सहिद स्मारक ‘ए’ डिभिजन लिग : सातदोबाटो–पुलिस बराबरी
नेपाल पुलिस क्लबसँगको बराबरीसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ।
काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सातदोबाटो र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भएका थिए।
नेपाल पुलिस क्लबसँगको बराबरीसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। सातदोबाटो नौ खेलमा १७ अंक जोडेको छ। गोल भिन्नतामा जावलाखेलभन्दा पछि परेको सातदोबाटो दोस्रो स्थानमा छ। सातदोबाटोले नौ खेलमा पाँचमा जित, दुई बराबरी र दुई हारको नतिजा निकालेको छ। यसैगरी विभागीय टोली पुलिसले नौ खेलमा पाँच अंक मात्रै जोड्न सकेको छ। पुलिस लिगको १३औं स्थानमा छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नै आइतबार भएको खेलमा संकटा क्लबले भने जित निकालेको छ। ललितपुरको च्यासल मैदानमा भएको खेलमा संकटाले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई १–० गोलले पराजित गरेको हो। संकटालाई जित दिलाउन जुनियर ओन्गुइने एनकेन्गुएले पेनाल्टीमा निर्णायक गोल गरेका थिए। खेलको २९औं मिनेटमा अडामा डुम्बियाले आयुष घलानलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। जसलाई जुनियरले सदुपयोग गरेका थिए।
दुवै टोलीका खेलाडीको पोसाक एउटै रंगको भएपछि खेल करिब आधा घण्टा ढिला भएको थियो। एपीएफका खेलाडी र संकटाका गोलरक्षकको जर्सी एकै रंगको भएपछि विवाद भएको थियो। पछि संकटाका गोलरक्षकले फरक जर्सी लगाएका थिए। खेलको दोस्रो हाफ तनावपूर्ण बनेको थियो।
संकटाका मनिष डाँगी र एपीएफका दीपेश धिमाल दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए। एक अर्कामाथि हात हालाहाल गरेपछि रेफ्री नवीन्द्र महर्जनले दुवै खेलाडीलाई दोहोरो पहेंलो (रातो) कार्ड देखाएका थिए। त्यसको १० मिनेटपछि संकटाका आन्द्रे थिएरी बिइकले पनि रातो कार्ड पाएका थिए। अपशब्द बोलेको भन्दै रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए।
जितसँगै संकटा लिगको चौथो स्थानमा उक्लिएको छ। लिगमा चौथो जित निकालेको संकटाले नौ खेलमा १५ अंक जोडेको छ। संकटाले चार जित, तीन बराबरी र दुई हारको नतिजा निकालेको छ। नौ खेलमा ११ अंक जोडेको एपीएफ नवौं स्थानमा छ।