तार उद्योगमा ४ अर्ब लगानी
बुटवल : बुटवल औद्योगिक क्षेत्रमा रहेको लिटमस इन्डस्ट्रिजले केवल उद्योगमा ४ अर्ब लगानी गरी उत्पादन विस्तार गरेको छ। लुम्बिनी विद्युत्को नामबाट ४६ वर्षअघि बुटवलमा स्थापना भएको कम्पनीले लिटमस ब्रान्डको तार उत्पादन गरिरहेको छ। नाम परिवर्तन गर्दै लिटमस कम्पनीले बुटवल औद्योगिक क्षेत्रमा एक अर्ब लगानी गरिसकेको छ।
कम्पनीले नवलपरासीमा दोस्रो प्लान्टको तयारी गरेको छ। कम्पनीका उपाध्यक्ष सरोज मिश्रले उद्योग विस्तारका लागि नवलपरासीमा १५ बिघा जमिन लिइएको बताउँदै संरचना निर्माणको थालनी भएको बताए।
‘हामी तार आयातलाई प्रतिस्थापन गर्ने योजनासहित लगानी विस्तार गरिरहेका छौं, उनले भने, ‘घरायसी तथा प्रसारण लाइनमा प्रयोग हुने ४०० केभीए क्षमताका कन्डक्टरदेखि तारसम्म अहिले बनिरहेका छन्।’ बुटवल औद्योगिक क्षेत्रको दुई बिघा प्लट साँघुरो भएपछि नवलपरासीमा उद्योग विस्तार गर्नु परेको मिश्रले बताए। यो उद्योगको मातृ कम्पनी भने रमेश कर्प हो।
रमेश कर्पले बुटवलको लिटमसमा मात्रै एक अर्ब लगानी गरिसकेको उपाध्यक्ष मिश्रले बताए। कम्पनीले जर्मन प्रविधिका आधुनिक मेसिन भित्र्याएको छ। विद्युतीय तार उत्पादनमा आधुनिकता भित्र्याउने लिटमस नै पहिले कम्पनी रहेको मिश्रले बताए। कम्पनीले सन् १९९६ मै नयाँ उत्पादन भारतीय बजारमा निर्यात गरेको थियो। अहिले पनि लिटमसका उत्पादन भारत बंगलादेश, भुटानमा बिक्री हुन्छन्।
ओभरहेड कन्डक्टर, तार र केवल तथा इनामेल तार यसका प्रमुख उत्पादन हुन्। कम्पनीका महाप्रबन्धक प्रकाश राजपुरियाले गुणस्तरीय उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिएको बताउँछन्। घरायसी तारसहितका केवलमा एकाधिकार जमाउँदै आएको कम्पनीले सन् २०१० मा नेपाल गुणस्तर चिह्न प्राप्त गरेको थियो।