गौशालामा १५ शय्याको अस्पताल निर्माण गरिँदै
महोत्तरी : गौशालामा १२ करोडको लागतमा निर्माण हुने अत्याधुनिक सुविधासम्पन्न सामुदायिक अस्पतालको शिलान्यास भएको छ।
सोमबार एक समारोहकाबीच नगरप्रमुख डा दिपेन्द्र महतोले सो १५ शय्या अस्पतालको शिलान्यास गरेका हुन्।
प्राथामिक स्वास्थ्य उपचार केन्द्र गौशालालाई स्तरोन्नति गर्नका लागि संघीय सरकारको बजेटमार्फत सो भवन निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ। भवन निर्माण दुई वर्षभित्रमा सम्पन्न हुने नगरपालिकाका इन्जिनियर अजयकुमार यादवले जानकारी दिए।
१२ करोड ४९ लाख ७९ हजार ३१ रुपैयाँको लागतमा निर्माण हुने सो अस्पतालको भवन बनाउनका लागि नमुना कन्ट्रक्सन प्रालि विराटनगरले ठेक्का लिएका हुन्।
भवनभित्र सहज अनि सरल उपचार सेवाका लागि अप्रेशन सेवा, भिडियो एक्सरे, ल्याव, ईसिजि, डिलेभरी लगायतका सेवा उपलब्ध हुने नगरप्रमुख डा. दिपेन्द्र महतोले बताए।