राजनीतिको अति मूल्यांकन
सत्कर्मीय श्रमकोे सम्मान गरौं, भ्रष्टाचारीको बहिष्कार गरौं। श्रम गरेर खानेलाई अभागी र श्रम नै नगरिकन खानेलाई भाग्यमानी सम्झन छाडौं।
राज्यका हरेक अंगमा कार्यरत अधिकारीले नागरिक सन्तुष्ट हुने र प्रशंसा आउनेगरी कार्यसम्पादन गरेर देखाऔं।
नागरिक तथा देशको सेवा गर्न भन्दै विभिन्न पेसा तथा व्यवसायको संलग्नता छाडेर अथवा अवकाश पाएर सक्रिय राजनीतिमा आउने लहर बढेको छ। रवि लामिछाने, स्वर्णिम वाग्ले, तोसिमा कार्की, रमेश खरेलजस्ता पात्र यस शृंखलाका केही चर्चित नाम हुन्। नेपालका पुराना पार्टीमा समेत यस्तो दृश्य देखिन्थे। नयाँ भनिने पार्टीमा भने यसरी अर्को क्षेत्रबाट आएर राजनीति गर्ने चरित्र नै प्रधान बनेको छ।
विदेशी राजनीतिमा पनि यस्ता उदाहरण बाक्लै भेटिन्छन्। इटालीका सिल्भियो वर्लस्कुनी, फ्रान्सका सर्ज ड्यासल्ट, यूईएईका खालिफा बिन जायद अल नायन व्यापार र उद्यमबाट राजनीतिमा आएर सफल भएका उदाहरण हुन्। राजनीति पूर्व भारतका ११ औं राष्ट्रपति कलाम एरोनेटिक अनुसन्धान, सन् १९९१ का रूसी राष्ट्रपति बोरिस योल्तसिन निर्माण कम्पनी र फ्रान्कलिन डी. रुजभेल्टमा पत्रकारितामा संलग्न थिए।
तर के राजनीतिबाहेक अन्य क्षेत्रबाट चाहिँ सेवा गर्न सकिँदैन ? महावीर पुन, सन्दुक रुइत, भगवान कोइराला, गोविन्द केसीलगायत थुप्रै नामका अगाडि सिंगो समाज नतमस्तक छ। वैज्ञानिक, विज्ञ, प्रविधिका सिद्घहस्त तथा प्राविधिक दक्षताका व्यक्तिको योगदान राजनीतिकर्मीको भन्दा कम पक्कै छैन। देशको सेवा गर्न राजनीति नै गर्नुपर्छ भन्ने अन्धविश्वासले राजनीतिको अति मूल्यांकन भएको आभास सबैलाई छ। यसले अन्य क्षेत्रका मानिसमाथि हेय भावसमेत प्रकट गर्छ। राजनीति इतरका क्षेत्रमा संलग्नहरूले चाहिँ जेसुकै गर्दा पनि हुन्छ भन्ने मनोभाव विकसित गराएको छ। बाँकीलाई कामकाजी नहुन अथवा नागरिक सेवकभन्दा निःसन्देह बन्न उत्प्रेरणा दिएको छ।
राजनीति इतरका पेसा, व्यवसाय, शिक्षा, स्वास्थ्य, पत्रकारिता र अन्य सेवाबाट समेत नागरिकको अधिक सेवा गर्न सकिन्छ। यो कुरा मान्न समाज तयार नहुनु भनेको अर्को अराजकता हो। प्रसिद्घ साहित्यकार स्व. जगदीश घिमिरेको कृति ‘सकस’मा राजनीतिलाई देश सेवाको मूलबाटो र अन्य अनेकन क्षेत्रलाई शाखा बाटो भनिएको छ। यसका विविध अनुपम मार्गचित्र भने हामीले नै कोर्नुपर्छ। विदेशमा अधिकांश पूर्वविशिष्टहरू कार्यकालपछि देशको ढुकुटी दोहनसट्टा आफ्नै अर्थ–सामाजिक जीवनमा फर्कन्छन्। यसरी एकचोटी पदमा पुगेपछि जीवनपर्यन्त राज्यको स्रोतबाट विलासी जीवन निर्वाहको अपेक्षा र अभ्यास नगर्दा पनि देशको सेवा नै हुन्छ। नागरिकले पनि राजनीतिप्रति अपार र असंगत आशक्ति राख्न छाड्नुपर्छ। खाली अरूको कटाक्ष गर्नु सट्टा सकारात्मक र रचनात्मक योगदान दिन सोच्नुपर्छ।
पेसाकर्मी, व्यवसायी, कर्मचारी, शिक्षक, वकिल, सामाजिक अभियन्ता, विकास सहजकर्ता, कूटनीतिज्ञ, पत्रकारलगायत काममा संलग्नहरूले समाजको विकास र नागरिक हितलाई शिरोपर गरौं। कार्यशैली र कार्यक्षेत्रको सुधारमा समय खर्चौं, देशको बर्खिलापमा नरमाऔं। घरमात्र ठूला र सफा हैन, बाटासमेत त्यस्तै बनाउन सहयोग गरौं। राम्रो शिक्षा चाहनेले शिक्षणलाई मर्यादित र सम्मानित हिसाबले हेरौं। सरकारी विद्यालयका शिक्षक र अस्पतालका कर्मचारीले नागरिकले त्यहाँको सेवालाई सम्मान दिनेगरी सुधार गरेर देखाऔं। परिवर्तित समाज चाहनेले पहिले आपूm परिवर्तन होऔं, देशको माया गरौं, सन्ततिलाई त्यही सिकाऔं।
शक्ति हैन, सत्यता रोजौं। अरूमात्र सही अनि कर्तव्यनिष्ट भए÷नभएको खोज्नुसट्टा आपूmसमेत सही र चरित्रवान् बन्न थालौं। देशसेवा यहीबाट सुरु हुन्छ। सरकारी तथा सार्वजनिक पदमा रहेकाले सेवाग्राहीलाई विश्वसनीय, सहज तथा सुलभ सेवाप्रवाह गरौं। निर्माण व्यवसायीले गुणस्तरीय संरचना बनाऔं। राज्यका हरेक अंगमा कार्यरत प्रत्येक अधिकारीले नागरिकबाट अगाध आस्था र प्रशंसा आउनेगरी काविल भई कार्यसम्पादन गरेर देखाऔं। सबैले आफ्ना कामलाई जीविकापालन मात्र नभै देश निर्माणको सुअभिलाषासँग जोडेर हेरौं। सत्कर्मीय श्रमकोे सम्मान गरौं, भ्रष्टाचारीको बहिष्कार गरौं।
श्रम गरेर खानेलाई अभागी र श्रम नै नगरिकन खानेलाई भाग्यमानी सम्झन छाडौं। विविध शोधहरूले पछिल्ला केही दशकदेखि विशेषतः चीन र जापानमा यस्ता अलौकिक अनि अनुकरणीय नागरिक संस्कारको विकास उच्च रहेको देखाउँछन्। प्रसिद्घ शास्त्रीय दार्शनिक कन्फुसियस भन्थे– अरूलाई पढ्ने ज्ञानी हुन्छन् तर आफूलाई पढ््नेहरू चाहिँ अन्तर्यामी हुन्छन्। स्वयंवृद्घि र सुधारले मात्र समृद्घिकोे गन्तव्यमा पुिगन्छ। नागरिकले समेत अरूमात्र सु्ध्रिएको हेर्न चाहनुभन्दा आफ्नै संस्कार तथा आचरण सुधार्दै सचेतना र सत्कर्म अभिवृद्घिमा लागौं। हामी सबैले देशको उच्च सेवा गर्न सक्छौं।
सबैको साझा र प्रमुख आशा बनेको समृद्घि केवल राजनीतिले दिने र नागरिकले निःसर्त लिने अमूक वस्तु होइन। समृद्घिमा सबै नागरिक सरकारका सहयात्री र सारथि बन्नुपर्छ। सरकारलाई स्वनिर्मित अविछिन्न आर्थिक उन्नयनको प्रयासमा उत्पे्ररित गराऔं। विश्वविद्यालयमा प्राध्यापन गर्नेहरू देशको पुनर्निर्माणको खाका पस्कँदै हिँड्नुसट्टा विश्वलाई नेतृत्व दिन सक्ने दीक्षितहरू उत्पादनमा लागौं। आर्थिक उपार्जनमा रोजगारी निर्माणसमेत गर्नेगरी साना लगानीका नै भए पनि व्यावसायिक अभ्यास गर्ने सोचौं। सहयोग र दाताका भरमा नभै आत्मनिर्भरता लक्षित उत्पादन र निर्यातमुखी व्यापारको वातावरण बनाऔं।
प्रशासन सुदृढीकरण गर्दै चुस्त, किफायती अनि नागरिक सेवाप्रवाह उन्मुख बनाऔं। ढिलो अफिस पुग्ने, छिट्टै निस्कने, सेवाग्राहीलाई भरे÷भोलि भन्नेले पनि आपूmलाई राष्ट्रसेवक भन्ने ढोंगीपना त्यागौं। समय यसै खेर फाल्दै नफालौं। देश सुध्रिएको हेर्न चाहने आपूm सुध्रौं। ‘रेन्ट सिकिङ एटिच्युड’बाट ग्रसित हामी कतिपय आपूmलाई फाइदा हुनेलाई मात्र प्राथमिकतामा राख्छौं। जिम्मेवारी बोध र वहनभन्दा छलछाम रुचाउँछौं। यस्तो सौखिन र विलासी औपचारिकता त्यागौं। बाँकी समाजको सेवा स्वतः स्थापित हुन्छ। मनन् गरौं, देश तथा नागरिकको उच्चतम सेवा सबैको आशा हो। राजनीति र सरकारको प्रधान जिम्मेवारीसमेत हो। तर राजनीतिकर्मीसँगै अरू गैरराजनीतिकर्मी सबैमा समेत कठोर आत्मानुशासनको बोध र त्यसअनुसार काम भएमात्र देश अनि नागरिकको सेवा सम्भव हुन्छ।
यी सबै क्षेत्रलाई नागरिक सेवामा इमान्दार बन्न आग्रह गर्नुसट्टा राजनीतिमै हामफाल्न खोज्नु चाहिँ राजनीतिप्रतिको असंगत अति मूल्यांकनमात्र हो। यसैकारण प्रजातन्त्रदेखि गणतन्त्रसम्मका शासन र शासकले अपेक्षित परिणाम दिन सकेनन्। राजनीतिबाट मात्र देशको सेवा हुन्छ भन्ने भ्रम नपालौं। सबैले आआफ्नो ठाउँबाट उत्कृष्ट काम गरेर नागरिकको उच्चतम सेवा गरौं।