सुर्तीजन्य पदार्थमा कर बढाउन माग
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा सुर्तीजन्य पदार्थमा कर वृद्धिको माग गरिएको छ।
सुर्तीजन्य पदार्थको उपभोगकर्ता बढ्दै गएकोले न्यूनीकरण गर्न आगामी आवको बजेट, नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थमा लगाउँदै आएको करलाई वृद्धि गर्न माग गरिएको हो। नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर विश्वका अन्य मुलुकको दाँजोमा ज्यादै न्यून छ।
चिकित्सकका अनुसार, सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने किसिमका रोगहरू जस्तै फोक्सोको क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुसम्बन्धी रोग, मिर्गौलासम्बन्धी रोगहरू लाग्छन्। एक अध्ययनअनुसार, नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५ सय २९ जनाको मृत्यु हुने गरेको छ। नसर्ने रोगको मुख्य कारकका रूपमा रहेको सुर्तीजन्य पदार्थको सेवनबाट प्रतिघण्टा चार जनाभन्दा धेरै मानिसले ज्यान गुमाइरहेका छन्। जुन संख्या नेपालको कुल मृत्युको १९.४१ प्रतिशत हुन आउँछ।
सुर्तीजन्य पदार्थको सेवनको मात्रा न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि हाल नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या ३२ प्रतिशत रहेको छ। मुलुकमा २३.१० प्रतिशत पुरुष र ८.५ प्रतिशत महिला रहेको पाइएको छ।