राजमार्ग अवरुद्ध गरेर मुग्लिनमा धर्ना बसेका लघुवित्त पीडित र प्रहरीबीच झडप
गोरखा : २४ घण्टादेखि राजमार्ग छेकेर मुग्लिनमा धर्ना बसेका लघुवित्त पीडितमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनकारी तितरवितर गराउन दुईसेल अश्रुग्याँस प्रहार गरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।
प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अश्रुग्याँस प्रहार गरिएको उनले बताए । अश्रुग्याँस प्रहारपछि भीड तितरवितर भएको छ । सोहीक्रममा एकजना घाइते भएका छन् । उनको स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
लघुवित्त पीडितले सोमबार बिहान १० बजेदेखि पृथ्वीराजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिनहुँदै काठमाडौं,पोखरा,चितवन जाने यात्रुहरू हैरान भएका थिए ।
विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारी आइतबारदेखि सडकमै पकाउने,खाने,सडकमै सुत्ने गरेका छन् ।