गाउँपालिकाले अनुदानमा पाएको एक्साभेटर आठ महिनासम्म पनि लगेन

गाउँपालिकाले  अनुदानमा पाएको एक्साभेटर आठ महिनासम्म पनि लगेन
जिल्ला समन्वय समितिको आँगनमा आठ महिनादेखि मिल्किएको एक्साभेटर। तस्बिर : शिव उप्रेती
सुन्नुहोस्

गोरखा : सीमावर्ती चुमनुब्री गाउँपालिकाका लागि चीनले अनुदान दिएको एक्साभेटर आठ महिनादेखि गोरखा सदरमुकाममा थन्किएको छ। 

गाउँपालिकाका अध्यक्ष निमा लामालाई हस्तान्तरण गरिएको सो एक्साभेटर गत असोजदेखि जिल्ला समन्वय समितिको आँगनमा राखिएको छ। 
 

चुमनुब्री गाउँपालिकाको जगतसम्म सडक सञ्जाल जोडिएको छ। सडक तथा अन्य पूर्वाधार निर्माणका लागि गाउँपालिकाको तजबिजमा प्रयोग गर्नेगरी चीनले दिएको एक्साभेटर पालिकाले लामो समयदेखि सदरमुकाममै थन्क्याएर राखेको छ। 

नेपाली सेनाको सडक निर्माण निर्देशनालयले चुमनुब्री हुँदै तिब्बत जोड्ने गरी सडक निर्माण गरिरहेको छ। सो एक्साभेटर सदरमुकाममा थन्क्याउनुको साँटो पालिकाभित्र सहायक सडक, नाली, निर्माण तथा विभिन्न काममा प्रयोग गरेर पालिकाको विकास गर्नुपर्ने सामागाउँका मिङ्मा छिरिङ लामाको सुझाव छ। 

गाउँको विकासका लागि आफूहरूको मागलाई सम्बोधन गरी पाएको एक्साभेटर लामो समयदेखि प्रयोग नै नगरी घाम, पानीमा मिल्काएर राख्दा मेसिनमा खिया लाग्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे। 

‘हेलिकोप्टरबाट ढुवानी गरेर सामागाउँमा ओह्राल्ने र त्यहाँबाट तिब्बती सिमानाको रुइलासम्म सडक निर्माण गर्ने हो भने त्यस क्षेत्रको जीवनस्तर नै परिवर्तन हुन्छ’, उनी भन्छन्, ‘त्यसकै लागि हामीले बारम्बार माग गरेपति चीन सरकारले दिएको हो। तर यहाँ सहयोग पाए पनि उपयोग गर्न पाइएन।’

गाउँपालिकाका अध्यक्ष लामाले वैशाख दोस्रो हप्तामा पालिकामा लैजान तयारी भइरहेको बताए। ‘बाटोको समस्या भएर हामीले लैजान नसकेका हौँ। अब चाहिँ छिट्टै लैजाने छौँ’, उनले भने, ‘अहिलेलाई चुमनुब्री गाउँपालिकाको केन्द्र लैजान्छौं।’ 

सो एक्साभेटर पालिकाभित्रका विभिन्न योजनाहरू सम्पन्न गर्नमा प्रयोग गरिने उनले बताए। ‘एक्साभेटर सञ्चालनका लागि पालिकाले एउटा कार्यदल बनाएर सञ्चालन समिति गठन गर्नेछ’, अध्यक्ष लामाले भने, ‘त्यसको कार्यविधि बनाएर सञ्चालनमा ल्याउँछौँ।’

कार्यदल गठनका लागि पालिकाबाट निर्णय भइसकेको पनि उनले जानकारी दिए। पारदर्शी ढंगले सञ्चालन गर्नका लागि पालिकाले नै कार्यदल बनाएर सञ्चालन गरिने उनको भनाइ छ।

चुमनुब्री गाउँपालिका जस्तै चीनसित सीमा जोडिएका विभिन्न १४ जिल्लाका सीमावर्ती पालिकाहरूलाई चीन सरकारले मागका आधारमा एक्साभेटर उपलब्ध गराएको थियो। 

चीनको तिब्बत परराष्ट्र कार्यालयका महानिर्देशक र नेपाली महावाणिज्य दूतावास बीच २०७६ सालमा भएको बैठकमा सिमाना जोडिएको १४ वटा हिमाली जिल्लामा एक/एक पालिकालाई एक्साभेटर दिने निर्णय भएको थियो। 

तर कोरोना महामारीका कारण डोजर हस्तान्तरण हुन सकेको थिएन। कोरोना भाइरस नियन्त्रणमा आएपछि २०७९ असोजमा नेपालका १४ वटा पालिकालाई डोजर प्राप्त भएको हो।

तिब्बत सरकारले गोरखाको चुमनुब्री गाउँपालिकासहित ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका, दोलखाको बिगु गाउँपालिका, सिन्धुपाल्चोकको जुगल गाउँपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका, धादिङको रुविभ्याली गाउँपालिका, मनाङको नार्पाभूमि गाउँपालिकालाई सडक निर्माणको लागि डोजर सहयोग गरेको हो। 

यस्तै, मुस्ताङको लोमान्थाङ गाउँपालिका, बझाङको तालकोट गाउँपालिका, डोल्पाको से फोक्सुण्डो गाउँपालिका, मुगुको मुगुम कार्मारोङ गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिका र दार्चुलाको मार्मा गाउँपालिकामा सडक निर्माणका लागि डोजर प्रदान गरेको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.