सुनकोशी–मरिण डाइभर्सनमा सुरुङभित्र पहिरो, निर्माण कार्य ठप्प

सुनकोशी–मरिण डाइभर्सनमा सुरुङभित्र पहिरो, निर्माण कार्य ठप्प
सुनकोशी-मरिण डाइभर्सनको सुरुङ निर्माण। तस्बिर : राजन गाउँले।
सुन्नुहोस्

कुसुमटार : राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिण डाइभर्सनमा लगातार पहिरो खस्दा तीन सातादेखि सुरुङ खन्ने कार्य रोकिएको छ। सुरुङ खन्ने टनेल बोरिङ (टिबिएम) मेसिनलाई पहिरोले थिचेपछि २१ दिनदेखि डाइभर्सनको निर्माण कार्य रोकिएको हो। 

सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार टनेलको दायाँबायाँ र माथिबाट पाउडर जस्तो ‘फिलाइट’ माटो दुई सय घनामिटरबढी झरेर  टिविएम मेसिन थिचेपछि सुरुङ खन्ने कार्य रोकिएको हो।

सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजना प्रमुख बरालले पहिरोको कारण टिविएम मेसिनले सुरुङ खन्ने कार्य अवरुद्ध भएको जानकारी दिएका हुन्। 

‘१३ दशमलव ३ किलोमिटर लामो सुरुङ खन्ने क्रममा चुरे रेन्ज कटेर महाभारत क्षेत्रमा प्रवेश गर्न २ सय ३३ मिटर बाँकी रहँदा टनेलमा दोस्रो पटक पहिरो खसेर काम रोकिएको हो,’  बरालले भने।

यसअघि २ दशमलव १५६ किलोमिटर सुरुङ खन्दा लेदोसहितको पहिरो खस्दा गत पुस महिनाको २१ देखि ३० गतेसम्म ९ दिन काम रोकिएको थियो।

सुनकोशी–मरिण डाइभर्सनको हालसम्म ४ हजार ६६९ मिटर सुरुङ खनिएको छ। कमलामाई नगरपालिका २ कुसुमटारबाट खन्न सुरु गरिएको सुरुङमार्गमा पहिरो खसेर अवरुद्ध भएपछि गत चैत्र २७ गतेदेखि बाइपास निर्माण थालिएको पनि बरालले बताए।

‘सुरुङ मार्गमा पहिलोपटक पहिरो खस्दा हिलो, लेदो माटो र पानी आएर अवरोध गरेपछि त्यसलाई केमिकल प्रयोग गरेर कडा बनाइ निकास खोजेका थियौं। तर, अहिले पूरै पाउडर जस्तो माटो खन्दै नखनेको क्षेत्रबाट आएपछि बाइपासको विकल्प रहेन,’ उनले थपे।

‘१० मिटर चौडाई र आठ मिटर हाइटको बाइपास बनाएर धुलो पाउडरलाई बाहिर किाल्नको लागि कन्सल्ट्यान्ट, भूगर्भविद, निर्माण व्यवसायिका प्राविधिक र आयोजनाका प्राविधिक सबै लागि परेका छौं। बाइपास निर्माण गर्न अझै आठ दश दिन लाग्न सक्छ,’ बरालले भने।

मेसिनको अगाडि पुरिएको भागलाई काटेर पुनः जडान गर्ने गरी बाइपास निर्माण थालिएको हो। यसका लागि अन्तर्राष्ट्रिय विज्ञसमेत झिकाइएको बताइएको छ।

करिब पाँच किलोमिटर सुरुङ खनिसकिएपछि भने अवरोध कम हुने आँकलन गरिएको छ। बारलले भने, ‘अब दुई ३३ मिटर सुरुङ खन्दा चुरेक्षेत्र कटेर महाभारत रेन्जमा पुगिन्छ। यसपछि भने समस्या कम हुन्छ भन्ने अपेच्छा छ।’

‘भूगर्भभित्र यसै भन्न त सकिँदैन, तर चुरे कटेर महाभारत क्षेत्र प्रवेश भएपछि ठूलो समस्या नआउने आकलन छ। थप समस्या नआए तोकिएको २२ महिना भित्रै सुरुङ निर्माण कार्य सकिने छ,’ बरालले थपे।

डाइभर्सन निर्माणका लागि सुरुङ खन्ने कार्य चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले  ठेक्का पाएको थियो। आयोजनाको भौतिक प्रगति ८० प्रतिशत हुने लक्ष्य राखिएकोमा बढेर १२० प्रतिशत पुगेको पनि आयोजनाको जनायो। 

गत असोज २८ गतेबाट टिविएम मेसिनद्धारा सुरुङ खन्ने कार्य सुरु गरिएको थियो। उक्त मेसिनद्धारा दैनिक २५ मिटर देखि ३८ मिटरसम्म टनेल खन्ने गरिएको थियो। आयोजनाले ५ दशमलव ५ डायमिटरको सुरुङमार्गमा निर्माण गरिएको छ। 

आयोजनाको डायमिटर निर्माणमा यस अघि गुणस्तरीय सेगमेन्ट प्रयोग नभएको भन्दै विरोध समेत भएको थियो। सुनकोशी गाउँपालिका ६ स्थित कानढुंग्रीबाट सुनकोशी नदीमा १६ मिटर उचाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ ६६ मिटर हेटेडबाट पानी कमलामाई नगरपालिका २ कुसुमटारमा झारिनेछ। 

उक्त पानीबाट ३१ दशमलव ०७ मेघावाट विद्युत उत्पादन गरिनुका साथै  तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। सरकारले यसलाई राष्ट्रिय गौरबको आयोजनाका रुपमा लिएको छ। यस आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.