मातातीर्थ औंसी

आमा पुज्‍ने महान् पर्व

आमा पुज्‍ने महान् पर्व

वैशाखकृष्ण औंसीका दिन मातृभक्त आ—आफ्ना छोराछोरीहरूले श्रद्धा र सम्झना गर्ने महत्त्वपूर्ण दिन हो।

मातृदेवो भव अर्थात् आमालाई देवता समान मान। यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीसँग गाँसिएको छ। मातातीर्थ औंसीका रूपमा वैशाख कृष्ण अमावश्यका दिनलाई  मनाउने चलन छ। आमाको महत्त्व एवं गरिमालाई  सम्मान गर्दै  नेपालमा मातृ दिवस तथा आमाको मुख हेर्ने दिनका रूपमा विशेष ढंगले  मनाइन्छ। जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको महान् पर्व हो। आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ। आमाप्रति सम्मान गर्दै   गरिमा सम्झने दिन पनि हो। 

यिनै आमा जसले हामीलाई संसार देखाइन्, पाइला चाल्न तातेताते गर्दै सिकाइन्। दस महिनासम्म गर्भमा राखेर जन्माइन्। अनि काखमा राखेर पालिन्। देवीको प्रतिरूप अनि ममता कि खानी अनि बालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहिएको कुरा पूरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वीलोकका सम्पूर्ण आमाहरूलाई कोटीकोटी नमन छ। मूलतः हिन्दू संस्कृतिअनुसार स्त्री जातिमध्ये आमाको स्थान निकै उच्च हुने भएकोले नै हामी आमालाई आदरणीय एवं पूजनीय स्त्री जातिको रूपमा मान्दछौं। आमाकै विशेष स्नेह र लालनपालनमा हामी हुर्किएका हुन्छौं। त्यसैले यस दिनलाई बडो धूमधामसँग आमाको सम्झना र मंगलमय कामना गर्दै मनाइन्छ। आमा हुनेहरू वा नहुनेहरूले पनि यस पर्वलाई परम्परागत रूपमा आफ्नो संस्कृतको एक प्रमुख अंगको रूपमा मनाउने प्रचलन चलिआएको छ।

पौराणिककालमा हाम्रो संस्कृतिमा आमालाई पाँच भागमा विभाजित गरेको पाइन्छ। जुन मित्र पत्नी, राजपत्नी, गरिब पत्नी, पत्नीमाता अर्थात् सासू र आफ्नी आमा हुन्। त्यसकारण यी पाँचवटालाई नै सामूहिक रूपमा पञ्चमाताको संज्ञाले पुकारिन्छ। शास्त्रीय वाचन अनुरूप यी आमाहरूको आ—आफ्नो स्थानमा त्यतिकै महत्त्वपूर्ण रहेको पाइन्छ। तिनीहरूलाई हामीहरूको बढी माया मोहको रूपमा बन्दनीय तथा पूजनीय गर्ने परम्परा अध्यावधिकै नै रहेको छ। संसारको सबैभन्दा पवित्र नाता, आमा संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा अनि पलपलमा सम्झना आउने, सुखदुःखमा झझल्को आउने एउटा अनुहार, आमा हो। हरेक वर्षको वैशाख कृष्णपक्षको औंसीमा आमाको मुख हेर्ने चलन छ, यस घडीलाई मातातीर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ। यसरी आमाप्रति विशेषभक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ।

यसर्थ बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ। आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन्। आमालाई मीठा खानेकुरा खुवाउँछन्। विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू पनि मीठा परिकारहरूसहित आमाघर अर्थात् माइत आइपुग्छन्। विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका विभिन्न साधनहरूमार्फत पनि सम्झने गर्छन्। यसरी मानिसहरूले सामाजिक सञ्जालहरूका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरू व्यक्त गर्छन्।

पौराणिक कालदेखि नै मनाउँदै आएको यो आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ। आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन्। आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्पराअनुसार श्राद्ध तर्पण गर्दछन्। यदि तपाईं पनि आमाबाट पर हुनुहुन्छ भने एकफेर आमालाई फोन गरेर आवाज सुन्ने पो हो कि ? या आमाको याद अनि स्मरण गर्दै साथीभाइसँग आफ्नी आमाको वर्णन र स्नेहको वृत्तान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि ? जे गर्नुहुन्छ, राम्रो काम गर्नुहोस्। जगतको भलो होस् आमाको माया र उहाँले खुवाउनु भएका दूधका धाराहरूप्रति हामी वफादार र इमान्दार हुन जरुरी छ।

यसरी हिन्दू संस्कृति या विश्वका जुनसुकै धर्ममा पनि आमाको महत्त्वपूर्ण स्थान रहेको छ। यसर्थ हाम्रो देशमा भने आफ्नै मौलिक संस्कृतिका धर्महरू तथा चाडपर्वहरूको आफ्नै किसिमको गरिमा भएको कुरा स्पष्ट छ। नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक आदिको आवश्यक ज्ञान चाडपर्वहरूको अध्ययन बिना अपूरो नै हुने हुन्छ। हिन्दू धर्ममा त्रिऋण पितृ, ऋषि र देवऋणहरू चुकाउनु नै मानवमात्रको सर्वप्रथम कर्तव्य मानिएको छ। सो आदर्शको परिचालन उपर्युक्त चाडपर्वमा स्पष्ट रूपले देख्न सकिन्छ। वैवाहिक कार्यद्वारा सन्तान उत्पादन गरी वंश परम्परालाई कायम राख्नुको अतिरिक्त मातृ वा पितृ औंसीका दिन मानिसहरू आफ्ना आमा, पिताप्रति अपार श्रद्धा, भक्ति अर्पित गरेर पनि पितृऋण चुकाउँछन्।

आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो। यसर्थ समष्टि रूपमा अवलोकलन गर्दा उल्लेखित पाँच आमाहरूमध्ये जन्मभूमिप्रतिको कर्तव्य पूरा गर्नुपर्ने पनि हामी सबैको कर्तव्य त छँदैछ। यस कारणले होला उनीहरूलाई श्रद्धा, आदर, हमेशा गर्नुपर्ने हुन्छ। यस दिन आमा हुनेका लागि आमाको मुख हेर्ने र आमा नहुनेका लागि आमाका सम्झनाको श्रद्धा गर्ने दिन हो। तसर्थ वैशाखकृष्ण औंसीका दिन मातृभक्त आ—आफ्ना छोराछोरीहरूले श्रद्धा र सम्झना गर्ने महत्त्वपूर्ण दिन हो। यसैले यस दिन सबै नेपालीहरूले आ–आफ्नो आमा हुने या नहुने सबैले यो पर्व धूमधामका साथ मनाउने गर्छन्। यसैले होला यो जन्म दिने आमा तथा जन्मभूमि स्वर्गभन्दा प्यारो र पवित्र दिन पनि हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.