नेतालाई मुद्दा चलाउँदा अख्तियारले खुट्टा कमाउनु भएन : दीपकबहादुर सिंह
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धेरैजसो मुद्दा तामेलीमा पञ्छाउने गरेको बताएका छन् । बुधबार संसद बैठकको विशेष समयमा बोल्दै सांसद् सिंहले अख्तियारले ठूला नेताले जे गरेपनि माफी दिने र सानालाई मात्रै मुद्दा चलाउने गरेको आरोप लगाए।
सिंहले भने,‘अख्तियारले राजनीतिक प्रभावबाट डराइकन पद जान्छ कि महाभियोग लाग्छ कि भनेर खुट्टा कमाउनुभएन ।’ सांसद सिंहले ठूला मुद्दा हेर्न अख्तियार डराएको बताए ।
सिंहले अख्तियारका पदाधिकारीहरू आफ्नो जागिर जाने, महाभियोग लाग्ने र पद नै धरापमा पर्ने डरले ठूला नेताहरूलाई मुद्दा चलाउन आनाकानी गर्दै आएको बताए।
उनले भने,' यदि मैले भ्रष्टाचार गरेको छु भने मलाई पनि कारबाही गरियोस्। बालुवाटारकाण्ड,राष्ट्रिय परिचयपत्रमा अनियमितता गरेका घटनालगायत विषयमाथि छानबिन गर्न अख्तियार किन डराएको ?'