चापाकोटका ११ हजार ५१० भेडा बाख्रालाई पीपीआर खोप
स्याङ्जा : चापाकोट नगरपालिकाले घरमा पालिएका भेडा बाख्रालाई पीपीआर खोप लगाइदिएको छ।
नगरभित्रका ११ हजार ५ सय १ भेडा बाख्रालाई खोप लगाएको हो। ती मध्ये ११ हजार ४ सय ७४ वटा बाख्रा र ३६ भेडा छन्।
भेडा बाख्रामा लाग्ने मौसमी रोगबाट बचाउन र रोगसँग लड्ने क्षमता बढाउने उद्देश्यले नगरभित्रका भेडा बाख्रालाई प्राविधिक सहितको टोली घर घरमा पुगेर निःशुल्क पीपीआर खोप लगाइदिएको हो।
मानिसमा जस्तै भेडा बाख्रामा पनि ज्वरो आउने, पखाला लाग्ने, नाकबाट सिंगान बग्ने जस्ता संक्रमण हुन सक्ने जनाउँदै ती संक्रमणबाट जोगाउन पीपीआर खोप अभियान सञ्चालन गरिएको चापाकोट नगरप्रमुख देवबहादुर खाँण (इश्वर)ले जानकारी दिए।
प्राविधिक सहितका टोली सबै टोलटोलमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको उपप्रमुख ईशा रानाले जानकारी दिइन्। नगरपालिका र किसान प्राविधिक शिक्षालयका ३८ जना प्राविधिकको टोलीले १३ दिनमा १० वटा वडाका सबैलाई पायक पर्ने टोलमा पुगेर खोप लगाए।’
प्रायजसो वर्षाको समयमा भेडा बाख्रामा ज्वरो देखिने, घाँसपात खान रुचि नदेखाउने, झोक्राउने लगायतका लक्षण देखिन्छन्।
सरुवा रोग भएकाले यसको नियन्त्रणका लागि अहिले नै भेडा बाख्रालाई खोप दिनुपर्ने भएकाले खोप अभियान सञ्चालन गरेको पशु शाखा प्रमुख भुपराज भण्डारीले बताए।
खोप दिएपछि भेडा बाख्रामा ती संक्रमणबाट लड्न सक्ने क्षमता बढ्छ। यसपछि कुखुरा, गाई भैसीमा पनि खोप दिने तयारीमा जुटेको पालिकाले जनाएको छ। गत वर्ष स्याङ्जाका केही स्थानमा संक्रमण देखिएपछि केही भेडा बाख्रा मरेका थिए।