लमजुङका स्थानीय तहमा २२ करोड बेरुजु
बेंसीसहर : लमजुङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ५ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा लमजुङका ८ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको ९ अर्व ६४ करोड १२ लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २ दशमलव २८ प्रतिशत बेरुजु देखिएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु दखिएको थियो । कार्यान्वयमा रहेको कूल ७ अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा २ दशमलव ९५ प्रतिशत रकम बेरुजु देखिएको थियो । आव २०७६/०७७ मा लमजुङका ८ वटा स्थानीय तहमा ७ अर्ब ३६ करोड ३६ लाख ४१ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ३ दशमलव ३५ प्रतिशत अर्थात २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु निस्किएको थियो ।
संघीय सरकार अनुदान, प्रदेश सरकार अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र अन्य आय गरी ६ शीर्षकको बजेटको लेखा परीक्षण गरिएको थियो ।
प्रतिवेदन अनुसार प्रतिशतको आधारमा सवैन्दा बढी राइनास नगरपालिकामा ४ दशमलव ११ प्रतिशत बेरुजु रहेको पाइएको छ । राइनासमा १ अर्ब ३९ करोड ३८ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण भएको ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
सबैभन्दा कम प्रतिशतको आधारमा मस्र्याङ्दीमा ० दशमलव ७२ प्रतिशत बेरुजु देखिएको छ । मस्र्याङ्दीमा १ अर्ब ३ करोड ९२ लाख ६८ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा ७५ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
क्व्होलासोंथार गाउँपालिकामा ७१ करोड ७४ लाख २३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ६ प्रतिशत अर्थात २ करोड १९ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको छ । दोर्दी गाउँपालिकामा १ अर्ब २० करोड २३ लाख ९५ हजार बजेटको लेखा परीक्षण गरिएकोमा ३ दशमलव ४१ प्रतिशत अर्थात ४ करोड ९ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ । दूधपोखरी गाउँपालिकामा ७८ करोड २ लाख ९९ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ३३ प्रतिशत अर्थात १ करोड ८१ लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार मध्यनेपाल नगरपालिकामा १ अर्ब ४५ करोड ५ लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा २ दशमलव ०४ प्रतिशत अर्थात २ करोड ९५ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको छ । सुन्दरबजार नगरपालिकामा १ अर्ब ५१ करोड ४१ लाख ३ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा २ करोड ८० लाख ५७ हजार रुपैयाँ अर्थात १ दशमलब ८५ प्रतिशत बेरुजु देखिएको छ ।
बेंसीसहर नगरपालिकामा १ अर्ब ५४ करोड ३४ लाख ६० हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएकोमा १ करोड ६९ लाख ९७ हजार रुपैयाँ अर्थात १ दशमलव १ प्रतिशत बेरुजु देखिएको छ ।