको काम गरिरहनुभएको छ।’
वडा नं. १ मा सबइञ्जिनियर सन्तोषकुमार यादवले वडा सचिवको काम गरिरहेका छन् भने वडा नं. २ मा हेल्थअसिस्टेन्ट कविता घले वडा सचिव छिन्। वडा नं. ३ मा अनमि मेनुका राई, वडा नं. ४ मा सिनियर अहेब धनबहादुर गुरुङ, ५ मा सिअहेब सपनाकुमार घिमिरे र वडा नं. ७ मा अहेब जितबहादुर सुनारले एक वर्षदेखि वडा सचिवको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिए।
पञ्जीकरणको कामसमेत गर्नुपर्ने हुँदा स्थायी कर्मचारीलाई मात्र वडा सचिवको कार्यभार जिम्मा दिनुपर्ने सरकारी प्रावधान छ। तर, गोरखा नगरपालिकाको दुइटा वडामा करारमा नियुक्त भएका कर्मचारीले वडा सचिवको काम गरिरहेका छन्। वडा नं. कम्प्युटर अपरेटरमा करारमा नियुक्त भएका भुवन कुमाल र वडा नं. ११ मा सरसफाइ सुपरभाइजरमा करारमा नियुक्त भएका प्रेमबहादुर बस्नेतलाई वडा सचिवको जिम्मेवारी सुम्पिएको नगरपालिका कार्यालयले जनाएको छ। त्यस्तै वडा नं. ५ मा पनि महिला तथा बालबालिका शाखाकी स्थायी कर्मचारी इन्दिरा अम्गाईंलले वडा सचिवको जिम्मेवारी सम्हालिरहेकी छिन्।
त्यस्तै सुगम भनिएको पालुङटार नगरपालिकाको १० वटा वडामध्य पाँचवटा वडाहरू वडासचिवबिहिन छन्। ‘वडा नं. १ मा स्वास्थ्य सहायक कर्मचारी प्रवीण श्रेष्ठले वडासचिवको काम गरिरहनु भएको छ। २ मा पनि स्वास्थ्यकै कर्मचारी राधा देवकोटाले वडा सचिवको काम गरिरहनु भएको छ’, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी भन्छन्, ‘वडा नं. ६ मा महिला तथा बालबालिका शाखाकी नानु सुनार, वडा नं. ७ मा स्वास्थ्यका कर्मचारी लक्ष्मण सुनार र वडा नं. १० मा पनि स्वास्थ्यकै कर्मचारी कालिका चौलागाईंले वडा सचिवको काम गरिरहनु भएको छ।’ सीप, क्षमता, दक्षता र विज्ञता एउटा क्षेत्रमा, काम अर्को क्षेत्रमा गर्नुपर्दा समस्या भएको उनको भनाइ छ।
आठवटा वडा रहेको सिरानचोक र भीमसेनथापा गाउँपालिकाका पाँच–पाँचवटा वडामा वडासचिव छैनन्। ‘वडा नं. १ मा अतिरिक्त सबइञ्जिनियर टेकबहादुर कार्की, वडा नं. २ मा भेटेरिनरीकी रीता थापा र वडा नं. ४ मा पनि भेटेरिनरी शाखाकै ज्ञानुप्रसाद यादबले वडा सचिवको काम
गरिरहनु भएको छ’, प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले भने, ‘वडा नं. ६ मा अतिरिक्त सव इञ्जिनियर राजकुमार यादव र वडा नं. ७ मा स्वास्थ्य सहायक विश्वनाथ पाण्डेले वडा सचिवको काम गरिरहनुभएको छ।’
त्यस्तै भीमसेनथापा गाउँपालिकाका २ मा पशुसेवाका कर्मचारी खेपराज भट्ट, वडा नं. ४ मा पशुसेवा प्राविधिक केशव थापा, वडा नं. ५ मा कृषि शाखाकी सुष्मा केसीले वडा सचिवको जिम्मेवारी सम्हालिरहेकी छिन्। वडा नं. २ र ६ मा एकैजना वडा सचिव र वडा नं. ७ र ८ मा पनि एकैजना वडा सचिवले मात्र काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले जानकारी दिए।
त्यस्तै बारपाक सुलीकोट गाउँपालिका ६ मा आन्तरिक लेखा परीक्षक दर्शन न्यौपाने र वडा नं. ५ मा अतिरिक्त सब इञ्जिनियर अञ्जु थापाले वडा सचिवको काम गरिरहेका छन् भने वडा नं. १ र २ मा जितकुमारी घले एकै जनाले मात्र सचिवको जिम्मेवारी सम्हालेकी छिन्। चुमनुब्री गाउँपालिकाका सातवटा वडामध्ये ३ वटा वडामा वडा सचिव छैनन्। एउटै सचिवले दुइटा वडा र पालिकाअन्तर्गतका विभिन्न शाखाहरू समेत सम्हाल्नु परेको प्रमुख कार्यकारी अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए। उनका अनुसार वडा नं. १ र ५ को वडा सचिवको काम गणेशभक्त त्रिपाठीले सम्हालेका छन्। उनी गाउँपालिकाको प्रशासन शाखाको कर्मचारी पनि हुन्। वडा नं. २ र ४ को वडा सचिवका रूपमा वेदप्रकाश ढकाल कार्यरत छन्।
उनी योजना शाखाका कर्मचारी हुन्। वडा नं. ६ र ७ को वडा सचिवका रुपमा वासुदेव वली खटिएका छन्। उनी शिक्षा शाखा प्रमुख पनि हुन्। अजीरकोट गाउँपालिकाको पनि वडा नं. १ को सचिवको काम सब ओभरसियर धनबहादुर गुरुङले गरिरहेका छन्। ‘कर्मचारी अभावले असाध्यै दुख भएको छ’, श्रेष्ठले भने, ‘लोकसेवामा कर्मचारी माग गरेर पठायो, कर्मचारी आउँदैनन्। खरिदार, नासु पदमा नाम निकालेर आएका हुन्छन्। अनि अधिकृतमा पनि नाम निकाल्छन् र गइहाल्छन्।’