वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याउन किसानको आग्रह
वीरगन्ज : पर्साका किसानले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालसँग माग गरेका छन् ।
मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका उद्योगमन्त्री रिजाललाई वीरगन्जमै भेटेर जिल्लाका अगुवा किसानहरुले वीरगन्ज चिनी कारखाना सन्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
कृषक हकहित संघर्ष समिति पर्साका अध्यक्ष शहरुम राउत गद्धी र उखु उत्पादक किसान संघ पर्साका अध्यक्ष असर्फी साहको नेतृत्वमा वीरगन्ज आएका किसानहरुले मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
तीन जिल्लाका किसानको उखु खरिद गर्दै आएका र हजारौंलाई रोजगारी दिंदै आएको चिनी कारखाना २० वर्षदेखि बन्द रहँदा किसान मारमा परेको र जिल्लामा बेरोजगारी बढेकोले उक्त कारखाना सन्चालन गर्न अगुवा किसानहरुले मन्त्री रिजालसँग आग्रह गरेका छन्।
बन्द चिनी कारखाना सञ्चालनमा आए जिल्लाका किसानहरुको खुशीको दिन फेरि फर्किने र हजारौं बेरोजगारले रोजगारी पनि पाउने भएकाले यसका लागि गम्भीरताका साथ पहल गरिदिन उनीहरुले मन्त्री रिजाललाई आग्रह गरे ।
२० वर्षदेखि बन्द रहँदा कारखानाका भौतिक संरचनाहरु जीर्ण हुँदै गएको र त्यहाँ रहेका उपकरण लगायतका अन्य सम्पतिहरु चोरी पनि भइरहेकाले त्यसको संरक्षणका लागि पनि उनीहरुले मन्त्री रिजाललाई आग्रह गरे ।
पर्सा जिल्लाले पहिलोपटक उद्योगमन्त्री पाउँदा जिल्लाका किसानहरु निक्कै उत्साहित भएको भन्दै किसान हकहित संघर्ष समितिका अध्यक्ष गद्धीले भने, ‘अरु समय अरु जिल्लाका उद्योगमन्त्री बन्थे। उनीहरुले खासै चासो देखाएनन् । अब त आफ्नै जिल्लाका सांसद रिजाल उद्योगमन्त्री बन्नु भएको छ। यसले चिनी कारखाना अब चल्छ भन्ने आश किसानहरुमा पलाएको छ ।'
ज्ञापनपत्र बुझ्दै उद्योगमन्त्री रिजालले चिनी कारखाना सन्चालनका लागि आफ्नो तर्फबाट सक्दो पहल हुने प्रतिक्रिया दिए । उनले भने, ‘चुनौती त छ तर म पनि चाहन्छु मेरो आफ्नै जिल्लाको कारखाना जसरी पनि चलाउनुपर्छर। यसका लागि विज्ञहरुसंग छलफल गरेर आवश्यक प्रकृया अगाडि बढाउँछु ।'