डिजिटाइजेसनमा क्रान्ति
विद्युतीय वालेटका प्रयोगकर्ता एकै वर्ष ४७.५ प्रतिशतले बढेर १ करोड ६७ लाखभन्दा बढी
काठमाडौं : वित्तीय सेवामा ६० को दशकभन्दा ७० को दशकमा खासै परिवर्तन नदेखिए पनि मुलुक विद्युतीय भुक्तानीमा फड्को मार्न सफल भएको छ। समयको कालखण्डले अधिकांश कारोबार अनलाइन भुक्तानीमा परिणत भएको छ। कोभिड– १९ का कारण विद्युतीय भुक्तानीको सुरुवात गरेको देखिन्छ। परिणामस्वरूप वालेट, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका माध्यमबाट नगदरहित कारोबार फस्टायो। यसर्थ यो दशकलाई डिजिटाइजेसनमा क्रान्तिको संज्ञा दिन सकिने सरोकारवालाहरू बताउँछन्।
बैंकिङ क्षेत्रसँगै समग्र मुलुकमा ई–पासपोर्ट, स्मार्ट लाइसेन्स, विद्युतीय माध्यमबाट राष्ट्रिय परिचयपत्रको सुविधालगायतमा डिजिटाइजेसन भएको दशक बनेको अनुभव गर्न सकिन्छ। अधिकांश सरकारी कामहरू पनि डिजिटाइजेसनमा परिणत भएका छन्। यसै क्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी यो दशकमा बैंकिङ क्षेत्रले डिजिटाइजेसनमा ठूलो फड्को मारेको अनुभूति गर्छन्। ‘अघिल्लो दशकमा अनलाइन सपिङ खासै थिएन तर ७० को दशकमा फुडमान्डु, दराजलगायतका अनलाइनबाट खाना, खाजा अर्डरदेखि कपडाजस्ता उपभोग्य वस्तुहरू खरिद गर्ने प्रचलन बढेको छ,’ उनले अन्नपूर्णसँग भने।
विशेष गरेर बैंक तथा वित्तीय संस्थामा डिजिटाइजेसनको फड्कोको अनुभूति गर्न सकिन्छ। नेपाल राष्ट्र बैंकका अनुसार जारी गरेका विद्युतीय बैंकिङ (ई–बैंकिङ) उपकरणमा प्रयोगकर्ताको संख्या र कारोबार दिनप्रतिदिन बढ्दै गएको छ। विद्युतीय वालेट, प्रिपेड कार्ड,
कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्डलगायतमा प्रयोगकर्ता बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि पुष्टि गर्छ।
यी उपकरणबाट क्यूआर (क्विक रेस्पोन्स) कोड प्रयोगबाट भुक्तानी प्रभावकारी बन्न थालेको छ। क्यूआरमा आधारित भुक्तानी चालू आर्थिक वर्षको ८ महिनासम्ममा ६७ लाख ५० हजार ५ सय ८२ पटकसम्म २० अर्ब ७७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। समयको माग, सरल, सहज भएकाले युवा पुस्ता यसमा आकर्षित छन्।
बैंकहरू र भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेको विद्युतीय वालेटका प्रयोगकर्ता एकै वर्ष ४७.५ प्रतिशतले बढेका छन्। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकनुसार वालेटको प्रयोगकर्ता १ करोड ६७ लाख ५१ हजार पुगेको छ। गत वर्षको सोही अवधिमा १ करोड १३ लाख हाराहारीमा थिए। यसबीच वालेटका प्रयोगकर्ता ५३ लाख ९४ हजारको संख्यामा वृद्धि भएको छ।
यसपछि प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या पनि ३९.५ प्रतिशतले बढेको छ। संख्यामा भने १ लाख ३० हजार हाराहारी पुगेका छन्। यस अवधिमा साढे ३४ हजारले यस वर्ष बढेको तथ्यांकमा उल्लेख छ। गत वर्षको सोहि अवधि ९५ हजार हाराहारीमा थिए।
यसबीच कनेक्ट आईपीएसका प्रयोगकर्ता ३०.२ प्रतिशतले बढेका छन्। गत वर्ष ८ लाख १७ हजार हाराहारीको यसका प्रयोगकर्ता २ लाख १९ हजारले बढेर हाल १० लाख ३६ हजार पुगेको छ।
यस्तै, बैंक तथा वित्तीय संस्थामा डेबिट कार्डका प्रयोगकर्ता २४ प्रतिशतले बढेर १ करोड १८ लाख ७४ हजार पुगेका छन्। यसैगरी, क्रेडिट कार्डका प्रयोगकर्ता २८.३ प्रतिशतले बढेर २ लाख ८२ हजार हाराहारीमा पुगेका छन्। यसैगरी मोबाइल बैंकिङका ग्राहक २३.७ प्रतिशतले बढेर १ करोड ९५ लाख २५ हजार पुगेका छन्। यस्तै, १७ लाख ६८ हजार ९ सय ३२ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ता छन्। डिजिटल भुक्तानीको प्रयोग बढी भएपछि अहिले शाखारहित (ब्रान्चलेस) बैंकिङ सेन्टरको संख्या भने घटेको छ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले अन्य डिजिटलमा जोड दिएसँगै शाखारहित बैंकिङ सेन्टरको संख्या एकै वर्षमा १ सय ८६ अर्थात् १२.२ प्रतिशतले घटेर १ हजार ३ सय ६७ मा सीमित भएका छन्। विद्युतीय भुक्तानीका अन्य विकल्पहरू बढिरहेकाले यसको संख्या घट्नु स्वाभाविक भएको केन्द्रीय बैंक भुक्तानी विभागले बताएको छ।
पछिल्लो घटनाक्रम हेर्दा कोरोना भाइरसको संक्रमणपछि भएको लकडाउनमा डिजिटल बैंकिङ कारोबारमा आकर्षण बढ्दै गएको हो। बैंक तथा वित्तीय संस्थाले पनि यसलाई जोड दिँदै अब नगदरहित बैंकिङ कारोबारमा केन्द्रित हुँदै आएको देखिन्छ। तर यस्तो प्रयोग शतप्रतिशत ग्राहकमा नपुगेकाले प्रविधिबारे जनचेतना जगाउन अझै जरुरी भएको पनि बैंकरले महसुस गरेका छन्। पछिल्लो समय वित्तीय साक्षरतामा पनि जोड दिँदै आएका छन्।