सडक निर्माण अलपत्र पारेको भन्दै ध्यानाकर्षण
स्याङ्जा : विरुवा रिङ रोड सडक निर्माण अलपत्र पारेको स्थानीयले ध्यानाकर्षण गराएका छन्। विरुवा गाउँपालिकावासीले भौतिक पूर्वाधार विकास कार्यालय स्याङ्जाको ध्यानाकर्षण गराएका हुन्।
गाउँपालिकावासीको टोलीले सदरमुकामस्थित कार्यालयमा पुगेर शुक्रबार कार्यालय प्रमुख सन्तोष अर्याललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
गाउँपालिकाका युवा नेता एवं समाजसेवी डोलराज पोखरेलको नेतृत्वमा कार्यालयमा पुगी सडक निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु गरेको केही दिनमै काम बन्दगरी विगत ६/७ महिनादेखि वास्ता नगरेको जनाए।
भोर्ले-खाङराङ सडक खण्डमा विगत ६ महिनामा सुरु गरेको काम केही दिनमै रोकिएको र अहिलेसम्म सुरु हुन नसकेको स्थानीय रामबहादुर थापाले बताए।
कामका लागि पटक पटक आग्रह गर्दा आउँछु भनेर ढाँट्ने गरेको उनीहरूको भनाइ छ। कार्यालयले पनि पटक पटक मौखिक एवं लिखित जानकारी गराएको जनाएको छ।
गण्डकी प्रदेश सरकारले यसका लागि १ करोड ९८ लाखको बजेट विनियोजन गरेको थियो। सडक निर्माणका लागि हाम्रो इन्जिनियरिङ कम्पनी वालिङ्ले ठेक्का पाएको हो।