अन्तरजातीय विवाह गर्नेलाई नगरको अनुदान
चालू आर्थिक वर्षदेखि विवाह गर्ने अन्तरजातीय जोडीले अबदेखि प्रोत्साहन स्वरूप १ लाख रुपैयाँ पाउने उनले बताए।
रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई १ लाख रुपैयाँ दिने भएको छ। प्रोत्साहन स्वरूप चालू आर्थिक वर्ष २०८९/०८० देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई १ लाख रुपैयाँ दिने कार्यक्रम नगरपालिकाले बनाएको छ। जसका लागि नगरपालिकाले चालु आवका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको नगर प्रमुख पुष्प वादीले जानकारी दिए।
चालू आर्थिक वर्षदेखि विवाह गर्ने अन्तरजातीय जोडीले अबदेखि प्रोत्साहन स्वरूप १ लाख रुपैयाँ पाउने उनले बताए। जसअनुसार यस वर्ष अन्तरजातीय विवाह गरेको एक जोडीले प्रोत्साहन रकमका लागि कागजात पेस गरेको छ। वडा नम्बर ३ का सरोज बटाला र वडा नम्बर ७ की कमला परियारको जोडीले १ लाख रुपैयाँ पाउँदै छन्। उक्त जोडीलाई प्रोत्साहन रकम प्रदान गर्ने कार्यपालिकाबाट निर्णय भइसकेको नगर प्रमुख वादीले बताए।
उनका अनुसार आर्थिक समृद्धि र सामाजिक रूपान्तरण अभियानअन्तर्गत यो कार्यक्रम बनाइएको हो। यसबाट सामाजिक सद्भाव कायम हुने र जातीय छुवाछूत तथा विभेदलाई न्यूनीकरण गर्ने उद्देश्य राखिएको हो।
समाज परिवर्तनका लागि योगदान गर्ने जोडीलाई प्रोत्साहन होस् र उनीहरूलाई जीविकोपार्जनका लागि कुनै व्यवसाय सञ्चालन गर्न सहज होस् भनेर आर्थिक प्रोत्साहनको कार्यक्रम बनाइएको उनको भनाइ छ।