काठ चोरी गरेको आरोपमा समूहका अध्यक्ष पक्राउ
उदयपुर : वन संरक्षणको जिम्मा पाएका उदयपुरको त्रियुगा नगरपालिका-५ का एक सामुदायिक वन समूहका अध्यक्ष काठ चोरी गर्दै गर्दा पक्राउ परेका छन्।
स्थानीय अम्बिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिलबहादुर ग्रन्जामगर जंगलमा काठ चोरी निकासी गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन्।
डिभिजन वन कार्यालय गाईघाटबाट खटिएको टोलीले अवैध सालको गोलिया र ट्याक्टरसहित पक्राउ गरेको हो। स्थानीयले दिएको सूचनाका आधारमा ५ थान गोलियाको ४० दशमलब १६ क्यूविफिट साल जातको काठसहित स १ त ७०४८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताए।
त्रियुगा–५ दमौतिको कोरिया खोलाबाट आइतबार ११ बजे अवैध कटान भइरहेको सूचनाका आधारमा समूहका अध्यक्ष र काठ ढुवानी गर्न प्रयोग भएको ट्याक्टरलाई वन कर्मचारीको टोलीले पक्राउ गरिएको उनले बताए।
साहका अनुसार अध्यक्ष मगरलाई वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको हो।