मिटरब्याजको तातो तावाबाट लघुवित्तको भुंग्रोमा

मिटरब्याज र लघुवित्तको दोहोरो चेपुवामा ऋणी

मिटरब्याज र लघुवित्तको दोहोरो चेपुवामा ऋणी
न्याय माग्न तराईका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज तथा लघुवित्तपीडित शान्तिवाटिकामा बास बस्दै।  तस्बिर : राजकरण महतो

तराईका २० जिल्लाका मिटरब्याजपीडित काठमाडौं आएर सरकारसँग न्याय मागिरहेका छन्। जो मिटरब्याजको दलदलमा फसेकै छन्, त्यसमाथि लघुवित्तीय संस्थाको चंगुलमा पनि परेका छन्। दोहोरो चेपुवामा परेका उनीहरू समस्या समाधानको बाटो खोजिरहेका छन्। तर, मागको सुनुवाइ हुन सकेको छैन।

काठमाडौं : सप्तरी कञ्चनपुर–५ पिपराकी ५८ वर्षीया सोनादेवी सरदारले तीन वर्षअघि गाउँका साहु गणेश श्रेष्ठसँग ३० हजार ऋण लिइन्। त्यसपछि उनले पटक–पटक गरी १ लाख ५ हजार रुपैयाँ तिरिन्। तर, ऋण चुक्ता भइनसकेको भन्दै साहु गोठको लैनो भैंसी तान्न आए। सोनादेवीले बाध्यतावश लघुवित्त समूहबाट ऋण काढिन्। 

लघुवित्तबाट लिएको किस्ता रकम बुझाउँदा पनि मिटरब्याजी साहुले सबै ऋण चुक्ता नभएकै जिकिर गरे। थप ७५ हजार तिर्नुपर्ने भन्दै सोना देवीविरुद्ध जिल्ला अदालत सप्तरीमा मुद्दा हाले। अदालतले ०७८ मंसिर १७ गते श्रेष्ठकै पक्षमा फैसला गर्दै साँवा र चलनचल्तीको ब्याज सात दिनभित्र बुझाउन भन्यो। सोना देवीले उच्च अदालत जनकपुरको राजविराज इजलासमा पुनरावेदन गरिन्। उच्चले ०७८ असोज २६ गते जिल्लाकै फैसला सदर गर्‍यो। 

मिटरब्याज र लघुवित्तको किस्ताको दोहोरो चेपुवामा परेकी उनी त्यसयता प्रायः दिनभर जंगलमा लुकेर बसिन्। तिर्नै नसक्ने ऋणको भारीले थिचेपछि सोनादेवी अन्ततः सरकारसँग गुहार माग्न काठमाडौं आएकी छन्। उनीसहित पीडित न्याय माग्दै १४ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन्।

‘७ हजारको बाच्छो उसै (साहु)लाई दिएँ। ८ हजारको एउटा पाडो (राँगा) पनि दिएँ। त्यसले पनि पुगेन। गोठको एउटा गाई बिक्री गरेर पनि उसैलाई दिएँ’, सोनादेवीले भनिन्, ‘किस्तामा ऋण लिएर साहुसँग लिएको ३० हजारको १ लाख ५ हजार तिरेँ। त्यसपछि हामीसँग साहुले ७५ हजारको कागज गरायो। त्यही कागजले अदालतमा मुद्दा हाल्यो। अहिले हामीलाई जेल हाल्न पुर्जी आएको छ। अपराध गरेको भए पो जेल बस्नु ? यो वृद्ध उमेरमा जेल जाऊँ ? त्यहाँ गएर म मर्नु कि बाँच्नु ? मेरो सन्तानलाई कसले हेर्छ ?’ उनका श्रीमान् दृष्टिविहीन छन्। दुई जना सन्तान छन्।

कहिलेसम्म जंगलमा लुकेर बस्ने भनेर उनी लघुवित्तविरुद्ध कारबाहीका लागि सरकारसँग गुहार काठमाडौं आएकी छन्। ‘साहुले हामीलाई ऋण तिरेको कुनै प्रमाण दिएन। एक बित्ता पनि जग्गा छैन। हाम्रो खाने उपाय छैन। हाम्रो उद्धार गरिदिनुस्। जेल नपठाउनुस् भनेर सरकार गुहार काठमाडौं आएको छु’, उनले भनिन्, ‘साहुले हामीलाई पक्रिन घरमा पुलिस पठाउँछ। लघुवित्तका कर्मचारीले किस्ता तिर्न दबाब दिन्छ। आम्दानी छैन । कहाँबाट तिरौं ? त्यसको डरले दिनभर जंगलमा लुकेर बस्नु परेको छ।’

सोनादेवीको जग्गा एक धुर पनि छैन। उनी सुकुम्बासी हुन्। कोसीको जंगलबाट दाउरो ल्याएर जीवन चलाउँछिन्। ‘वनरक्षकले त्यो दाउरो पनि कहिलेकाहीँ समाउँछ। त्यो दिन रित्तै घर फर्किनुपर्छ। भोकै रात काट्नुपर्छ’, उनले भनिन्, ‘जंगलमा लुक्न जान्छौं। त्यहाँ पनि हात्ती आउँछ। अब कहाँ जाऊँ ? कति दिन जंगलमा लुकेर बस्नु ? बरु लड्नुपर्छ भनेर काठमाडौं आएकी छु।’

सोनादेवीकी छिमेकी ५५ वर्षीया सियादेवी सरदारको समस्या पनि उस्तै छ। उनी पनि मिटरब्याजी साहु र लघुवित्तको ऋणमा चुर्लुम्म डुबेकी छन्। गाउँमा कोही नयाँ मान्छे देख्यो कि उनी लुक्न जंगलतिर दौडिन्छिन्।

लघुवित्तका कर्मचारीले उनलाई फकाएर सदस्य बनाए। बचत गर्दै भएपछि उनले त्यहाँबाट ऋण लिइन्। किस्ता तिर्न भने उनलाई समस्या भयो। सात वर्षअघि गाउँकै साहु राजु यादवसँग लघुवित्तको किस्ता तिर्न उनले ३० हजार ऋण लिइन्। साहुले ६ लाख पर्ने सवा कट्ठा खेत पास गरायो। सियाले ३० हजारको १ लाख तिरिसकेकी छन्। तर, साहुले १ लाख अझै माग्दै छन्। 

सिया दैनिक ज्यालामजदुरी गरेर जीवन चलाउँछिन्। साहुको ऋण र लघुवित्तको किस्ता तिर्न नसक्दा उनको दिनचर्या बिथोलिएको छ। ‘खान पुग्दैन। लघुवित्तका कर्मचारी र साहु घरमै पैसा माग्न आउँछ। साहुलाई लिएको ऋणभन्दा बढी नै दिइसकेँ’, उनले भनिन्, ‘लघुवित्तले फकाएर ऋण दियो। उसले पनि ब्याज बढाएको बढाएछ। हामी गरिब मर्नु न बाँच्नुको अवस्थामा पुग्यौं।’

लघुवित्तबाट किस्तामा लिएको ऋण तिर्न कर्मचारीले दबाब दिन थालेपछि उनले गाउँका साहुसँग ऋण लिएर किस्ता तिरेकी थिइन्। ‘साहुसँग कति लुकेर भागौं ? काठमाण्डुमा लड्न आएको छु। जुलुस लगाएर सरकारसँग समस्या सुनाउन आएको छु। कर्जाको समस्या सरकारले समाधान गरिदिओस्,’ उनले भनिन्, ‘सरकारले हामी गरिबको जग्गा साहुबाट फिर्ता दिलाओस्।’

सिरहा बस्तीपुरकी सोनीयादेवी राम पाइला–पाइला ठगिएकी छन्। उनी पनि न्यायको खोजीमा काठमाडौं आएकी छन्। उनी कहिले एजेन्टबाट ठगिइन् भने कहिले लघुवित्तको ब्याजले थिचिइन्। कहिले मिटरब्याजी साहुको जालमा परिन्। उनी चरम गरिबीको चपेटामा परेकी छन्। जसले ६ वर्षअघि ५० हजार ऋण लिइन्। श्रीमान् जितन रामलाई उनले मलेसियातिर उडाइन्। त्यहाँ काम नपार जितन एक महिनामै फर्किए। ऋण तिर्न सोनियाले लघुवित्तबाट फेरि २ लाख उठाइन्। दोस्रोपटक उनले श्रीमान्लाई विदेश पठाइन्।  ‘एजेन्टले २ लाख लियो। विदेश पठाइदिन्छु भनी काठमाडौं बोलायो। तर, विदेश नपठाएर घर फिर्ता पठाइदियो। एजेन्टले त्यो २ लाख पनि ठग्यो’, उनले भनिन्।

अढाई लाख ऋण पर्‍यो। ऋण तिर्नकै लागि तेस्रोपटक लघुवित्त समूहबाट २ लाख कर्जा लिइन्। पतिलाई तेस्रोपटक तीन वर्षअघि साउदी अरब पठाइन्। श्रीमान्ले थोरबहुत कमाएर पठाउँछन्। त्यसले उनलाई किस्ता तिर्न र परिवार चलाउन हम्मेहम्मे परेको छ।

‘साहुसँग लिएको ५० हजारको ६ लाख माग्छ। थोरै ब्याजमा किस्तामा ऋण उठाए। अहिले ब्याजमाथि ब्याज थपिदिएको छ। अब कहाँबाट तिरौं?’, उनले भनिन्, ‘किस्ता रकम तिर्न नसक्दा ग्यास चुलो उठाउन आउँछ। गालीबैज्जती गर्छ। हामी गरिबलाई कहीँ सुख छैन।’ सरकारले गरिबलाई मिटरब्याजकोे दलदलबाट निकाल्नुपर्ने र लघुवित्तको ऋण मिनाहा गर्नुपर्ने मागसहित आन्दोलन गर्न काठमाडौं आएको उनले बताइन्।

सप्तरी राजपुरकी ४० वर्षीया नेमादेवी चौधरी पनि मिटरब्याज साहु र लघुवत्तिको चंगुलमा फसेर हैरान छिन्। उनी सात वर्ष अवधिमा ६ वटा लघुवित्तको समूहमा बसिन्। लघुवित्तले ऋण दियो। पछि उनले किस्ता तिर्न सकिनन्। लघुवित्तका कर्मचारी घर घेर्न आए। उनले बाध्य भएर सप्तरीकै साहु रामनारायण साहुबाट ४ लाख ऋण लिइन्। २५ लाख पर्ने १५ धुर घडेरी र ८ कट्ठा खेत साहुले रजिस्टे«सन पास गरायो। ४ लाखको १० लाख तिर्न उनी तयार छन्। तर, उनीसँग साहुले १८ लाख माग्छ। 

‘खेत पास गराएर साहुले ८ लाखको तमसुक पनि गराएको थियो। पैसा नतिरे अदालतमा मुद्दा हाल्छु भनेर धम्की दिन्छ’, उनले भनिन्, ‘कहाँबाट त्यत्रो पैसा तिरौं ?’ किस्ता तिर्न नसक्दा उता लघुवित्तवालाले गालीबेज्जती गर्ने गरेको उनले सुनाइन्। ‘खोजखाज गरेर एक हजार, दुई हजार किस्ता तिर्छौं तर मान्दैन। जमिन बिक्री गरेर तिर भन्छ’, उनले भनिन्, ‘जमिन त साहुकहाँ छ। कहाँबाट तिरौं ?’लघुवित्तले गरिब तथा विपन्न महिलालाई फकाएर ऋणमा डुबाएको उनले बताइन्। किस्ता तिर्न साहुसँग ऋण लिँदा मिटरब्याजमा फसेर उठिबास भएको नेमादेवीले बताइन्।
‘लघुवित्तवालाहरू घरमै आउँथ्यो। समूहमा बस भन्थ्यो। समूहमा बस्ने मन नहुँदा पनि फकाएर समूहमा एक हजार बचत गराउन लगायो’, उनले भनिन्, ‘पछि बचत बढेर दोहोरो, तेहोरो पाइन्छ भन्यो। हो त भनेर बसेँ। अहिले त्यसैबाट लागेको ऋणले निद्रा बिथोलियो।’

उनका चार छोरी छन्। सबै स्कुल पढ्छन्। श्रीमान् विदेशमा पसिना बगाइरहेका छन्। त्यहाँको कमाईले छोराछोरी पढाउनै ठिक्क भएको उनले सुनाइन्। भनिन्, ‘लघुवित्तले पनि गरिबसँग मिटरब्याज नै लिन्छ। पहिला १८ प्रतिशत लिन्थ्यो। लकडाउनपछि १५ प्रतिशत गरिदियो। तर, तिर्नै नसक्ने गरी ऋण बढाएर ब्याज घटाएको छ। आम्दानी छैन। कहाँबाट किस्ता तिर्ने ? ऋण दिएर पल्कायो अनि पछि हामीलाई फसायो।’

सप्तरीको शम्भुनाथ नगरपालिका–११ की ललिता चौधरीलाई लघुवित्त र साहुसँग लिएको ऋण गलपासो बनेको छ। ऋणले उनको उठिबास भएको छ। उनी पनि सरकारसँग गुहार माग्न काठमाडौं आएकी छन्। लघुवित्तको किस्ता तिर्न उनले सप्तरीकै कौशल राजपुतसँग चार वर्षअघि ७ लाख ऋण लिइन्। साहुले ३० लाखको कागज बनायो। अनि १० कट्ठा जग्गा पनि पास गरायो।

nullमिटरब्याजी साहुले कब्जा गरेको जग्गा फिर्ता र जाली तमसुक खारेजको माग गर्दै माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका किसान मजदुरहरू।   

‘अहिले साहुले ३० लाख माग्दै छ। नदिएर जग्गामा भएको घर भत्काएर जाउ भन्छ ’, उनले भनिन्, ‘१२ वटा लघुवित्तबाट ऋण लिएको थिएँ। कहिले बच्चा बिरामी हुँदा लिए त कहिले श्रीमान्लाई विदेश पठाउन। सबैतिर ठगिँदै गयौं। अहिले लघुवित्त र मिटरब्याजले हाम्रो उठिबास गरायो।’ 
रातदिन उनको घरमा साह र लघुवित्तका कर्मचारी जान्छन्। उनीहरूलाई देख्नेबित्तिकै गाउँमा भागाभाग हुने गरेको उनले सुनाइन्। भनिन्, ‘गाईमाल खोल्न आउँछ। अनि हामी केटाकेटीलाई घरमा डाकेर हामी फूलबारी तिर लुक्न जान्छौं।’

सिरहाको बस्तीपुरकी ५५ वर्षीया स्वाघी देवी रामको व्यथा पनि कम छैन। उनलाई पनि मिटरब्याजी ऋण र लघुवित्तको किस्ताले च्यापेको छ। उनको ५ कट्ठा थियो। त्यो पनि मिटरब्याजमा पसेको छ। छोरोलाई विदेश पठाउन साहु प्रितम यादवसँग ६० हजार ऋण लिएकी थिइन्। त्यसको ७ लाख तिरिसके। अझै १२ लाख माग्दैछन्। ऋण दिँदा १५ लाख पर्ने जग्गा साहुले आफ्नो नाममा गराइएको थियो। त्यो जग्गा पनि फर्काउन मान्दैन।
उनले साहुलाई ऋण तिर्न लघुवित्तहरूसँग किस्तामा ऋण उठाएकी थिइन्। अहिले ऋणमा जग्गा पनि फसेको छ, उता लघुवित्तको किस्ता पनि तिर्न हम्य हम्य परेको छ।
‘लघुवित्तको सबै तिरिदिन्छौं। फेरि भन्छ, अझै बाँकी छ। फेरि ऋण खडा गरिदिन्छ। कहाँबाट तिरौं। ३ लाख हुन्छ’, उनले भनिन्, यस्तै हो भने जीवनमा हामी गरिब कहिले पनि अघि बढ्न सक्दैनौं। सरकारले हाम्रो समस्या सुनेर हामीलाई ऋण मुक्त गराइदियोस्।’

‘बचत गर्नुस्। साँवा र ब्याज चाँडै दोब्बर बन्छ’, लघुवित्तका कर्मचारीहरू ग्रामीण भेगका महिलाहरूलाई यस्तै भन्दै फकाउँछन्। समूहमा बस्न लगाउँछन्। एकै जनालाई दर्जनौं लघुवित्तले ऋण दिन्छ। किस्ता तिर्न नसक्दा लघुवित्तले उनीहरूलाई धम्क्याउँछ। कहिले घरको मालसामान उठाउन आउँछन् त कहिले दिदीबहिनीहरूले बाध्य भएर लघुवित्तिको किस्ता तिर्न गाउँको साहुसँग ऋण लिन्छन्। यति गर्दासम्म गाउँका महिलाहरू लघुवित्तको ऋणमा फसिसकेका हुन्छन् भने, मिटरब्याजीले घरजग्गा हडपिसकेको हुन्छ।

पीडितहरूले मिटरब्याजी साहुको ऋण तिर्न लघुवित्तसँग कर्जा लिन्छ भने लघुवित्तको ऋण तिर्न साहुको भर पर्छन्। लघुवित्त र मिटरब्याजी साहुको ऋणको नदी डुब्दा पीडितमा बैचेनी बढ्दो छ। मिटरब्याजी साहुसँग लिएको ऋणभन्दा धेरै तिर्दा पनि पीडितको जग्गा जमिन हडपेर उठिबास भएको छ। उता लघुवित्तले ऋणमाथि ब्याज थपेको थपै गरेको पीडितहरू बताउँछन्। न्याय माग्न मधेसका २० जिल्ला पीडित काठमाडौं आएर दुई सातादेखि सरकार गुहारिरहेका छन्।

मिटरब्याजी साहुले हामीलाई पक्रिन घरमा पुलिस पठाउँछ। लघुवित्तका कर्मचारीले किस्ता तिर्न दबाब दिन्छ। आम्दानी छैन । कहाँबाट तिरौं ? त्यसको डरले दिनभर जंगलमा लुकेर बस्नुपरेको छ।’
सोनादेवी सरदार, पीडित 

साहुको ऋण र लघुवित्तको किस्ता तिर्न नसक्दा लघुवित्तका कर्मचारी र साहु घरमै पैसा माग्छ आउँछ। साहुलाई लिएको ऋणभन्दा बढी नै दिइसकें। लघुवित्तले फकाएर ऋण दियो। ब्याज बढाएको बढाएछ। हामी गरिब मर्नु न बाँच्नुको अवस्थामा छौं।
सियादेवी सरदार, पीडित

पीडितमाथि लाठी

आन्दोलनरत मिटरब्याजपीडितमाथि सोमबार शान्तिवाटिकामा प्रहरीले लाठी प्रहार गरेको छ। उनीहरू शान्तिवाटिकाबाट बृहत् मार्चपासका लागि बाहिर निस्किन खोज्दा प्रहरीले गेटमा रोकेको थियो। त्यसपछि धकलाधकेल भएको थियो। 

प्रहरीको लाठी प्रहारबाट २२ मिटरब्याजपीडित घाइते भए। ९ जनाको उपचार राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा भइरहेको ट्रमाका सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले बताए। उनका अनुसार अधिकांश घाइतेको टाउको र शरीरका विभिन्न अंगमा चोट देखिएको छ। पक्राउ परेका ३५ प्रदर्शनकारीलाई प्रहरीले सोमबार साँझ छाडेको थियो।

प्रहरीतर्फ डीएसपीसहित १० जना घाइते भएका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी हिमालकुमार श्रेष्ठले बताए। भीड तितरवितर पार्न प्रहरीले लाठीचार्ज र अश्रुग्याससमेत प्रहार गरेको थियो। प्रहरी र मिटरब्याज पीडितबीच धकेलाधकेल भएपछि शान्तिवाटिका क्षेत्र तनावग्रस्त बनेको थियो।nullमिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका उपाध्यक्ष कुलबहादुर थापाको टाउकोमा गम्भीर चोट लागेको छ। असोजमा पनि उनको टाउको फुटेको थियो। प्रहरीको कुटाइबाट घाइते भएका नवलपरासीका अकबर मियाँ, तीलराम चौधरी, इलामका लोकनारायण सुवेदीको पनि उपचार भइरहेको छ। सर्लाहीको कृष्णानन्द महतो, ओखलढुंगाका प्रदीप नेपाल, बालाजुका सीताराम तामाङ, रुकुमका यमकुमारी ददेल र सिरहाको बेवी देवी घाइते भई ट्रमा सेन्टरमा उपचार गराइएका छन्।

गृह मन्त्रालयमा बिहीबार सरकारसँग पाँचौं पटक वार्ता भएको थियो। तर, वार्ता भंग भएपछि पीडितले सोमबारदेखि आन्दोलन चर्काएका हुन्। नवलपरासीका प्रेम नारायणले भने, ‘मिटरब्याजीले हडपेको खेत सरकारले फिर्ता गराउनुपर्छ। फर्जी तमसुक च्यात्नुपर्छ। हाम्रो माग पूरा 
नभएसम्म घर फर्किनौं।’

असोज १ गते पौने महिना माइतीघरमा धर्ना बस्दा सरकारले पाँच बुँदे सम्झौता गरेको थियो। उक्त सम्झौता कार्यान्वयन नभएपछि पीडितहरू चैत २० गते फेरि काठमाडौं आएका हुन्। पैदल हिँडेर काठमाडौं आएका टोलीसँग सरकारले चैत १८ गते पाँचबुँदे सम्झौता परेको थियो। पीडितले सरकारसँग फर्जी तमसुक खारेजी र अदालतमा चलिरहेको मुद्दा रोक्नुपर्नेलगायत ६ बुँदे माग राखेका छन्। तर, सरकार उनीहरूको मागमा गम्भीर नदेखिएपछि पटक–पटकको वार्ता निष्कर्षविहीन सकिएको हो।

संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मिटरब्याजी साहुलाई कारबाही गर्न कानुन संशोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए। ‘हामीले फास्ट ट्याकमा कानुन संशोधन गरेर फर्जी तमसुक खारेज गर्नुपर्छ भनिरहेका छौं। यसमा सरकार आलटाल गरिरहेको छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.