काठमाडौं : सोमबार मध्यान्न काठमाडौंस्थित शान्तिवाटी रणभूमि मैदान बन्यो। प्रहरी दमनले तराईका विभिन्न जिल्लाबाट न्याय माग्न केन्द्रीय राजधानी आइपुगेका मिटरब्याज पीडतहरूको टाउकोबाट रगत बग्यो। बृहत् मार्चपास गर्दै सिंहदरबार जान लागेका उनीहरूलाई प्रहरीले शान्तिवाटीकामै थुनेर टाउकोमा लठ्ठी बजारेको हो।
प्रहरीले उनीहरूलाई शान्तिवाटिकाको गेटमै रोक्यो। त्यसपछि प्रहरी र पीडितबीच धकेलाधकेल भएको थियो। त्यसक्रममा प्रहरीको लाठी प्रहारबाट २२ जना मिटरब्याज पीडित र उनका सहयोगी घाइते भएका थिए। प्रहरीतर्फ डीएसपीसहित १० जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एसएसपी हिमाल कुमार श्रेष्ठले बताएका छन् । आन्दोलनमा पक्राउ परेका ३५ जनालाई प्रहरीले सोमबार साँझ छोडिएको जनाएको छ। भीड तितरबितर पार्न प्रहरीले लाठिचार्ज र आश्रुग्याससमेत प्रहार गरेको थियो।
घाइते भएका ९ जना मिटरब्याज पीडितको ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार अधिकांश घाइतेहरूको टाउको र शरीरका विभिन्न अंगमा चोट लागेको छ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका उपाध्यक्ष कूलबहादुर थापाको टाउको फुटेको छ। असोजमा पनि प्रहरीले आन्दोलनमा टाउको फुठाएको थियो। प्रहरीको कुटाईबाट घाइते भएका नवलपरासीका अकबर मियाँ, तीलराम चौधरी, इलामका लोकनारायण सुवेदीको पनि उपचार भइरहेको छ। सर्लाहीको कृष्णानन्द महतो, ओखलढुंगाको प्रदीप नेपाल, बालाजुका सिताराम तामाङ, रुकुमका यमकुमारी ददेल र सिरहाको वेवी देवी घाइते भई ट्रमा सेन्टरमा उपचार गराइएका छन्।
बिहीबार गृह मन्त्रालयमा सरकारसँग पाँचौं पटकको वार्ता भएको थियो। तर वार्ता भंग भएपछि मिटरब्याज पीडितहरू सोमबारबाट सरकारविरुद्ध कडा अन्दोलन चर्काको छ।
नवलपरासीका पीडित प्रेम नारायण भन्छन्, ‘मिटरब्याजीले हड्पेको खेत सरकारले फिर्ता गराउनुपर्छ। फर्जी तमसुक च्यात्नुपर्छ। हाम्रो माग पूरा नभएसम्म घर फर्किनौं।’ असोज १ गते पौने महिना माइतीघरमा धर्ना बस्दा सरकारले आफूहरूको माग पूरा गर्न पाँच बुँदे सम्झौता गरेको थियो। सम्झौता कार्यान्वन नगरेपछि उनी चैत २० गते फेरि आन्दोलन गर्न काठमाडौं आएका थिए। उनीमा मात्रै होइन तराईका २० जिल्लाका सयौं मिटरब्याज पीडित काठमाडौं आएर आन्दोलन गरिरहेका छन्। ११ दिन गाउँमा पैदल हिले काठमाडौं आएका टोलीसँग सरकारले चैत १८ गते पाँच बुँदे सम्झौता परेको थियो। त्यो उधारो सम्झौताविरुद्ध पीडडितहरू आन्दोलन गरिरहेका छन्।
आन्दोलनरत मिटरब्याज पीडितले सरकारसँग फर्जी तमसुक खारेजी र अदालतमा चलिरहेको मुद्दा रोक्नुपर्ने प्रमुख माग अघि सारेका छन्। तर सरकार उनीहरूको मागमा गम्भीर नदेखिएपछि पटक-पटकको वार्ता निष्कर्षविहीन सकिएको हो।
बिहीबार आन्दोलनरत पक्षले सरकारी वार्ता टोलसँग यही माग अघि सारेका थिए। चित्तबुझ्दो जवाफ नपाएपछि वार्ता अगाडि बढ्न नसकेको आन्दोलनरत पक्षले जनाएको छ।
संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मिटरब्याज साहुलाई कारवाही गर्न कानुन संशोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए। ‘हामीले फास्ट ट्र्याकमा कानुन संशोधन गरेर फर्जी तमसुक खारेज गर्नुपर्छ भनिरहेका छौं। यसमा सरकार आलटाल गरिरहेको छ,’ उनले भने।
गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका उनीहरूले खास बस्नसमेत समस्या भइरहेको बताएका छन्। सरकारले छिटो समस्या समाधान गरिदिए आफूहरू घर फर्किने उनीहरूको भनाइ छ।
बुधबारको वार्तामा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ कानुनी प्रक्रियाअनुसार समस्या समाधान हुँदै जाने विश्वास दिलाएका थिए। कानुन संसोधनका लागि मस्यौदाको तयार भइसकेको र समस्या समाधानका लागि आयोग पनि गठन भएकोले पीडितहरूलाई घर फर्किन उनले आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
