‘नेपाली समाजको पुनर्लेखन गर्नुपर्छ’
काठमाडौं : संस्कृतिमन्त्री सुदन किराँतीले नेपाली समाज, इतिहास र संस्कृतिको पुनर्लेखन गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३९औं प्राज्ञसभाको सोमबार उद्घाटन गर्दै उनले भने, ‘पुनर्लेखनबाट अब समाजवादी संस्कृति अंगीकार गर्ने वातावरण तय गर्नुपर्छ।’
प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले नेपालका सम्पूर्ण भाषासाहित्य र संस्कृतिको प्राज्ञिक खोज, अनुसन्धान गर्दै नयाँ संस्कृति निर्माण गर्नुपर्ने तर्क गरे। उपकुलपति विमल निभाले प्राज्ञिक क्षेत्रको समष्टि रूप नै प्रज्ञा भएको बताए।
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले समग्र भाषाहरूको उत्थान र विकासमा जोड दिँदै प्रतिष्ठानसँग समन्वय गर्दै अघि बढ्ने जानकारी दिए। राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले स्रष्टाहरूको प्रतिलिपी अधिकार सुरक्षित गर्न तत्पर रहेको बताए।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले प्राज्ञिक क्षेत्रको सर्वाङ्गीण विकासका लागि आफू लागि पर्नेमा जोड दिए।
नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति निशा शर्माले एकापसमा सांस्कृतिक क्षेत्रको उन्नयन र सहकार्यका लागि प्रतिबद्ध रहेको बताइन्।