कोसी प्रदेशका मुख्यमन्त्रीले सार्वजनिक गरे सय दिने उपलब्धि
विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको सय दिने उपलब्धि सार्वजनिक गरेका छन्।
प्रदेश राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध मन्त्रीसहित मंगलबार पत्रकार सम्मेलन गरेर कार्कीले आफू नेतृत्वको सरकारले सय दिनमा गरेका कामको फेहरिस्त बाहिर ल्याएका हुन्।
प्रदेश सरकार टिकिरहन्छ कि ढल्छ भन्ने आमचासो रहिरहेका बेला सरकारले जनतामा आशा जगाउने खालका केही काम गरेको भन्दै उनले आफू मुख्यमन्त्री भएपछिका उपलब्धि सार्वजनिक गरेका छन्। उनले शासकीय सुधार, प्रदेशको नामकरण, विकास निर्माण, कृषि क्षेत्रमा अनुदान, सरकारको खर्च कटौती, कोरोनाविरुद्धको खोप, योजना एवं कानुन निर्माण लगायतलाई उपलब्धि मानेका छन्।
कार्कीले गत पुस २५ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। उनले प्रदेश सरकारलाई खर्चको बोझ थपिएको भन्दै मन्त्रालयको संख्या घटाएर १३ बाट ९ बनाएका थिए। त्यसलाई उनले सरकारको मुख्य उपलब्धि मानेका छन्। प्रदेशको नामकरणको विषयलाई पनि कार्कीले उपलब्धिमा समेटेका छन्। प्रदेशसभाको दुई तिहाईभन्दा बढी बहुमतबाट प्रदेश १ लाई गत फागुन १७ गते कोसी प्रदेश नामकरण गरिएको थियो।
कार्कीले यस अवधिमा सरकारको प्रशासनीक खर्चमा मितव्ययिता कायम गर्दै सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन गरिएको तथा सरकारको चालू खर्चमा २५ प्रतिशत कटौती गरेर स्रोत व्यवस्थापनको प्रयास गरिएको जानकारी दिए।
मुख्यमन्त्रीले सार्वजनिक गरेको उपलब्धिमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई क्षमतावृद्धिका लागि तालिम प्रदान गरिएको, प्रदेशका १५ वटा स्थानीय तहको अद्यावधिक योजना निर्माणलाई अगाडि बढाएको, प्रदेशसभाबाट २ वटा विधेयक पास भएको, ४ वटा विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको तथा ४ वटा नियमावली स्वीकृत भएको एवं प्रदेश सरकारको नियमावली तथा कार्यविधि, निर्देशिका बनेको उल्लेख छ।
व्यावसायिक हिसाबले दूध उत्पादन गर्ने १६ हजार ९५ जना किसानलाई प्रति लिटर २ रूपैयाँका दरले १ करोड १७ लाख अनुदान दिएको, किसानलाई ४०७ मेट्रिक टन पांगारिक मल उपलब्ध गराएको, ४६८ वटा बोयर जातका बाख्रा वितरण गरेको भनेर कार्कीले सरकारले उपलब्धिमा समेटेका छन्।
उनका अनुसार ७५० हेक्टर जमिनमा सिँचाइ सेवा पुर्याएको, करिव ६० वटा नदी नियन्त्रण योजना बनाइएको, साना सिँचाई कार्यक्रममार्फत क्रमागत करिव ५० वटा योजना सम्पन्न गरिएको, प्रदेशभरमा १५ वटा खानेपानी आयोजना सम्पन्न गरेको र प्रदेशभित्रका करिव २५ हजार नागरिकलाई पर्याप्त तथा शुद्ध खानेपानीको सुविधा पुर्याइएको छ।
त्यस्तै सय दिनभित्रमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनका क्रममा मृत्यु भएका प्रदेशका १ हजार ४५० जनाको परिवारलाई प्रति परिवार १ लाखका दरले १४ करोड ५० लाख सहयोग गरिएको उनको भनाइ छ।
८ लाख ३० हजार ६१० जनालाई कोरोनाको बुस्टर डोज लगाइएको, प्रदेशभित्र ११६ किलोमिटर सडक कालोपत्रे गरिएको, ३ वटा झोलुंगे पुल निर्माण गरिएको र १५ वटाको निर्माण अन्तिम चरणमा पुगेको मुख्यमन्त्री कार्कीले बताए। उनका अनुसार कोसी प्रदेश समन्वय परिषद्लाई पूर्णता दिइएको र सरकारको सेवा प्रवाह एवं विकास व्यवस्थापन सम्बन्धी स्थितिपत्र २०७९ तर्जुमा गरिएको छ।
कार्कीले ९० वटा सामुदायिक वन तथा ३३ वटा कबुलियती वनको कार्ययोजना नवीकरण भएको विषयलाई पनि उपलब्धिका रूपमा सार्वजनिक गरेका छन्। उनका अनुसार प्रदेशमा समग्र कृषि क्षेत्रको व्यवस्थित र योजनावद्ध विकासका लागि १० बर्से योजनासहित २० बर्से कृषि विकास रणनीतिको मस्यौदालाई अन्तिम रूप दिने कार्य पनि भइरहेको छ।